बुधबार, १६ जुलाइ, २०२५
20:53 | ०१:३८

आइसीसीमा पहिलोपटक स्कटल्यान्डलाई प्रतिनिधित्व दिलाउने संकल्पसहित अर्याल मैदानमा

नेपाली लिङ्क जुलाइ १६, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा आइसीसी सदस्य पदमा स्कटल्यान्डबाट छविलाल अर्याल उम्मेदवार बनेका छन् ।

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका पहिलो निर्वाचित अध्यक्ष अर्याल आइसीसीमा पनि स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने पहिलो पदाधिकारीको रेकर्ड बनाउने यात्रामा छन् । आइसीसीमा हालसम्म स्कटल्यान्डबाट प्रतिनिधित्व हुन सकेको छैन ।

गैरआवासीय नेपाली अभियानमा पछिल्लो समय स्कटल्यान्डको सहभागिता व्यापक र सक्रिय बनेको छ । त्यहि सहभागितालाई प्रभावकारी ढंगले प्रतिनिधित्व गर्ने अठोटसहित आइसीसी सदस्यको जिम्मेवारी लिन मैदानमा आएका छन् अर्याल ।

‘पछिल्ला केही वर्षमा एनआरएनए यूकेमा स्कटल्यान्डको उपस्थितिलाई भिजिबल बनाउन हामी सफल भएका छौं । जसले गर्दा हाम्रो एजेन्डा र आवाज पनि सुनुवाइ हुने वातावरण तयार भएको छ’, उनी भन्छन्, ‘हामी चाहन्छौं एनआरएनए केन्द्रमा पनि स्कटल्यान्डको प्रतिनिधित्व होस्। त्यसैलाई प्रभावकारी पार्ने उद्धेश्यसहित मैले उम्मेदवारी दिएको हुं ।

आइसीसी सदस्यको आफ्नो उम्मेदवारीलाई अर्यालले सिंगो स्कटल्यान्डको प्रतिनिधि उम्मेदवारी भनेका छन् ।

‘हामी सबै मिलेर विगत केही वर्षभित्रै स्कटल्याडमा एनआरएनएको जग बसाल्न सफल भयौं । जुन संस्थाको पहिलो निर्वाचित अध्यक्षका रुपमा योगदान गर्न पाएकोमा मलाई गौरव छ’, अर्यालले भने, ‘अब फेरि यहाँका सबै एनआरएनए अभियन्ता, अग्रज र समुदायका साथीहरुले मलाई नै प्रस्ताव र समर्थन गरेर आइसीसीमा प्रेरित गर्नुभएको छ ।’

निर्वाचनको मुखमा आकर्षक प्रतिबद्धताहरु नगर्ने तर प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने दृढता अर्यालसंग छ । स्कटल्यान्डवासी नेपालीकै हौसलाले आइसीसी सदस्यमा उम्मेदवारी दिएका उनी एनआरएनए र सामाजिक क्षेत्रको आफ्नो लामो अनुभवलाई गैरआवासीय आन्दोलनका मुद्धाहरुको पक्षमा सदुपयोग गर्न उत्साहित छन् ।

स्कटल्यान्डस्थित नेपाली समुदायका स्थापित र अगुवा अभियन्ता अर्याल ग्लास्गो नेप्लिज् एशोसिएसनका अध्यक्ष हुन् । उनले यसअघि पनि संस्थामा ४ वर्ष कोषाध्यक्ष र ६ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । एनआरएनए राज्य समन्वय परिषदमा संरक्षक रहेका अर्याल अन्य थुप्रै सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहंदै आएका छन् ।

सन् २०१९ मा एनआरएनए स्कटल्याण्ड राज्य परिषदका पहिलो निर्वाचित अध्यक्ष बनेका अर्यालले दुई वर्षे कार्यकाल उपलब्धिपूर्ण गराउन सफल भएका थिए ।

स्कटल्यान्डमा एनआरएन अभियान बिस्तारदेखि स्थानीय सबै नेपाली संघसंस्थालाई पहिलोपटक एक ठाउँमा ल्याएर सहकार्य गर्ने वातावरण समेत उनले बनाएका थिए ।

नेपालमा भारतीय सीमा अतिक्रमणविरुद्ध स्थानीय भारतीय हाई कमिसनको ढोका घच्घच्याउनेदेखि कोभिड महामारीको संकटमा बेलायतभर समस्यामा परेका नेपालीको सहयोगार्थ प्रभावकारी अभियान अगुवाई गरेर अर्यालले आफ्नो कुशल र संयोजनकारी नेतृत्व क्षमता प्रमाणित गरेका थिए ।

उनकै नेतृत्व र पहलकदमीमा स्कटल्यान्डवासी नेपालीका तर्फबाट नेपालमा अक्सिजन मेसिन एवम् अक्सिजन कन्सन्ट्रेटरलगायतका सहयोग पठाइएको थियो ।

यही जुलाइ २६ मा आसन्न एनआरएनए यूके निर्वाचनमा आफ्नो उम्मेदवारीप्रति साथ, समर्थन दर्शाएर आफूलाई अमुल्य मतसहित आइसीसी सदस्यको जिम्मेवारी प्रदान गरिदिन उनले बेलायतवासी नेपालीहरुसमक्ष आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू