मंगलबार, १५ जुलाइ, २०२५
13:55 | १८:४०

हिमालय जेट टीमलाई तमुधिं यूकेमा स्वागत, नेपाली मेला र गोर्खाकपमा सहयोग प्रतिवद्धता

नेपाली लिङ्क जुलाइ १५, २०२५

लन्डन। युरोप-नेपाल हवाई उडान सञ्चालनको योजनामा रहेको हिमालय जेटका अध्यक्ष दिपेन्द्र गुरुङसहितको टीमलाई तमुधिं यूकेमा स्वागत गरिएको छ।

आइतबार तमुधिं यूके भवन मिचेटमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न एक विशेष कार्यक्रमबीच हिमालय जेटका पदाधिकारीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा हिमालय जेट अध्यक्ष गुरुङको टीमलाई पाइपरको धुनसहित स्वागत गरिएको थियो । उनीहरुलाई संस्थाका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले खादा र पुष्पगुच्छाले सम्मान गरेका थिए ।

सो अवसरमा हिमालय जेट अध्यक्ष गुरुङले तमुधिं यूकेले आयोजना गर्ने नेपाली मेला र गोर्खाकपका लागि हिमालय जेटका तर्फबाट सहयोगको प्रतिवद्धता गरे । उनले आफ्नो टीमलाई प्रदान गरिएको स्वागत र सम्मानका लागि तमुधिं यूकेलाई धन्यवाद दिए । साथै, हिमालय जेट चांडै नै युरोप-नेपाल हवाई उडान सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला र गोर्खाकपका लागि प्राप्त सहयोग प्रतिवद्धताका लागि संस्थाका तर्फबाट हिमालय जेटप्रति आभार प्रकट गरे । उनले हिमालय जेटको युरोप-नेपाल हवाई उडान योजनालाई सफलताको शुभकामना पनि दिए ।

महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष कमल गुरुङले पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत संस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू