बेलायतका तामाङहरू अन्ततः एकताको मालामा गाँसिए



लण्डन- बेलायतका तामाङहरू अन्ततः एकताको मालामा गाँसिएका छन् । जुलाई १५ तारिख आइतबार बेलायतको अल्डरसटमा तामाङ समुदायका लागि ऐतिहासिक सहमति भएको हो ।
यहाँ सक्रिय पाँच संस्था ल्हा म्हेन्दो समाज लण्डन, तमाङ समाज यूके, म्हेन्दो माया समाज यूके, तमाङ घेदुङ रिडिङ, र तमाङ ह्युल्बा केन्ट एकै मञ्चमा उभिएर तमाङ जातिको भाषा, संस्कृति र सभ्यता संरक्षण गर्ने दृढ संकल्प गरेका छन्।
उनीहरूले विगतका उपलब्धिहरुलाई जोड्दै सानातिना कमीकमजोरी र असमझदारीहरुलाई पछाडि छोडेर भावी पुस्ताका लागि एकताको उदाहरण प्रस्तुत गरेका छन्। यो कदमले तामाङ समुदायलाई बेलायतमा मात्र होइन, सम्पूर्ण प्रवासमा एकतावद्ध भएर अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
एकताको ऐतिहासिक घोषणासँगै तामाङ समुदायलाई संस्थागत रूपमा अघि बढाउन हरिसिंह वाइबाको नेतृत्वमा २५ सदस्यीय ‘तमाङ घेदुङ यूके’ तदर्थ समिति गठन गरिएको छ।
गठित समितिमा उपाध्यक्षहरु क्रमश उदय कुमार घिसिङ, कुमार स्याङदान, आइतसिंह मम्बा, अनिश वाइबा र गोपाल तामाङ छन् भने महासचिवमा बाम ब्लेन्थेन, सचिवमा विशाल स्याङबो, सहसचिवहरुमा धनकुमार तामाङ, जय लोप्चन र करिना तामाङ चुनिए । कोषाध्यक्षमा दावा स्याङबो र सह कोषाध्यक्षहरुमा मानु लामा, बिपना तामाङ र लाखमान पाख्रिन छन् ।
त्यस्तैगरी केन्द्रिय सदस्यहरुमा सुवास लामा, गोल तामाङ, मनु तामाङ, शेर पाख्रिन, रेशम स्याङबो, सुसा पन्नाचन तामाङ, शान्तीय सेन्देन, जयमान तामाङ र रोज लामालाई चयन गरिएको छ ।
त्यस्तै गरि हिजै सम्पन्न भेलाले प्रेम लामा घिसिङको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा बुद्दि लामा, लक्ष्मी घिसिङ, पूर्ण पाख्रिन, फौदसिंह लामा, जयमान तामाङ र राजन योन्जन सदस्य रहेका छन् भने सल्लाहकारहरुमा लक्ष्मी घिसिङ, धन पाख्रिन, तुल लोप्चन, प्रेमलाल घिसिङ, फौद सिंह लामा, विशाल मोक्तान, राजन योञ्जन, कविराज घिसिङ, सूर्य लोप्चन, बुद्दि घिसिङ र हर्क योञ्जनलाई चयन गरिएको छ ।
यो समितिले आगामी दिनहरूमा तामाङ समुदायको हकहित, भाषा-संस्कृति संरक्षण र एकता प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ। तदर्थ समितिको गठनले संस्थागत एकतालाई अझ मजबुत बनाउने र तामाङ पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने लक्ष्य राखेको छ।
उक्त एकता घोषणात्मक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
उनको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ ऐतिहासिक बनाएको थियो। मुख्यमन्त्री लामाले आफ्ना विचारहरू राख्दै प्रवासमा रहेका तामाङहरूबीच देखिएको यो एकता प्रयासको खुलेर प्रशंसा गर्दै यसको दीर्घकालीन महत्त्वबारे प्रकाश पारे।
मुख्यमन्त्री लामाले आफ्नो मन्तव्यका क्रममा प्रवासमा समाजको काम गर्नु निकै चुनौतीपूर्ण भएको उल्लेख गरे। उनले भने, ‘पाँच वटा संस्थालाई एउटै मञ्चमा ल्याउनु सामान्य कुरा होइन। यसमा संलग्न अभियन्ताहरूमा ‘केही गर्छु’ भन्ने साहस, धैर्यता र निरन्तरता हुनु अनिवार्य हुन्छ। मैले त्यो यहाँ देखे र आफुलाई पनि गर्व महसुस भएको छ ।’
उनले प्रवासमा देखिएको यस्तो एकताले मातृभूमिका समाजहरूलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे। साथै, बेलायतको भावी पुस्ताले एउटा संगठित, सुसंस्कृत र दृढ पहिचान भएको तामाङ समाज प्राप्त गर्ने दृढ विश्वाससमेत प्रकट गरे ।
२७ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका गोर्खा भेट्रान लक्ष्मी घिसिङले विगत १०/१२ वर्षदेखि सबै संघसंस्था एक भएको हेर्न चाहेको र एकताको मर्म र भावनालाई आफूले सधै मन र दिमागमा राखी आबस्यक सल्लाह सुझाव दिंदै आएपनि तामाङहरु यसरी एक भएको देख्न नपाउँदा आज अल्डरसटमा यो दिनको प्रत्यक्षदर्शी बन्न पाएर गर्वले छाती फुलेको बताए ।
उक्त ऐतिहासिक एकता कार्यक्रमको सञ्चालन तामाङ घेदुङ यूके, केन्द्रीय तदर्थ समितिका सचिव विशाल स्याङ्बोले गरेका थिए । कार्यक्रमको सम्पूर्ण प्रक्रिया उनको संयोजकत्वमा सुचारु रूपमा अघि बढेको थियो।
दुई सत्रमा सम्पन्न कार्यक्रममा उदयकुमार घिसिङ र फौद सिंह लामाले स्वागत मन्तब्य दिए ।
त्यसैगरी, कार्यक्रम तामाङ घेदुङ यूके तदर्थ समितिका अध्यक्ष हरिसिंह वाइबाको अध्यक्षतामा भएको थियो। उनको नेतृत्वमा भएको यो कार्यक्रमले नयाँ अध्यायको थालनी मात्र नभइ तामाङ समाजमा एकताको बलियो सन्देश पनि सम्प्रेषण गरेको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५