मंगलबार, २२ जुलाइ, २०२५
16:16 | २१:०१

गल्कोट समाज यूकेको नवौं वार्षिकोत्सव,चर्चित कलाकारको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम हुने

नेपाली लिङ्क जुलाइ २२, २०२५

लन्डन- गल्कोट समाज यूकेले आफ्नो नवौं वार्षिकोत्सव एक विशेष कार्यक्रमसाथ मनाउने भएको छ ।

नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा यही जुलाइ २८ तारिख सोमबार विशेष सांस्कृतिक कार्यक्रमसहित नवौं वार्षिकोत्सव मनाउने तयारी छ ।

समाजका महासचिव कृष्ण खरेलका अनुसार  बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘द कन्फरेन्स सुइट’ मा तय कार्यक्रममा लोकप्रिय गायिका रचना रिमाल प्रमुख आकर्षण छन् ।

त्यस्तै, चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगरका साथै जुना श्रीष, बालचन्द्र बराल र सीता परियारलगायतका कलाकारले पनि सांगीतिक प्रस्तुति गर्नेछन् ।

सो अवसरमा गल्कोट  क्षेत्रको मौलिक संस्कृति झल्कउने नौमती बाजाको पनि विशेष प्रस्तुति हुनेछ । साथमा डिजे डान्स पनि रहनेछ ।

अपरान्ह ४ बजेदेखि बेलुका ११ बजेसम्मका लागि कार्यक्रम निर्धारित छ । कार्यक्रममा डिनरसहित प्रवेश शुल्क २० पाउन्ड छ भने बालबालिकालाई १० पाउन्ड मात्रै लाग्नेछ ।

गल्कोट समाज यूके संस्थागत रूपमा स्थापना भएको आठ वर्ष सफलतापूर्वक पूरा गरी नवौं वर्षमा प्रवेश गर्न लागेको अवसरमा कायक्रम हुन लागेको हो ।

समाजका तर्फबाट अध्यक्ष चन्द्र साहनीले बेलायतस्थित सिंगो नेपाली समुदायलाई यस विशेष उत्सवमा सहभागी भइदिन आव्हान गर्दै आमन्त्रण गरेका छन् ।

स्थापना भएयताका गत आठ वर्षमा गल्कोट समाज यूकेले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, विपद् राहत तथा संस्थागत पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू