शनिबार, कार्तिक १०, २०८१
15:54 | २०:३९

साइबर सुरक्षा सम्बन्धी बढ्दो चुनौती र जोगिने उपायबारे काठमाडौँमा छलफल

नेपाली लिङ्क मे ३१, २०२४

काठमाडौँ – साइबर सुरक्षा सम्बन्धी बढ्दो चुनौती तथा तिनबाट जोगिने उपायहरुबारे छलफल गर्दै ‘साइबर कनेक्ट २०२४’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल बैंकर्स एसोसियशन तथा सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनद्वारा बिहीबार काठमाडौँमा आयोजित उक्त कार्यक्रमलाई अमेजन वेब सर्भिसेज (एडब्लुएस) ले सघाएको थियो।

जेनेस सलुशन काठमाडौँका निर्देशक श्री प्रसाद भण्डारीले सबै सहभागीलाई स्वागत गरे भने आइएसओ कमिटीका संयोजक प्रवेश पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

साइबर सुरक्षा विशेषज्ञ निरन्जन कुँवरले साइबर सुरक्षाका लागि क्वान्टम कम्प्युटिङको प्रयोगबारे रोचक जानकारी दिएका थिए।

उनले साइबर सुरक्षामाथि उत्पन्न नयाँ खतराहरु र तिनसंग जुध्न विकास गरिदै गरेका प्रविधिहरुबारे पनि जानकारी गराएका थिए।

त्यसपछि अमेरिकी कम्पनी नोबीफोर, एपीजेको उपभोक्ता सफलता विभागकी उपाध्यक्ष क्यारोलिन सूले हाम्रा विचार र कामहरुलाई कसरी ‘ह्याक र हाइज्याक’ गर्न सकिन्छ भन्ने विषयमा रोचक प्रस्तुति दिइन्। 

उनले साइबर सुरक्षाका मनोवैज्ञानिक आयामहरुबारे चर्चा गर्दै आधुनिक जोखिमहरु बढ्दै गएको सन्दर्भमा थप चनाखो र सजग रहनुपर्ने बताइन्।


अमेरिकी बहुराष्ट्रिय कम्पनी पलो अल्टो नेटवर्क्सको उत्तर भारत तथा नेपालका लागि कमर्सियल सेल्स विभागका प्रमुख अभिनव सक्सेनाले वित्तीय सेवा कम्पनीहरुको साइबर सुरक्षा सम्बन्धमा प्रस्तुति दिए। उनले वित्तीय सेवामा ‘डिजिटलाइजेशन’ बढ्दै जाँदा महत्वपूर्ण पूर्वाधारको सुरक्षा कसरी गर्ने भन्नेबारे जानकारी दिए। 

“साइबर जोखिम व्यवस्थापन” सम्बन्धी छलफलमा भाग लिंदै नेपाल बैंक लिमिटेडका निर्देशक विवेक राणाले भने, “भविष्यमा आउन सक्ने साइबर जोखिमको खतरा अरु बढ्दै गएकाले मशिनमा मात्रै हैन जनशक्तिमा थप लगानी बढाउनु पर्ने आवश्यकता छ।” 

त्यस्तै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी नीलेश मान प्रधानले आफ्नो कम्पनीले बैंकहरुलाई सम्भाव्य ‘फ्रड’ बाट जोगिने लगायतका सेवाहरु उपलब्ध गराइरहेको बताए। 

छलफलमा सहभागी पलो अल्टो नेटवर्क्सका अभिनव सक्सेना तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका मुख्य प्रविधि तथा संचालन अधिकृत सुजीत श्रेष्ठले साइबर सुरक्षाको क्षेत्रमा देखिएका नयाँ खतराहरु, नियामक ढांचा र डिजिटल सम्पत्तिको सुरक्षामा साइबर सुरक्षा प्रविधिको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए।

उक्त छलफलको सहजीकरण हेमपाल श्रेष्ठले गरेका थिए।

आफ्नो मन्तव्यमा जेनेस सलुशनका प्रमुख कार्यकारी अञ्जनी फुयाँलले सन् २०१६ मा एउटा बंगलादेशी बैंक र सन् २०१८ मा एउटा भारतीय बैंकमा साइबर हमला गरिएको उदाहरण दिंदै बैंक तथा वित्तीय संस्थाहरुका लागि साइबर सुरक्षा अत्यन्तै महत्वपूर्ण भएको बताए।

उनले नेपालमा साइबर सुरक्षाको क्षेत्रमा गरिएका प्रयासहरुको प्रशंसा गर्दै जतिसक्दो चाडो बलियो कानूनी प्रावधान ल्याउनु पर्ने बताए। नेपाल बैंकर्स एसोसियशनका वरिष्ठ अनुसन्धान अधिकृत कपिल गौतमले सबैलाई धन्यवाद दिए।

‘साइबर कनेक्ट २०२४’ ले विशेषज्ञहरु, बैंक तथा वित्तीय व्यवसायी एवं साइबर सुरक्षाबारे चासो राख्ने सबैलाई ज्ञान आदानप्रदान गर्न, यस क्षेत्रमा भइरहेका पछिल्ला प्रगतिबारे जानकारी लिन र साइबर सुरक्षा सम्बन्धी चुनौतीसंग जुध्न साझेदारी विकास गर्न महत्वपूर्ण मंच प्रदान गरेको आयोजकले जनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू