बेलायतको ‘हाउस अफ लर्डस’ मा सम्मानित भइन् मनिषा कोइराला



लन्डन- अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ मा आयोजित एक समारोहमा सम्मानित भएकी छन्।
महिला सशक्तिकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।
सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डसका सदस्य रमी रेन्जर सिबीइले चलचित्र माध्यमबाट महिलाहरुको सशक्तिकरण, महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए ।
सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तिकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तिकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् ।
“यो क्षण म जीवनभर सम्झिरहने छु”, उनले भनिन्, “यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लर्डसमा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तिकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।”
बङ्गलादेश, भारत, पाकिस्तान, नेपाललगायत ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिँरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ ।
दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् ।
शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको कोइरालाले स्मरण गरिन् ।
आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबीइले हाउस अफ लर्डसमा सम्मानित हुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जिकिर गरे ।
दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तिकरणमा उनले पुर्याएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५