शुक्रबार, असार १३, २०८२
21:05 | ०१:५०

बेलायतका पत्रकारलाई एआई विषयक प्रशिक्षण

नेपाली लिङ्क जुन २६, २०२५

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा  ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता: अवधारणादेखि व्यवहारिक प्रयोगसम्म’ विषयमा एकदिने भर्चुअल प्रशिक्षण सम्पन्न भएको छ।

पत्रकारिता क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग र यसको प्रभावबारे सचेतना वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले प्रशिक्षण दिएका थिए।

सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट आउन सक्ने सम्भावित लाभ र चुनौतीहरूबारे विस्तृत रूपमा चर्चा गरे। उनले भने, ‘सामाजिक सञ्जालले ल्याएको परिवर्तन जस्तै, कृत्रिम बुद्धिमत्ताले पनि सञ्चारको संरचना, शैली र प्रस्तुतिमा गहिरो रूपान्तरण गरिरहेको छ।’

समाचार निर्माण प्रक्रियामा यस्ता प्रविधिको प्रयोगले सहजता ल्याउने भए पनि अन्तिम सम्पादन र सम्प्रेषणको जिम्मेवारी पत्रकारकै हुने स्पष्ट पार्दै, उनले नैतिकता, सत्यता र मानवीय मूल्यहरू कायम राख्न पत्रकारको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे।

तालिमको प्रशिक्षण सत्रपछि प्रश्न–उत्तर सत्र समेत सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूले आ–आफ्ना जिज्ञासा तथा अनुभव आदान–प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन् भने सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए। उक्त प्रशिक्षण कार्यक्रम ज्ञानवर्धक, समसामयिक र व्यवहारिक रूपमा अत्यन्त उपयोगी रहेको सहभागीको धारणा थियो। कार्यक्रममा बेलायत तथा नेपालबाट समेत सहभागी थिए ।

नेपाल पत्रकार महासंघ यूके शाखाले भावी दिनहरूमा पनि विभिन्न प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू