एनआरएनए यूके निर्वाचनः दुई जनाको उम्मेदवारीमा आयो दावीविरोध उजुरी



लन्डन। एनआरएनए यूके निर्वाचनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये मात्र दुई उम्मेदवारको उम्मेदवारीमा दावीविरोध आएको छ ।
निर्वाचन समिति स्रोतबाट नेपालीलिंकले प्राप्त गरेको जानकारीअनुसार दावीविरोधको उजुरी परेका दुवै उम्मेदवार स्कटल्यान्डका छन् ।
स्कटल्यान्ड राज्य परिषदको अध्यक्षमा निर्विरोध उम्मेदवारी परेका शेर केसी र स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी दिएका रामप्रसाद कंडेलको उम्मेदवारीमाथि दावीविरोध उजुरी परेको हो ।
स्कटल्यान्ड अध्यक्ष उम्मेदवार केसीविरुद्धको उजुरीमा उनले यसअघि परिषदका कुनै पनि पदमा रहेर काम नगरेकाले उनी सिधै अध्यक्ष उम्मेदवार बन्न नमिल्ने दावी गरिएको छ ।
त्यस्तै, अर्का उम्मेदवार कंडेलले भने उम्मेदवारी दर्ताको लागि तोकिएको समयसीमा गुज्रिएपछि उम्मेदवारी दिएकाले उनको उम्मेदवारी अवैध हुनुपर्ने माग गरिएको छ ।
दावीविरोध उजुरी परेका दुवै उम्मेदवारलाई इमेलमार्फत् सम्पर्क गरी प्राप्त उजुरीबारे स्पष्टिकरण पेश गर्न आग्रह गरिएको निर्वाचन समितिका सदस्यसचिव श्याम लुईंटेलले जानकारी दिए।
सम्बन्धित उम्मेदवारहरुबाट स्पष्टिकरण प्राप्त भइसकेपछि निर्वाचन समितिले आवश्यक छानबिन गरेर उनीहरुको उम्मेदवारीबारे अन्तिम निर्णय लिने उनले बताए।
जुलाई २६ मा तय एनआरएनए निर्वाचनको लागि सोमबार उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशन भएको थियो । उम्मेदवारहरुको अन्तिम नामावली बुधाबर साँझ ५ बजे प्रकाशन गरिनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५