आइतबार, २० जुलाइ, २०२५
00:54 | ०५:३९

शिव मन्दिर अल्डरशटले विशेष सांगीतिक प्रस्तुतिसहित च्यारिटी डिनर गर्दै

नेपाली लिङ्क जुलाइ १९, २०२५


अल्डरशट (बेलायत)– शिव मन्दिर अल्डरशटले विशेष सांगीतिक च्यारिटी डिनर कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

प्रिन्सेस हल, अल्डरशटमा आउंदो ६ सेप्टेम्बर साँझ च्यारिटी डिनर हुने भएको हो । 

कार्यक्रमको मुख्य उद्देश्य छिमेकी घर किन्दा लागेको बैंकको लोन घटाउने तथा मन्दिरका दैनिकी गतिविधिहरु चुस्त-दुरुस्त र दीगो रुपमा सञ्चालन गर्न आवश्यक रकम संकलन गर्नु रहेको मन्दिरका अध्यक्ष विक्रम भट्टराईले जानकारी दिए ।

सो अवसरमा ९० को दशकका चर्चित गीतहरु मध्यको “भुलु भुलु लाग्यो मलाई”  का गीतकार तथा संगीतकार विक्रम गुरुङले बेलायतमा पहिलोपटक लाइभ कन्सर्ट गर्दै छन्।

साथै, “तिम्रो हाम्रो मनको दुरी बडे जस्तो छ” का गायक तथा बादलुको घुम्टोले ईलाम बजार छोपिंदा…” का संगीतकार दिनेश सुब्बा र “छेक्यो छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले” तथा “आँखैमा झलझली हितैको दौंतरी” जस्ता सुमधुर गीतका गायक रविन श्रेष्ठ पनि कार्यक्रमको मुख्य आकर्षण हुनेछन्।

साथै निक्कै लामो समय देखि नेपाल, हङकङ हुँदै अहिले बेलायतमा पनि संगीतलाई निरन्तरता र योगदान दिने वरिष्ट कलाकार दिनेस सुब्बाको उपस्थितिले पनि आयोजक तथा उनका प्रशंसकहरु उत्साहित हुने आशा छ ।

त्यस्तै, बेलायतका स्थानीय कलाकार सनिता थेबे, सन्तोष गुरुङ, सुनिता हिराचन, र क्याप्टेन वीर बहादुर थापा लगायतको सांगीतिक समूहले दमदार लाइभ प्रस्तुति दिनेछन्।

नेपालबाट आएकी ख्यातिप्राप्त नृत्य कलाकार आरुषी मगरका नृत्यहरूले भने प्रिन्सेस हललाई रौनकपूर्ण बनाउने अपेक्षा गरिएको छ।


कार्यक्रमको पहिलो भागमा अतिथिहरूलाई स्वागत, केही मन्तव्य र प्रमुख अतिथि स्थानीय मेयर, विशेष अतिथि नेपाली राजदूत तथा स्थानीय सांसद अलेक्स बेकरद्वारा शिव मन्दिर अल्डरशटको पहिलो स्मारिका “शिव दर्शन २०२५” अनावरण पनि गरिनेछ। 

दोस्रो भागमा सांगीतिक प्रस्तुति, स्वादिष्ट साकाहारी भोजन (विभिन्न स्वयंसेवकहरूको प्रायोजनमा) र ‘राफल ड्र’ समेत गरिनेछ।

५५० जनाको क्षमता भएको उक्त हलमा कम्तीमा ५०० दर्शक उपस्थिति हुने अपेक्षा गरिएको छ। शिव मन्दिर अल्डरशटकी महासचिव सुषमा गुरुङका अनुसार, यस कार्यक्रमबाट कम्तीमा ५० हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको छ।

इच्छुक महानुभावहरुलाई बेलैमा आफ्नो र परिवारका लागि सीट सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू