एनआरएनएद्वारा विश्वव्यापी कार्यक्रम घोषणा



लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीले आफ्नो सक्रियता बढाएको छ ।
महेश श्रेष्ठ नेतृत्वको संघले अगष्ट २०२५ मा युरोपस्तरीय क्षेत्रीय सम्मेलन गर्ने निर्णय भएको छ । यस सम्मेलनको मिति र स्थान भने चाँडै घोषणा गरिनेछ । त्यसैगरि, सेप्टेम्बर २१, २०२५ मा विधानमा भएका जटिलता हटाउन यूएईमा एक विशेष साधारण सभा पनि गरिने भएको छ ।
संघले अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) का दिन एनआरएन लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।
उक्त सम्मेलन नेपालमा लगानीका अवसरहरु खोज्ने उत्कृष्ट मञ्च हुने संघको विश्वास छ । यो सम्मेलन नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा काठमाडौंमा हुन लागेको हो ।
एनआरएन दिवसकै अवसर पारेर संघले अक्टोबर ११ मा स्वस्थ्य जीवनशैली र एकताको सन्देश दिँदै काठमाडौंमा एनआरएन म्याराथन पनि गर्दैछ ।
एनआरएनए यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिना हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमका लागि गैर आवासीय नेपालीहरुलाई आ–आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्। यी कार्यक्रमको मुख्य उद्देश्य एनआरएनए र नेपालबीचको सम्बन्ध अझ सुदृढ गर्दै लगानी र सामुदायिक भावनालाई बढावा दिनु रहेको उनको भनाइ छ ।
‘यी कार्यक्रमहरुले एनआरएनए र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउनेछन्’, डा. कँडेलले भने ‘हामी सबै मिलेर नेपालको समृद्धिमा योगदान गरौँ ।’
संघले नेपालको विकास र कल्याणलाई सहयोग पुर्याउने पहलमा विश्वभरका गैर आवासीय नेपाली समुदायलाई संलग्न गराउन जोड दिने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५