सहकारी ठगी छानबिन गर्न संसदीय विशेष समिति गठन
काठमाडौं- लामो कसरतपछि सत्तारुढ र प्रमुख विपक्षी दलबीच सहमति बनेपछि अन्ततः सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समित गठन भएको छ ।
सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको हो ।
समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २-२, माओवादी, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहनेछन् । जसअनुसार कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य छन् । समितिको संयोजक एमाले सांसद थापा छन् ।
यसअघि शीर्ष नेताहरुमा भएको सहमति अनुसार छानबिन समितिको कार्यादेश मंगलबार बसेको कार्यदलको बैठकले टुंग्याएको थियो ।
समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ ।
प्रमुख विपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समितिको माग राखेर संसद अवरुद्ध गर्दै आएको थियो।