शनिबार, वैशाख १५, २०८१
10:02 | १४:४७

बेलायतकी सफल उद्यमी: सरस्वतीलाई लक्ष्मीको बास (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४


लन्डन- २१ वर्ष अगाडि सन् २००३ अगष्टमा लन्डन उत्रंदा सरस्वती केसीसंग केही थिएन। त्यो बेला ३१ वर्षकी उनीसंग जोस जांगर र धेरै सपना थिए। तर दिनहरु संघर्षपूर्ण थियो किनकि यो बिरानो देश र नौलो परिवेश।

नजिकका कोही थिएनन्, अर्काको देशको भाषा। आउने बित्तिकै बांच्नका लागि उनले एउटा इण्डियन रेष्टुरेन्टमा भांडा माझ्ने काम शुरु गरिन्। तर काम नजानेर साहुले महिना दिन नबित्दै निकालिदियो ।

नेपालमा करिब १० वर्ष डिसीआरडिसी नामक एनजिओमा काम गरेकी सरस्वतीलाई भांडा माझ्ने काम पहिला कहिल्यै गर्नु परेको थिएन।एनजिओमा काम गर्दा बंगलादेश, डेनमार्क, जर्मनी घुमिसकेकी थिइन् उनी।

‘नौलो ठाउँ, आफ्नो केही छैन। न त यहाँ बिक्ने कुनै सीप, दक्षता नै आफूसँग छ। जेनतेन पाएको रेष्टुरेन्टको भाँडा माझ्ने काम पनि गुमेपछि म निकै दु:खी भएँ। पार्कमा बसेर एक्लै रोएको पल कहिल्यै बिर्सिन्न’, नेपालीलिंकसँगको भेटमा विगतलाई सम्झिएर भावुक बनिन् सरस्वती।  

त्यसपछि उनले २००३ सेप्टेम्बरमा भेन्यू ५ रेष्टुरेन्टमा काम पाइन् वेट्रेसका रुपमा। त्यो काम पनि नौलो थियो तर त्यहांका हेड सेफ कृष्ण तिमिल्सेनाको पूर्ण साथ र उत्प्रेरणाले सरस्वतीले काम सिक्दै गइन्।

त्यसताका बेलुका रेष्टुरेन्टमा काम, दिउंसो ‘चाइल्ड माइन्डर’ (बच्चा हेर्ने काम) पनि गर्न थालिन् । श्रीमान र छोरा नेपालमा भएकाले परिवारको सेटलमेन्ट भिजा लगाउनुपर्ने मुख्य दायित्व उनमा थियो। आवेदन शुल्क, पर्याप्त कागजात जुटाउन सहज थिएन। अन्ततः सबै प्रक्रिया पुरा गरेर ४ वर्षपछि श्रीमान् मिलन केसीलाई लन्डन झिकाइन्।

बाग्लुङ स्थायी घर भएका श्रीमान मिलन बाग्लुङ बजारस्थित महेन्द्र बहुमुखी क्याम्पसमा गणित पढाउंथे । आदर्श बोर्डिङ स्कुल पनि सञ्चालन गरिरहंदा उनलाई नेपाल चटक्क छोड्न मन थिएन । तर, जीवनसंगिनी बेलायतमै रहेकाले उनी पनि बेलायत आए।

सरस्वतीले केही वर्षपछि सन् २०११ मा नेपाल रहेका एक्लो छोरा मनोजलाई पनि बेलायत बोलाइन्।    

उनले भेन्यू ५ रेष्टुरेन्टमा सन् २०१५ सम्म काम गरिन् । १२ वर्षमा खोलो फर्कन्छ भन्छन्, १२ वर्ष भेन्यू ५ मा काम गरेपछि उनले पनि जीवनमा नयां फड्को मारिन् । लामो कामको अनुभव, धेरथोर कमाइ वचत गरेपछि सरस्वतीले लन्डन नर्थ हयारोमा सरस रेष्टुरेन्ट खोलिन् । सरस भनेको संस्कृतमा राम्रो र त्यो आफ्नो नामको छोटो रुप पनि थियो ।

‘जनशक्ति, लगानी जुटाउन सहज थिएन तर अनुभवले खारिएपछि सिमित बजेट जोहो गरेर रेष्टुरेन्ट खोलें’, उनले सफलता सुनाइन्, ‘रेष्टुरेन्ट व्यापार भएपनि यो सोसल सर्भिससंग सिधा कनेक्ट भएकाले पनि यही पेशातिर प्रेरित भएं ।’

सरस रेष्टुरेन्टमा नेपाली स्टाइलको ममः, छोयला र इण्डियनमा तन्दुरी, करी आइटम र इन्डो चाइनिज खाना बढी चल्छन्। रेष्टुरेन्टमा ७० जना जतिको हरेक खालका पार्टी गर्न सकिन्छ । ५० जना अट्ने छुट्टै एरिया पनि उपलब्ध छ। होम डेलिभरी सेवा पनि उपलब्ध छ।

व्यवसायमा चुनौति अवश्य छ। कोभिड महामारीलगत्तै बिस्तारै बेलायत तंग्रिएका बेला रुस युक्रेन युद्ध शुरु भएर विश्वभर नै महंगी चुलियो जसबाट बेलायत समेत अछुतो रहेन। भर्खर यहां रिसेसन शुरु भएर मानिसहरु खर्च गर्न हच्किरहेको अवस्था छ।

सरस रेष्टुरेन्टमा नेपाली, इन्डियन् र इन्डो चाइनिज् खानाका परिकार उपलब्ध छन्।

‘क्याटरिङ व्यवसायमा लगानी र जोखिम धेरै छ तर आर्थिक मन्दी, तीव्र प्रतिष्पर्धा, कडा नियम कानून पालना जस्ता चुनौति हामीले सामना गर्नुपर्छ’, उनले सुनाइन्।

तर, उनको ‘फेमिली रन विजनेश’ आजका दिनसम्म सन्तोषजनक छ। ‘मेरो आफ्नै भाइ टंक केसी हेड सेफ छन्। टंकसंग राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका रेष्टुरेन्टमा सेफ भएर काम गरेको अनुभव भएकाले पनि उनको खानामा ग्राहक लोभिन्छन्’, सरस्वतीले व्यवसाय सफल हुनुको रहस्य खोलिन्, ‘परिवारको साथ सहयोग, ग्राहकहरुको सद्भाव र मायाले नै रेष्टुरेन्ट चलिरहेको छ।’

बेलायतमा प्रशस्त अवसर देख्छिन् उनी। मिनेट-मिनेटको महत्व छ। काम ठूलो सानो भन्ने छैन्। मानिसहरु दिनरात आफ्नो व्यवसाय र जागिरमा व्यस्त छन्। आम बेलायतीजस्तै सरस्वती पनि मेसिनझैं चलायमान हुन्छिन् यहां।

रेष्टुरेन्ट सरसफाइ, कस्टमर सर्भिस, खाना बाकेर होम डेलिभरीदेखि सप्लायरबाट सामग्री अर्डर लिनेसम्मको जिम्मेवारी उनकै कांधमा छ । परिवारको साथ नभएको होइन, तर सबै काम उनी आफैंले गर्छिन्।

श्रीमान मिलन केसीका साथ सरस्वती

सरस्वती व्यवसायमा जति सफल बन्दैछिन्, सामाजिक कार्यमा उनको संलग्नता पनि त्यत्तिकै छ।

सोखले नै सामाजिक संस्थामा आवद्ध भएको उनले बताइन्। नेपालमै छंदा सामाजिक संस्थामा काम गरेकाले विदेश आएर पनि नेपाल र नेपालीकै हितका लागि काम गर्ने हुटहुटीले यसमा निरन्तरता दिएको उनी बताउंछिन् ।

‘आफ्नै व्यवसाय भएपछि चाहेको बेला समय निकालेर सामाजिक गतिविधि गर्न सहज पनि भयो। आफूले सक्दो सेवा गरे आत्मसन्तुष्टि र धर्म पनि मिल्छ नि’, उनी भन्छिन्।  

सरस्वती सन् २०१९-२०२१ को एनआरएनए यूके कार्यसमिति सदस्यमा निर्वाचित भइन्। हालैमात्र उनी एनआरएनए आइसीसी सदस्यमा मनोनित भएकी छन्।

सन् २००८ देखि प्रवासी नेपाली मञ्च बेलायतमा आवद्ध उनी मञ्चको यूके उपाध्यक्ष हुंदै अहिले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कला, साहित्य तथा संस्कृति विभाग प्रमुख छन्। प्रवासी नेपाली मञ्चमा उनको उल्लेख्य भूमिका रहंदै आएको छ।

बेलायतमा कठोर संघर्षको यात्रा तय गरी अहिले सफलताको विन्दुसम्म पुगेकी सरस्वती कडा परिश्रम र निरन्तरको लगावलाई नै सफलताको सुत्र मान्छिन्। ‘शुरुमा त आफ्नो स्पष्ट योजना र लक्ष्य चाहिन्छ। मैले के गर्न चाहन्छु, कहाँ पुग्न चाहन्छु भन्ने थाहा हुनुपर्‍यो। अनि आफ्नो कामप्रति लगाव र अठोट भयो भने अवश्य सफल बनिंदो रहेछ’ उनले सुनाइन्।  

हेरौं भिडियो- सरस्वतीसँग नेपालीलिंकको संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू