आइतबार, जेठ ६, २०८१
20:50 | ०१:३५

लण्डन अन्तरक्रियामा विज्ञहरुको चिन्ता: नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२४


लन्डन-  जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरुले विश्वका अन्य देशको तुलनामा दक्षिण एसियाली देशहरु जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औंल्याएका छन् ।

बेलायतबाट संचालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ एसियाः रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरुले जलवायु अनुकूलतकाका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनलाई १९९२ सम्म वातावरणीय रुपमा बुझ्ने गरिए पनि अब कूटनीतिक, राजनीतिक, आर्थिक समस्याको रुपमा बुझ्न थालिएको बताए। 

भारत र चीनले गर्ने कार्बन उत्सर्जनका कारण दक्षिण एसिया नै प्रभावित भएको बताउंदै उनले भने, ‘दक्षिण एसियामा कार्बन उत्सर्जनका हिसाबले भारत र चीनको चेपुवामा नेपाल छ । भारत र चीनमा आर्थिक विकास तीव्र गतिमा भैरहेकाले उत्सर्जनबाट नेपाल बच्न सक्दैन । उत्सर्जन घटाउन पहल गर्नै  पर्छ ।’

हाल इटालीको मिलानोमा बसेर अनुसन्धान गरिरहेकी जलवायु सम्बन्धी अनुसन्धानकर्ता डा. शोभा पौडेलले राष्ट्रिय नीतिहरु अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा केन्द्रीत रहने गरेको उल्लेख गर्दै कोप सम्मेलनले निर्धारण गरेका मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन् । 

शून्य कार्बन उत्सर्जन, जलवायु मैत्री लगानी लगायतका उपायबाट प्रभावित समुदायको अवस्था बुझ्नुपर्ने औल्याइन् । उनले नेपालको कृषि प्रणालीमा जल वायु परिवर्तनको असरका बारेमा थप अध्ययन गर्नुपर्ने बताउंदै सरकारले किसानलाई जलवायुमैत्री खेती गर्न प्रेरित गर्नेखालको नीति ल्याउनु पर्ने बताइन् ।

बीबीसी विश्व सेवाका विश्व वातावरण संवाददाता नवीनसिंह खड्काले पुरै दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । एसियामा मान्छेको जीवन र रोजगारी साथै भौगोलिक हिसाबले फरक फरक समस्या देखिएको उनले बताए । ‘मरुभूमिमा र हिमालको समस्या फरक छ । सगरमाथा बेसक्याम्पमा पानी धेरै पर्नु त्यसको असर हो । दक्षिण एसियामा सुरक्षित कुनै ठाउ छैनन् । २०३० सम्म ३० प्रतिशत कार्बन उत्सर्जन घटाउनुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

संसारमै तेश्रो सबै भन्दा धेरै कार्बन उत्सर्जन गर्ने मुलुक चीन र तेस्रो बढी उत्सर्जन गर्ने भारतको बीचमा रहेकाले नेपाल उच्च जोखिममा रहेको उनले बताए 

बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

‘जलवायु परिवर्तनलाई राष्ट्रिय सीमाले छेक्न सक्दैन’

बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दक्षिण एसिया जलवायु परिवर्तनबाट दोश्रो सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको भन्दै उर्जा, विपद व्यवस्थापन तथा नीति निर्माण लगायत क्षेत्रमा क्षेत्रीय सहयोग लाई अगाडि बढाउनु पर्ने बताए। उनले जलवायु परिवर्तनलाई कुनै राष्ट्रिय सीमाले छेक्न नसक्ने भन्दै नेपालले वित्त, प्रविधि र महत्वाकांक्षाका लागि अन्तरराष्ट्रिय क्षेत्रमा दबाब दिनुपर्ने जनाए।

राजदूत आचार्यले दक्षिण एसिया जलवायु परिवर्तनबाट दोश्रो सबै भन्दा बढी प्रभावित क्षेत्र रहेको भन्दै उर्जा, विपद व्यवस्थापन तथा नीति निर्माण लगायतको क्षेत्रमा क्षेत्रीय सहयोगलाई अगाडि बढाउनु पर्ने बताए। 

उनले जलवायु परिवर्तनलाई कुनै राष्ट्रिय सीमाले छेक्न नसक्ने भन्दै नेपालले वित्त, प्रविधि र महत्वाकांक्षाका लागि अन्तरराष्ट्रिय क्षेत्रमा दबाब दिनु पर्ने जनाए। उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रको परिस्थितिकिय प्रणालीका साथै खाद्य सुरक्षा, जनजीविका र जना स्वास्थ्यमा पनि असर पारि रहेको बताउंदै कार्बन उत्सर्जन कम गर्ने  र वन जंगलको संरक्षण गर्ने कामलाई प्राथमिकता दिन आग्रह गरे।

उक्त अवसरमा कार्यक्रममा नेपाली दूतावास बेलायतकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुबराज अर्याल, उपाध्यक्ष दिनेश परियार, द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ, पत्रकार दिनेश रेग्मी, बेदराम कंडेल लगायतले शुभकामना दिएका थिए। 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले आफ्नो सन्देशमा प्रवासमा बसेर पत्रकारिता माध्यमबाट नेपाली लगायत दक्षिण एसियाली समुदायलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता मिलोस् भन्दै  साउथ एसिया टाइम अनलाइनलाई शुभकामना दिए। 

त्यस्तै आफ्नो शुभकामना सन्देशमा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले साउथ एसिया टाइम अनलाइनलाई आफूले क्षेत्रीय तथा वैश्विक महत्वका विषयमा सूचनाको महत्वपूर्ण श्रोतको रुपमा पाएको बताए। 

कार्यक्रमको शुरुमा उपस्थित सहभागी तथा वक्ताहरुलाई स्वागत गर्दै एसिया टाइमका प्रधान सम्पादक भगीरथ योगीले पर्यावरण सम्बन्धी कार्यक्रमको महत्व र उद्देश्य प्रष्ट पारेका थिए । अन्तमा साउथ एशिया टायमका निर्देशक तथा सम्पादक जगन कार्कीले पाँचौ वर्षसम्म आइपुग्दा साथ र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिएका थिए।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू