सोमबार, वैशाख २४, २०८१
04:03 | ०८:४८

नेपाल र कतारबीच विभिन्न आठ सम्झौता तथा समझदारी

रासस अप्रिल २४, २०२४


काठमाडौँ, १२ वैशाख- नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज बुधबार ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

नेपाल–कतारबीचका सम्झौताहरू:

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र 

२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

३. नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)

४. नेपाल सरकार र कतार राज्यको सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र 

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारी पत्र

 ६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आइएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको समझदारी पत्रको नवीकरण

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू