बिहीबार, वैशाख २०, २०८१
09:11 | १३:५६

नामिबियामाथि रोमाञ्चक जीतपछि नेपालको फाइनल सम्भावना जीवितै

नेपाली लिङ्क मार्च १, २०२४

काठमाडौं- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ। 

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले शुक्रबारको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो। 

टीयू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। 

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो। करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाएका हुन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए। अभिनास बोहराले एक विकेट लिए।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग मिलेर पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रन बनाएर आउट भएका हुन् ।

यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन्।

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत शुरुका दुवै खेल गुमाएको नेपाल तेस्रो खेलमा विजयी भएपछि जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जीवित बनेको छ।  

चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो। नामिबियाले भने नेपालसँगको पहिलो खेल मात्रै जितेको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू