बेलायतका चिकित्सकहरु पाँच दिने हडतालमा



लन्डन । बेलायतमा कार्यरत चिकित्सकहरुले तलव वृद्धि माग गर्दै पाँच दिने हडतालको तयारी गरेका छन् ।
उनीहरूले जुलाई २५, शुक्रबार बिहान ७ बजेदेखि बुधबार जुलाई ३०, बिहान ७ बजेसम्म पूर्ण ‘वाकआउट’ गर्ने भएका छन्।
तलबमा केन्द्रित लामो समयदेखि चलिरहेको विवादको बीचमा यस महिनाको सुरुमा २६ हजार बढी आवासीय चिकित्सकहरुले हडतालको पक्षमा मतदान गरेका थिए ।
ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) का सदस्यहरु र सरकारबीचको वार्ता असफल भएपछि शुक्रबारदेखि इङ्गल्याण्डमा सुरु गर्ने तय भएको पाँच दिने हडताल अगाडि बढ्ने युनियनले जनाएको छ ।
सरकार र बीएमएबीचको पाँच दिनको वार्ताले जुनियर डाक्टरहरूको नयाँ नाम, आवासीय डाक्टरहरूको काम गर्ने अवस्था सुधार आदि मुद्दामा सकारात्मक नतिजा ल्याउने आशा जगाएको थियो तर यो सफल भएन ।
बेलायती स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले मंगलबार बिहान बीएमएलाई पत्र लेख्दै हडताल स्थगित भएमा वार्ता जारी राख्ने बताएका थिए ।
तर बीएमएले छलफलका लागि भएको कुरा पर्याप्त नभएको र राम्रो तलब प्राप्त गर्नु नै आफ्नो प्रमुख मुद्दा रहेको बताएको छ ।
स्ट्रिटिङले युनियनले ‘लापरवाही र अनावश्यक रूपमा’ हडताल रोजेको भन्दै प्रतिक्रिया दिए ।
आवासीय डाक्टरहरुलाई यस आर्थिक वर्षका लागि औसत ५.४ प्रतिशत तलब वृद्धि गरिएको थियो, जुन अघिल्ला दुई वर्षको तुलनामा २२ प्रतिशतले वृद्धि भएको थियो ।
तर, बीएमएले २००८ को तुलनामा वास्तविक सर्तहरूमा ज्याला अझै पनि २० प्रतिशत कम रहेको र ‘तलब पुनस्र्थापना’ को माग गरिरहेको बताएको छ । बीएमएले आवासीय डाक्टरहरूलाई २९.२ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरिरहेको छ । सन् २००८ देखि मुद्रास्फीति समायोजन गर्दा वास्तविक सर्तहरूमा तलब घटेको स्तर यही रहेको उसको तर्क छ ।
उनीहरूको विशेषज्ञता र जिम्मेवारीहरूलाई राम्रोसँग प्रतिबिम्बित गर्ने प्रयासमा गत वर्ष ‘जुनियर डाक्टर’ लाई ‘आवासीय डाक्टर’ शब्दले प्रतिस्थापन गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५