आइतबार, वैशाख २३, २०८१
20:17 | ०१:०२

बेलायतमा संस्कृति संरक्षणमा नेवार समुदायको सक्रियताबारे अन्तरसंवाद

नेपाली लिङ्क अप्रिल २४, २०२४

लन्डन । पासा पुचः गुथि यूके लन्डनले गत २० अप्रिल शनिबार नेवा समुदायकेन्द्रित एक महत्वपूर्ण अन्तरसंवाद गरेको छ ।

नेपालका संरक्षणविदहरुको प्रत्यक्ष सहभागितामा अक्सफोर्ड विश्वविद्यालयस्थित पाउलिङ मानव विज्ञान केन्द्रमा ‘नेवा सक्रियताः नेपाल र त्यसभन्दा बाहिरको दृष्टिकोण’ विषयक अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

३० जना बढी सहभागी उक्त कार्यक्रममा नेपालका चार अतिथि वक्ता र बेलायतका एकजना वक्ताले आ-आफ्नो धारणा राखे ।

पासा पुचः गुथि यूके लन्डनकी महासचिव लिसा दली श्रेष्ठले स्वागत मन्तव्य दिएपछि कार्यक्रम प्रारम्भ भएको थियो । संस्थाका बोर्ड अफ ट्रष्टीज् अध्यक्ष सुशील प्रजापतिले स्वागत मन्तव्य दिंदै कार्यक्रमको उद्देश्य प्रकाश पारे ।

कार्यक्रमको शुरुमा चर्या नृत्य विशेषज्ञ एवं नेवा अभियन्ता सुदन मुनिकरले मनमोहक मञ्जुश्री नृत्य प्रस्तुत गरे ।

कार्यक्रमका मध्यस्तकर्ता डा. सचेतन तुलाधरले वक्ताहरूको परिचय दिँदै कार्यक्रम सञ्चालन गरेका थिए । उनले वक्ता र श्रोताहरूबीचको छलफल समन्वय पनि गरे ।

पासा पुचः गुथि यूके संरक्षक ओजेश सिंहले सामुदायिक एकतामाथि प्रकाश पार्दै गुथिले यूकेमा नेवा संस्कृतिको संरक्षण र प्रवर्धन गर्न विगत २४ वर्षमा चालिरहेका प्रयासहरुबारे महत्वपूर्ण धारणा राखेका थिए ।

त्यसपछि किपाग्राफी भक्तपुरका हेरिटेज फोटोग्राफर अच्युत प्रजापति र पद्मसुन्दर शाक्यले नेपालमा सन् २०१५ को विनाशकारी भूकम्पबाट प्रेरित फोटोग्राफीबारे आफ्नो अनुभव सुनाए । फोटोग्राफीको माध्यमबाट सांस्कृतिक सम्पदा जोगाउन उनीहरुको समर्पण भावी पुस्ताका लागि मार्गदर्शन देखिन्थ्यो ।

आफ्नो सम्बोधनका क्रममा सुदन मुनिकरले चर्या नृत्य र नेवा संस्कृति संरक्षण एवं वकालतबारे आफ्नो यात्रा प्रकाश पारे ।

विशेष अतिथिका रूपमा उपस्थित नेवा संस्कृति तथा सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठले ‘विगतका विरासतलाई वर्तमानले भविष्यका लागि सुरक्षित गर्नुपर्छ’ भन्ने सारगर्भित मन्तव्य दिएका थिए ।

श्रेष्ठले सांस्कृतिक सम्पदा स्थलहरूको निजीकरण रोक्न र ऐतिहासिक स्थलहरूको अतिक्रमणविरुद्ध लड्ने जस्ता आफ्ना प्रयासबारे पनि उल्लेख गरे ।

उनले सन् २०१५ को भूकम्पपछि विपद्का बीचमा पनि रानीपोखरी, टुँडिखेल, कमलपोखरी, श्लेष्मान्तक वन, पशुपतिनाथ विश्व सम्पदा क्षेत्र, बौद्धनाथ स्तुपा जस्ता सांस्कृतिक सम्पदाको संरक्षणका लागि भएका प्रयास स्मरण गरे ।

स्मरण रहोस्, गुठी विधेयकको विरोधमा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्दै जित हासिल गरेका थिए । नेपालमा सांस्कृतिक सम्पदा र युनेस्को साइटहरू सुरक्षित गर्नका लागि उनको निरन्तर पहल विश्वभरका संरक्षणवादीहरूका लागि प्रेरणादायी छ ।

कार्यक्रममा पासा पुचः गुथि यूकेका संरक्षक एवं नेवा समुदाय र नेपाललाई गहिराइमा बुझेका प्राज्ञ डा. डेभिड गेलनारले नेपाल र बेलायतमा आफ्नो संस्कृतिको पुनरुत्पादन र पुनः निर्माणमा नेवा समुदायले कति योगदान गरेका छन् भन्ने प्रकाश पार्दै सो कार्यको प्रशंसा गरे। उनले काठमाडौं उपत्यकामा बढ्दो प्रदूषणप्रति भने चिन्ता व्यक्त गरेका थिए ।
अन्त्यमा आयोजक संस्थाकी अध्यक्ष रुक्मणी मानन्धरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू