शनिबार, वैशाख ८, २०८१
05:50 | १०:३५

बेणुगीत (गोपीकृत)

डा. कृष्ण उपाध्याय फ्रेब्रवरी ९, २०२४

डा. कृष्ण उपाध्याय

श्रीमद्भागवत, दशम स्कन्ध, एक्काइसौँ अध्याय
भागवत चुडामणि –५

पृष्ठभूमिः
उद्धवजीले गर्नु भएको गोपीहरुको स्तुतिपछि अब गोपीहरुले भगवानबारे गरेको स्तुतिहरुको चर्चा प्रारम्भ गरिन्छ। यस क्रमको प्रथम हो वेणु गीत।

यो स्तुतिको पृष्ठभूमि धेरै शृङ्गारयुक्त छ। वृन्दावनमा वर्षाको समय छ। मेघमाला पानी वर्षा गर्छन् । धरा हराभरा हुन्छिन्। सुतिरहेका भ्यागुता मेघ गर्जन संगै गर्जिन थाल्छन्। धरा धनी देखिन्छिन्, घाँस देखिन थाल्छन्। भगवानसंग आकृष्ट भक्त सुन्दर देखिए जस्तै पानी परेपछि प्राणीहरु सुन्दर देखिन थाल्छन्। पूर्णता नभएका योगी अझै पनि सांसारिक आकर्षित वस्तुसंग भइरहदा जसरी उद्विग्न हुन्छन्, त्यसरी नै भरिएका नदीहरु समुद्र छेउमा पुग्दा उत्ताउलो देखिन्छन्, उद्विग्न देखिन्छन्।

मायाले जीवलाई आत्मदर्शन गर्न दिंदैन, त्यसैगरि बादलले चन्द्रमा छोपी रहेको थियो। जब वृन्दावनमा खजुर र जामुन पाके, श्रीहरि गाई, ग्वाल–वाल र वलरामसहित वन प्रवेश गर्नु हुन्छ।

शुकदेवजी महानीय भावमा भन्नुहुन्छः

एवं वनं तद् वर्षिष्ठं पक्वखर्जुरजम्बुमत् ।
गोगोपालैर्वृतो रन्तुं सबलः प्राविशद्धरिः ।। (श्रीमद्भागवत, १०ः२०ः२५ )

वनमा हरिका मन हर्ने लीला हुन्छन्। यसरी लीला गर्दा गर्दै शरद आउंछ । भक्तिले जीव शुद्ध भए जस्तै पानी शुद्ध भयो, हिलो हट्यो। मेघ माला हटेर आकाश सफा भयो मानौ सबै कामनाबाट मुक्त योगी शुद्द भएका छन्। वेद मन्त्र पढ्दा पढ्दै योगीहरु शान्त बसे जस्तै उर्लादा भेल भएका नदीनालाहरु शान्त भएका थिए। कृष्णलाई यदुकुलकाहरुले घेरे जस्तै चन्द्रमा खुल्ला आकाशमा ताराहरुवाट घेरिएका थिए। गाउँ शहरतिर उत्सवै उत्सव हुन थाले।

जव वृन्दावनका तालहरु छंग देखिने स्वच्छ पानीले भरिए, तालका कमलवाट सुवाषित हावाले शितल छर्दै थियो, अच्युत गाई र ग्वाल सखासँगै वृन्दावन प्रवेश गर्नु भयो।

शुकदेवजीको भाषामाः

इत्थं शरत्स्वच्छजलं पद्माकरसुगन्धिना ।
न्यविशद् वायुना वातं सगोगोपालकोऽच्युतः ।।(श्रीमद्भागवत, १०ः२१ः१)

वृन्दावनका ताल, नदी र पहाडहरुले फुलै फूलका वृक्ष घुम्ने उन्मुक्त मौरी र चराहरुको ध्वनि प्रतिध्वनित गरिरहे। त्यै बेला मधुपति ग्वालवाल र वलरामसहित वन प्रवेश गरे र गाई चराउदै आफ्नो वंशी बजाउन थाले। त्यै बेला गोपीहरु कृष्णको वारेमा कुरा गर्न थाले तर उनका लीला सम्झेर मोहित र भावातिरेक भएर केही बोल्न सकेनन्। कसरी सकुन पनि!

शिरमा मयुरको प्वाँख, कानमा (निलो) कर्णिकारको फुल, सुन जस्तै चम्किने पहेलो वस्त्र, वैजन्तिको माला लगाएर दिव्य नृत्यकारको जस्तै स्वरुपमा, अधरामृतले वाँसुरीको छिद्रहरुमा ध्वनि भर्दै गोपीहरुले घेरिएका र उनको गान गर्दै गरिएका, आफ्ना चरण चिन्हले वृन्दावन शोभायमान गर्दै (ति कृष्ण) वृन्दावन प्रवेश गरे। यथाः

बर्हापीडं नटवरवपुः कर्णयोः कर्णिकारं
बिभ्रद् वासः कनककपिशं वैजयन्तीं च मालाम् ।
रन्ध्रान् वेणोरधरसुधया पूरयन्गोपवृन्दै–
र्वृन्दारण्यं स्वपदरमणं प्राविशद् गीतकीर्तिः ।। (श्रीमद्भागवत, १०ः२१ः५)

कति सुन्दर छ स्वरुप ! कति दिव्य छ त्यो वाँसुरीको धुन!
सवैको हृदय छुने त्यो धुन सुनेर भावातिरेक गोपीहरु एक अर्कालाई अँगालो हाल्छन् र त्यो वाँसुरीको कुरा गर्न थाल्छन् । यो स्तुति त्यसैको विषयमा हो।

श्लोक-अर्थ
श्रीगोप्य ऊचुः
अक्षण्वतां फलमिदं न परं विदामः
सख्यः पशूननु विवेशयतोर्वयस्यैः ।
वक्त्रं व्रजेशसुतयोरनवेणु जुष्टं
यैर्वा निपीतमनुरक्तकटाक्षमोक्षम् ।। ७ ।।

गोपी भन्छिन्ः

देखन सक्ने मानिसहरुको लागि यो भन्दा ठूलो फल के हुन्छ सक्छ, सखीहरु, जसले उस्तै उमेरका साथीहरुसँग गाई धपाउदै वनतिर लाग्दै गरेका नन्दजी (व्रजेश) का पुत्रहरु (कृष्ण र राम) को सुन्दर स्वरुप (अनुहार) देख्दछन्। उनीहरुले हातमा वंशी लिएका छन् र स्नेह पूर्ण कटाक्षसहित व्रजवासीलाई हेर्दछन्।

चूतप्रवालबर्हस्तबकोत्पलाब्ज–
मालानुपृक्तपरिधानविचित्रवेशौ ।
मध्ये विरेजतुरलं पशुपालगोष्ठ्यां
रङ्गे यथा नटवरौ क्व च गायमानौ ।। ८ ।।

(अर्की) गोपी भन्छिन्ः

गलामा नया आँप पात, मयुरको प्वाँख, फूलका गुच्छा, कमलका माला लगाएका र पहेला वस्त्रमा विचित्र देखिने (राम र कृष्ण) रङ्गमञ्चमा मूल गायक, अरु गायक भन्दा सुन्दर देखिए जस्तै, अति सुन्दर देखिन्छन्।

गोप्यः किमाचरदयं कुशलं स्म वेणु–
र्दामोदराधरसुधामपि गोपिकानाम् ।
भुङ्क्ते स्वयं यदवशिष्टरसं ह्रदिन्यो
हृष्यत्त्वचोऽश्रु मुमुचुस्तरवो यथार्याः ।। ९ ।।

(यतिकैमा अर्की गोपीलाई वंसीको स्मरण भयो, र भनिन्ः) यो वंसीले पनि के पुण्य प्राप्त गरको थियो होला, यसले गोपीहरुको भोग्य दामोदरको अधरामृत स्वछन्दतापूर्वक पिइरहेको छ, (त्यो अमृत अलिकति पनि न बच्ने भयो भन्ने भाव) । जुन वृक्ष (अथवा वाँस) को कुलमा यो (वंसी) जन्मियो उनीहरु पनि खुशीको आशुँ बगाइरहेका छन् (जस्तो लाग्छ, देखिन्छ) ।

वृन्दावनं सखि भुवो वितनोति कीर्तिं
यद् देवकीसुतपदाम्बुजलब्धलक्ष्मि ।
गोविन्दवेणुमनु मत्तमयूरनृत्यं
प्रेक्ष्याद्रिसान्ववरतान्यसमस्तसत्त्वम् ।। १० ।।

(अर्कीले भनिन्)
वृन्दावनको किर्ती त् स्वर्ग भन्दा अधिक छ (नि साथी ) किनभने यहां देवकीपुत्रका युगल चरण सुशोभित छन् (यद देवकी सुत पदाम्बुज लब्ध लक्ष्मी), यहाँ गोविन्दको वंसी सुनेर मयुर पनि मत्त भएर नृत्य गर्छन् (गोविन्द वेणुमनुमत्त मयूर नृत्यम), अनि (त्यति मात्र हो र साथी !) पहाड पर्वत माथी वस्ने अन्य जीवहरु पनि मस्त (मग्न) भएका छन् (उनको वाँसुरीको धुनमा)

धन्याः स्म मूढगतयोऽपि हरिण्य एता
या नन्दनन्दनमुपात्तविचित्रवेशम् ।
आकर्ण्य वेणुरणितं सहकृष्णसाराः
पूजां दधुर्विरचितां प्रणयावलोकैः ।। ११ ।।

(अर्की गोपीले भनिन्, हेरन साथी !) यो मुढ गतिमा भएको (पशु योनीमा भएको) हरिणीहरु कति धन्य छन् (भाग्यमानी छन्), जो वेणुको धुन सुनेर विचित्रभेष धारी नन्दपुत्रहरुलाई आफ्ना पतिहरुसहित प्रेमपूर्वक नजर लगाउदै पूजा गर्छन् (प्रेम सहित मुग्ध भएर हेरे ––हरिणनयनाले कमल नयनालाई!)

कृष्णं निरीक्ष्य वनितोत्सवरूपशीलं
श्रुत्वा च तत्क्वणितवेणुविविक्तगीतम् ।
देव्यो विमानगतयः स्मरनुन्नसारा
भ्रश्यत्प्रसूनकबरा मुमुहुर्विनीव्यः ।। १२ ।।

(अर्की गोपी भन्छिन्, हाम्रो कुरा त के, हेर न) आफ्ना पतिहरुसँग विमानमा हिडदा देवांगना हरुले (भगवान) कृष्णको त्यो दिव्य छटा देख्छन्, वंशीको विचित्र धुन सुन्छन्, र उनीहरु प्रेमावश (फिदा भएर !) धेर्य हराउंछन् र कपालमा सिउरिएको फुल झर्छ, वस्त्रहरु पनि खुकुलो हुन्छन्।

गावश्च कृष्णमुखनिर्गतवेणुगीत–
पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः ।
शावाः स्नुतस्तनपयःकवलाः स्म तस्थु–
र्गोविन्दमात्मनि द‍ृशाश्रुकलाः स्पृशन्त्यः ।। १३ ।।

भावार्थः
(अर्की एउटी गोपीको आँखा गाईमा पुग्छ क्यारे, अनि भन्न थाल्छिन्, साथी हो) गाईहरुले पनि कृष्णको मुखले बजाएको वंशीको ध्वनि, आफ्नो कानलाई दुनु जस्तै बनाएर पिउछन् (अर्थात गाईहरु पनि भगवानको वंशीको नादमा मग्न हुन्छन्), वाछाहरु आमाको थुनबाट दुध पिउदा पिउदै टक्क अडिन्छन्, र प्रेमले अश्रुपूर्ण भएका आँखाले गोविन्दलाई आफूभित्र समाहित गर्छन् र हृदयमा स्पर्श गर्छन् (आलिङ्गन गर्छन्)

प्रायो बताम्ब विहगा मुनयो वनेऽस्मिन्
कृष्णेक्षितं तदुदितं कलवेणुगीतम् ।
आरुह्य ये द्रुमभुजान् रुचिरप्रवालान्
श‍ृण्वन्ति मीलितद‍ृशो विगतान्यवाचः ।। १४ ।।

(अर्की एउटी गोपीले चरालाई हेरेर थाल्छिन्) यी वनमा जति चरा छन् नि ति पनि मुनि नै हुन्। तिनीहरु पल्लवित फलहीन रुखका हाँगामा वसेर दर्शनको आशाले मुरलीको धुन (अरु शब्दलाई ध्यान न दिई) सुनिरहेका हुन्छन्। (भाव के हो भने मुनिहरु वेदरुपी वृक्षको हाँगाको अनुशरण गर्दै भगवानको कथा सुन्छन, यी चरा हरु पनि त्यस्तै हुन्)

नद्यस्तदा तदुपधार्य मुकुन्दगीत–
मावर्तलक्षितमनोभवभग्नवेगाः ।
आलिङ्गनस्थगितमूर्मिभुजैर्मुरारे–
र्गृह्णन्ति पादयुगलं कमलोपहाराः ।। १५ ।।

(एक जना गोपी सम्भवतः हावा चल्दा केहि वेर नदीको प्रवाह रोकिएको कल्पना गर्छिन्, र भन्छिन्) मुकुन्दको वंसीको धुन सुन्दा नदीमा कामको संचार भयो (अर्थात, नदि कामातुर भइन् र कृष्णलाई चाहन थालिन्) र उनको (गीत) प्रवाह रोकियो, र आफ्नो लहर स्वरुप हातले कमलका उपहार लिएर मुरारी (भगवान) का चरण कमल आलिंगन गर्दछिन्।

द‍ृष्ट्वातपे व्रजपशून् सह रामगोपैः
सञ्चारयन्तमनु वेणुमुदीरयन्तम् ।
प्रेमप्रवृद्ध उदितः कुसुमावलीभिः
सख्युर्व्यधात् स्ववपुषाम्बुद आतपत्रम् ।। १६ ।।

(अर्की एउटीले भनिन्) ए साथी हेर त! यो घाममा वलराम र गोपहरुसँग वनमा गएर गाई चराउंदै मुरली बजाउदै गरेका कृष्णलाई गर्मी भएको देखेर आफ्ना मित्र (कृष्ण) माथि आएर मेघले फुल बर्साए जस्तै साना–साना थोपा वर्षा गरेर, छाता जस्तै भएर उभिए।

पूर्णाः पुलिन्द्य उरुगायपदाब्जराग–
श्रीकुङ्कुमेन दयितास्तनमण्डितेन ।
तद्दर्शनस्मररुजस्तृणरूषितेन
लिम्पन्त्य आननकुचेषु जहुस्तदाधिम् ।। १७ ।।

(एकजना गोपीले भिलमहिलाको शरीरमा कुमकुम दलेको देखेर, उनी कल्पना गर्छिन्)

भिल महिला लताहरुमा देखिएका कुमकुम धुलो देखेर काम भावले पीडित हुन्छन्। कृष्णका चरण परेका यी कुमकुम धुलोले गोपीहरुको वक्षस्थलमा लागेको थियो। जब भिल महिला वृक्षमा लागेको कुमकुम आफ्नो मुख र वक्षस्थलमा घस्छन्, उनीहरुको काम भाव शान्त हुन्छ।

हन्तायमद्रिरबला हरिदासवर्यो
यद् रामकृष्णचरणस्परशप्रमोदः ।
मानं तनोति सहगोगणयोस्तयोर्यत्
पानीयसूयवसकन्दरकन्दमूलैः ।। १८ ।।

साथी (सुन न !) यो गोवर्धन पर्वत पनि हरिदास (भक्त) हरुमा श्रेष्ठ छ, किनभने यो पर्वत पनि राम र कृष्णको चरण स्पर्श गरेर आनन्दयुक्त हुन्छ। (रोमाञ्चित हुन्छ) र गाई र गोपालसहित भगवान आफूमाथि आएको बेलामा जल, कोमल घाँस-पात, गुफा र कन्द मूल आदिद्वारा सम्मान गर्दछन् (अर्पण गर्दछन्)।

गा गोपकैरनुवनं नयतोरुदार–
वेणुस्वनैः कलपदैस्तनुभृत्सु सख्यः ।
अस्पन्दनं गतिमतां पुलकस्तरुणां
निर्योगपाशकृतलक्षणयोर्विचित्रम् ।। १९ ।।

कस्तो अचम्म के साथी (अर्को एक जना भन्छिन्) जब गाई दुहुने बेलामा डोरी लिएर (राम र कृष्ण) गोपहरुसँग गाई चराउदै र वाँसुरी वजाउदै डुल्छन्, त्यतिखेर गतिमान पशुपक्षी गतिहीन हुन्छन्, र (स्थिर) रुखपातहरु पल्लवित हुन्छन्।

संक्षिप्त व्याख्याः
अगाडि नै गोपीहरुको जगत वर्णन गर्ने क्रममा भनियो, गोपीहरुको सिंगो जगत भनेको वृन्दावन हो, त्यो उनीहरुका लागि सबै थोक कृष्णमय छ, उनीहरुको हृदय जस्तै। हेर्दा प्राकृत प्रेम वा प्राकृत काम भाव जस्तो सरल भावमा उनीहरु भगवान कृष्णको चिन्तन गर्छन्।

सुन्दर स्वरुपका (वल) राम र कृष्ण गाई चराउन मित्रहरुसँग बनतिर जाँदा देखेको अनुपम दृश्यले आकर्षित गोपीगणहरुको भाव हो यो वंशी गीत। तिनीहरुको कटाक्ष दृष्टि उनीहरुलाई विशेष महत्वपूर्ण लाग्छ र गोपालहरुद्वारा घेरिएका ति दाजु–भाइ कुनै पनि दृष्टियुक्त जीवकालागि आनन्दको अनुभव हुने भाव ब्यक्त गर्छन् गोपीहरु। गलामा नया आँप पात, मयुरको प्वाँख, फूलका गुच्छा, कमलका माला लगाएका र पहेला वस्त्रमा विचित्र देखिने भगवानका स्वरुप वर्णन गर्दागर्दै कृष्णको वंशीकोबारेमा चर्चा गर्न थाल्छन् गोपीहरु। त्यै वंशीप्रति उनीहरु अलिकति डाहको भाव राख्छन्, गोपीहरुलाई प्राप्त हुने अधरामृत त् त्यो वंशीले पो पिइरहेको छ !

वृन्दावन धन्य छन् कृष्णको कारणले लक्ष्मीको वास छ, बंशीको नादमा मयुरहरु नाच्छन्, भन्ने भाव ब्यक्त गर्दा गर्दै गोपीहरु भन्छन्ः पशुयोनी मै जन्मे पनि हरिणीहरु भाग्याशालिनी छन् किन भने उनीहरु पतिसहित उभिएर प्रेमपूर्ण नयनले कृष्णको पूजा गर्छन्, विमानमा उड्ने देवाङ्गानाहरु पनि प्रेमातिरेक हुन्छन् र कपालको फुल झरेको र वस्त्र खुकुलो भएको शुद्धी हुंदैन, गाईहरु मधुर वेणुध्वनि आस्वादन गर्दछन्, मुनिहरुले ध्यान गरेको भावमा चराहरु एक्कोहोरो वेणु धुन सुनी रहन्छन्, नदी पनि काम भावमा आएर आफ्नो प्रवाह रोक्छिन्, कृष्ण र वलरामलाई गर्मी भएको देखेर मेघले पनि हलुका वृष्टि गराउंछन्, अरु कुरा त के गर्नु स्वयम् गोवर्धन पर्वत पनि सबभन्दा ठूलो भक्त भए भगवानका किन भने त्यहाँ पुग्दा कन्द, फ्लादिले पर्वतले भगवानको सेवा गर्छन्। त्यति मात्र कहाँ हो र ! गोपीहरु भन्छन्, वंशीको धुनमा पल्लावित पात शान्त हुन्छन्, र स्थिर जति गतिमान हुन् थाल्छन्।

निश्छल, सरल गोपीहरु देख्दा सरल, प्राकृत प्रेम र काम भावमा देखिएपनि यिनीहरु सरल भावमा गहिरो विषयको चर्चा गरिरहेका छन्। हरेक विषय कृष्ण जनित देख्नु उनीहरुको भक्ति स्वरुप हो। उनीहरु सरल देखिए पनि वेदज्ञ छन्। उनीहरु जसरी भगवान कृष्णको चर्चा गरिरहेका छन्, अरु ग्रन्थ-कृति र सन्त हरुले सरल भावमा बुझाए जस्तै होः यो जगत कृष्णमय, राममय, विष्णुमय, ब्रहममय छ।

वेदको उद्घोष छः
जड–चेतन प्राणी युक्त यो समस्त सृष्टि परमात्माद्वारा व्याप्त छ। यथाः
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।(इशावास्योपनिषद, १)
विष्णुपञ्जर स्तोत्रमा यसैलाई व्याख्यात्मक रुपमा प्रस्तुत भएको छ, यथाः

जले विष्णुः थले विष्णुः विष्णुः पर्वत मस्तके। ज्वाला माला कुले विष्णुः सर्वे विष्णुमयं जगत् ।।(विष्णु पञ्जर स्तोत्रं)

गोस्वामी तुलसीदासले अझ सरल भाव र भाषामा यसै पक्षलाई प्रस्तुत गर्नुहुन्छः
…सिया राममय सब जग जानी। करउँ प्रनाम जोरि जुग पानी।।…(वालकाण्ड ८, राम चरित मानस)

त्यसैले भक्तिको चर्चा गर्दा उनीहरु सर्वोत्तम भक्त-भागवत मा गनिन्छन् (हेर्नुस्, यसअघि प्रकाशित भक्ति सम्बन्धी चर्चा)। सर्वोत्तम भक्त-भागवत तिनीहरु हुन् जसले इन्द्रियद्वारा अनुभूत सबै विष्णुमय देख्छन् र न द्वेष न आनन्दको भाव राख्दछन्। यथाः

गृहीत्वापीन्द्रियैरर्थान्यो न द्वेष्टि न हृष्यति ।
विष्णोर्मायामिदं पश्यन्स वै भागवतोत्तमः ।। ४८ ।। (श्रीमद्भागवत ११ः२ः४४–४८)

त्यसैले भगवानसंग प्रितिभाव राख्ने गोपीहरुले भगवान कृष्ण र कृष्णको वंशीसँग उनीहरुका वरिपरिका सबैमा वंशीको प्रभाव देख्नु त्यो भगवानको सर्व व्यापकता देख्नु नै हो। उनीहरुको ज्ञान, तपस्या, धर्म र गतिनै तिनै वासुदेव कृष्ण हुन्। महर्षी वेदब्यास त्यै त भन्नुहुन्छ हामी सबैलाई पनिः

वासुदेवपरं ज्ञानं वासुदेवपरं तपः ।
वासुदेवपरो धर्मो वासुदेवपरा गतिः ।।
(श्रीमद्भागवत, १ः२ः२९)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू