सोमबार, वैशाख २४, २०८१
11:33 | १६:१८

भगवत भक्तिः प्राप्य स्वरुप

डा. कृष्ण उपाध्याय डिसेम्बर १, २०२३

यो भन्दा अगाडि नै भगवान के हो भन्ने चर्चा भएको छ। यही क्रममा भक्त (अथवा भागवत) को पनि चर्चा गरियो। थोरै भनियो पनि यो ‘अर्थपंचक’ को विषयबस्तु हो। अर्थपंचकले सवै शास्त्र (बेद इतिहास, पुराण) र ज्ञानी (मुनिजन, महात्मा र वेद–वेदान्तमा पारङ्गत) हरुद्वारा उद्घाटित विषयवस्तु समेट्छन्। ति पाँच विषयवस्तु हुन्ः ब्रहम स्वरुप (भगवान के हो, कस्तो गुण, स्वभाव र स्वरुप छ), म को हुँ (स्वरुप), भगवान प्राप्त गर्ने उपाय के हो, प्राप्त गरेको फल के हो (के हुन्छ प्राप्त गर्दा) र प्राप्त हुन् नदिने बाधक तत्व के हुन् (विरोधी स्वरुप)।

श्लोकमाः
प्राप्यस्य ब्रह्मणो रूपम्, प्राप्तस्य प्रत्यादात्तमनः।
प्रप्तोपाय फलम् प्राप्तेः तथा प्राप्ति विरोधि च।।
वदन्ति सकला वेदाः सेतिहास पुराणकाः।
मुनयेस्य महत्मान: वेद–वेदान्त पारगाः ।।

यस अघि नै भगवानका मुख्य षठ गुण र अनन्त कल्याणकारी गुण छन् भन्ने विषय संक्षेपमा भनियो। यस खण्डमा भगवत भक्ति कारणले भगवत प्राप्ति (भगवानको अनुभव) ले के हुन्छ भन्ने संक्षेपमा चर्चा गरिने छ। अथवा अर्थपंचकको संरचना भित्र ‘फल प्राप्ति’ विषयलाई शुकदेवले भगवानलाई गरेका दुई स्तुति चर्चा गर्ने क्रममा थोरै चर्चा गरिने छ। शुकदेवले गरेको स्तुति बहुआयामिक छन्, ति आयामलाई चर्चा गर्नु नै मुख्य धेय हो । तर ‘फल प्राप्ति’ विषय पनि यसै क्रममा उजागर हुन्छ।

भगवत प्राप्तिको उपाय स्वरुप भक्तिको चर्चाको थालनी गरियो यस अघिकै खण्डमा। क्रमशः गोपीहरुको विशेष प्रकारको भक्ति र शरणागति भक्ति चर्चामा यो विषय अनुशीलन हुन्छ। विरोधी स्वरुपको चर्चा थोरै भक्तिको चर्चामा गरियो र श्रीमद भागवतका स्तुतिहरुको चर्चा गर्दै जाँदा यो विषय पनि आउने छ।

यहाँ शुकदेवजीका दुईटा स्तुति समावेश छन्। दुईटैको व्याख्या एकै ठाउँमा गरिएको छ।

२. शुकदेव स्तुति, द्वितीय स्कन्ध, चतुर्थ अध्याय

पृष्ठभूमिः
मंगलाचरणपछि भागवतको महिमा थोरै वर्णन गर्नुहुन्छ व्यासजी, यसलाई वेदको रस भन्नु हुन्छ, सार भन्नु हुन्छः

निगमकल्पतरोर्गलितं फलं
शुकमुखादमृतद्रवसंयुतम् ।
पिबत भागवतं रसमालयं
मुहुरहो रसिका भुवि भावुकाः ।।(श्रीमद्भागवत १ः२ः ३)

(भावार्थः सुँगाले ठुगेंको (शुकदेवजी वाणीबाट आएको) वेदरुपी कल्पतरुको पाकेको फल हो यो श्रीमद्भागवत। ए (भगवत प्रेमका) रसिकहरु यो धरामै सुलभ यो फलको रस पान गरि रहु) ।

त्यसपछि सुतजीको आगमन हुन्छ, शौनकादि मुनिहरुले वहाँको यथोचित सत्कार गर्नु हुन्छ। त्यसपछि वहाँहरुले सुतजीसँग श्रद्धापूर्वक प्रश्न गर्नुहुन्छ। प्रथम स्कन्धका प्रथम अध्यायमा उल्लेखित ति ६ प्रश्नहरु आध्यात्मिक हिसावले अत्यन्तै महत्वपूर्ण प्रश्न हुन्ः

श्रेय कर्म के हो (श्लोक ९), शास्त्रमा विविध पक्षको उजागर गरिएको छ, विषय धेरै छन् तर शास्त्रको सार चाहिं के हो (श्लोक ११), अवतारका प्रयोजन कथा के छन् (श्लोक १३), हामीले कस्ता कर्म गर्नु पर्दछ (श्लोक १६), अवतार (को वारेमा वर्णन गर्नुस्) कस्ता कस्ता छन् (श्लोक १८), भगवान कृष्ण, जसले धर्मको रक्षा र पालन गर्नु हुन्थ्यो, आफ्नो धाम फर्केपछि अब धर्म कसको शरणमा हुन्छ (अर्थात रक्षा कसले गर्दछ)? (श्लोक २३)।

त्यसपछि दोश्रो अध्यायमा, आफ्ना गुरु शुकदेव, भगवान, सरस्वती र व्यासजीको प्रार्थना गरेर शौनकादि ऋषिहरुको प्रश्नको उत्तर दिनु थाल्नु हुन्छ। यहाँ त्यसको वर्णन गर्न स्थानाभावले गर्दा सम्भव छैन। तेश्रो अध्यायमा, भगवानका अवतारहरुको संक्षेप वर्णन गर्नु हुन्छ, जुन भागवतमा अन्यत्र पनि छ र विस्तारित रुपले त्यसको बर्णन गर्दै कथा गङ्गा अगाडि बढ्छ।

त्यसपछि, भागवतको रचना कसरी भयो भने सन्दर्भमा चर्चा हुने क्रममा नारदजी र व्यासजीको भेट र नारदजीले व्यासजीलाई उपदेश दिएको सन्दर्भ आउँछ, र त्यसपछि रचना भएर शुकदेवजीले त्यो ज्ञान व्यासजीबाट प्राप्त गरेको प्रसङ्ग छ। शुकदेवजीले यही कथा पहिलोपटक राजा परिक्षितलाई सुनाएको कथा आउँछ।

महाभारत युद्धपछि अस्वथामाले गरेको व्रहमास्त्रको प्रयोग, त्यसबाट उत्तराको गर्भ रक्षण, परिक्षित जन्म, र कुन्ती र भीष्मद्वारा भगवान कृष्णको प्रार्थना, भीष्मको शरीर त्याग (जसको वर्णन पछि राखिएको कुन्तीस्तुतिको पृष्ठभूमिको रुपमा गरिएको छ) । महाभारत युद्धपछि भगवानको द्वारका गमनको कथा आउँछ, विदुरजी फर्केर धृतराष्ट्र सहित वन गमन गएको कथा पछि राजा परिक्षितलाई तक्षकले ठुँगेर सात दिनमा मृत्यु हुने श्राप र परिक्षित गङ्गा तटमा आएर वसेको र त्यहिँ शुकदेवको आगमन र भागवतको पहिलो कथा प्रारम्भ भएको प्रसंग आउँछ। यही क्रममा परिक्षित सँगको लामो संवाद आउँछ।

संक्षेपमा भन्नुपर्दा श्रीशुकदेव स्वामी सारै महत्वपूर्ण पक्ष परिक्षित महाराजलाई भन्नुहुन्छ:
मानिसको सबैभन्दा ठूलो पुरुषार्थ हो उसले (पदार्थ र चेतनको) ज्ञान, योग र आफ्नो धर्म यसरी निर्वाह गरोस् कि जीवनको अन्तमा भगवान (नारायण) को स्मरण होस्। यथाः

एतावान् सांख्ययोगाभ्यां स्वधर्मपरिनिष्ठया ।
जन्मलाभः परः पुंसामन्ते नारायणस्मृतिः ।। २ः१ः६।।

देवताहरुको उपासनाले लौकिक वस्तुहरुको प्राप्ति त हुन्छ तर त्यसबाट मुक्ति हुंदैन भन्ने उपदेश पनि परिक्षित महाराजलाई दिंदै शुकदेव स्वामी भन्नुहुन्छ, ज्ञानीजनहरु मोक्षको कामना होस् वा अन्य प्रकारका कामना, वा कामना रहित (आनन्दको लागि मात्र) होस् भगवानकै यजन गर्दछन। यथाः

अकामः सर्वकामो वा मोक्षकाम उदारधीः ।
तीव्रेण भक्तियोगेन यजेत पुरुषं परम् ।।१०।।

किन न गरुन यजन! भगवान सम्बन्धी ज्ञानले गुणधर्मी चक्र (तिनै प्रकारका गुण) बाट विमुक्त भएर कैवल्यसम्मत भक्तिपथमा हुन्छन्, अनि त्यस्ताहरुको हरि कथामा रति नहुने हुन्छ ? यस्तै महानीय भाव बताउनु हुन्छ शुकदेवजी परिक्षितलाई हरि कथामा आकृष्ट गर्न। किन भने अव परिक्षित महाराजको मात्र सात दिन न बचेको छ, त्यसैले शुकदेवजी परिक्षितलाई सांसारिक (वस्तु सँगको) मोहबाट मुक्त गर्दै वैराग्य भाव जागृत गराउनु हुन्छ। भगवानमा चित्तवृत्ति बनाइसकेका परिक्षित महाराज कैयौं प्रश्न गर्दै भगवानका लीलाकथा सुनाउन आग्रह गर्नु हुन्छ।

परिक्षितका प्रश्नहरुको उत्तर दिदै शुकदेवजी भागवत कथा सुनाउन थाल्नु हुन्छ। उत्तर दिदै कथा प्रारम्भ गर्नुभन्दा पहिले शुकदेवजीले यो तलको पहिलो स्तुति गर्नु हुन्छ भगवानको।

श्लोक र अर्थः
श्री शुक उवाच
नमः परस्मै पुरुषाय भूयसे
सदुद्भवस्थाननिरोधलीलया।
गृहीतशक्तित्रितयाय देहिना–
मन्तर्भवायानुपलक्ष्यवर्त्मने।। १२ ।।

(श्री शुकदेव भन्नु हुन्छः जसले जगतको उत्पत्ति, स्थिति र पालनको आफ्नो लीलाको निम्ति तिनवटै शक्ति (सत्व, रज, तम ––विष्णु, ब्रह्मा शिव स्वरुप) ग्रहण गर्नुभयो, जो सबै प्राणीको हृदयमा बस्नु हुन्छ, जसको लीला मार्ग कसैको दृष्टीमा हुंदैन, त्यस्ता सर्वोत्तम पुरुषलाई म नमस्कार गर्दछु।)

भूयो नमः सद्वृजिनच्छिदेऽसता–
मसम्भवायाखिलसत्त्वमूर्तये ।
पुंसां पुनः पारमहंस्य आश्रमे
व्यवस्थितानामनुमृग्यदाशुषे ।। १३ ।।

(धर्ममार्गमा भएका मानिसहरुको दुख हरण गर्ने, अधर्मीलाई दमन गर्ने, नाना प्रकारका फल दिन अनेक प्रकारका देवताका स्वरुप धारण गर्ने,परमहंस आश्रमस्थित (भनेको–आध्यात्मिक) व्यक्तिहरुलाई आत्म–स्वरुप प्रदान गर्ने, भगवानलाई म फेरी प्रणाम गर्दछु)।

नमो नमस्तेऽस्त्वृषभाय सात्वतां
विदूरकाष्ठाय मुहुः कुयोगिनाम् ।
निरस्तसाम्यातिशयेन राधसा
स्वधामनि ब्रह्मणि रंस्यते नमः ।। १४ ।।

(भक्तको पालन गर्नेलाई नमस्कार छ। भक्तिहीनहरुको लागि जो सधैं अप्राप्य हुनुहुन्छ, त्यस्ता हजुरलाई नमस्कार छ। हजुर भन्दा ऐश्वर्यशाली कोहि पनि छैन, अतिशय ऐश्वर्य सहितको हजुरलै नमस्कार।)

यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
यद्वन्दनं यच्छ्रवणं यदर्हणम् ।
लोकस्य सद्यो विधुनोति कल्मषं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। १५ ।।

(जसको किर्तन, स्मरण, दर्शन, वन्दन, श्रवण र पुजनले मानिसका पाप तुरुन्तै नाश हुन्छ, त्यस्ता मगलमय कीर्तिमान भगवानलाई मेरो प्रार्थना)

विचक्षणा यच्चरणोपसादनात्
सङ्गं व्युदस्योभयतोऽन्तरात्मनः ।
विन्दन्ति हि ब्रह्मगतिं गतक्लमा–
स्तस्मै सुभद्रश्रवसे नमो नमः ।। १६ ।।

(विवेकी जनहरु जसको सेवा (भजन) गरेर यस्लोक र परलोक दुईटैबाट आशक्ति हटाएर परिश्रम रहित मोक्ष प्राप्त गर्छन्, त्यस्ता मंगलमय कीर्तिमान भगवानलाई नमस्कार गर्दछु।)

तपस्विनो दानपरा यशस्विनो
मनस्विनो मन्त्रविदः सुमङ्गलाः ।
क्षेमं न विन्दन्ति विना यदर्पणं
तस्मै सुभद्रश्रवसे नमो नमः ।। १७ ।।

(तपस्वी, दानी, यशस्वी, मनलाई बसमा राख्न सक्ने, मन्त्र–बेत्ता (योगिजन) हरुलाई जसमाथि आफ्ना कर्म समर्पण नगरी फल प्राप्त हुंदैन, त्यस्ता भगवानलाई नमस्कार गर्दछु।)

किरातहूणान्ध्रपुलिन्दपुल्कशा
आभीरशुम्भा यवनाः खसादयः ।
येऽन्ये च पापा यदपाश्रयाश्रयाः
शुध्यन्ति तस्मै प्रभविष्णवे नमः ।। १८ ।।

(भावार्थः खस आदि समुदायका जो मानिसहरु पाप कर्ममा उद्यत हुन्छन्, त्यस्ताले पनि जसका भक्तहरुको आश्रय लिंदा मात्र (अन्तकरणमा) शुद्ध हुन्छन्, त्यस्ता भगवानलाई म नमस्कार गर्दछु।)

स एष आत्मात्मवतामधीश्वर–
स्त्रयीमयो धर्ममयस्तपोमयः ।
गतव्यलीकैरजशङ्करादिभि–
र्वितर्क्यलिङ्गो भगवान् प्रसीदताम् ।। १९ ।।

(जो धीरपुरुष हरुको उपास्य हुनुहुन्छ, जो वेद र धर्मको उपास्य हुनुहुन्छ, जसको स्वरुपलाई (निष्कपट भक्तिसम्पन्न) ब्रह्मा, शिव आदि आश्चर्य चकित भएर हेर्नु हुन्छ, त्यस्ता सबैका अधिपति मसंग प्रसन्न हौऊन।)

श्रियः पतिर्यज्ञपतिः प्रजापति–
र्धियां पतिर्लोकपतिर्धरापतिः ।
पतिर्गतिश्चान्धकवृष्णिसात्वतां
प्रसीदतां मे भगवान् सतां पतिः ।। २० ।।

(श्रीपति, यज्ञपति, प्रजापति, वुद्धिपति, लोकपति, पृथिवीपति, यादवकुलपति म संग प्रसन्न हौऊन)

यदङ्‍घ्र्यध्यानसमाधिधौतया
धियानुपश्यन्ति हि तत्त्वमात्मनः ।
वदन्ति चैतत् कवयो यथारुचं
स मे मुकुन्दो भगवान् प्रसीदताम् ।। २१ ।।

(जसका चरणकमलका ध्यानरुप समाधिद्वारा शुद्ध भएको बुद्धिले विवेकीजनहरु जसको तत्वलाई जान्दछन्, र विद्वानहरु जसको महात्म्यको वर्णन गर्दछन्, ति मुकुन्द म संग प्रसन्न हौऊन)

प्रचोदिता येन पुरा सरस्वती
वितन्वताजस्य सतीं स्मृतिं हृदि ।
स्वलक्षणा प्रादुरभूत् किलास्यतः
स मे ऋषीणामृषभः प्रसीदताम् ।। २२ ।।

(कल्पको प्रारम्भमा ब्रह्माको हृदयमा स्थित भएर सृष्टि प्रेरित (वेदस्वरुपा) स्वरस्वती (शिक्षा, ब्याकरण, आदि छ अंग सहित) ब्रह्माजीको मुखबाट प्रकट हुनुभयो, ज्ञानदाता श्रेष्ठ त्यस्ता भगवान म संग प्रसन्न हौऊन)

भूतैर्महद्भिर्य इमाः पुरो विभु–
र्निर्माय शेते यदमूषु पूरुषः ।
भुङ्क्ते गुणान् षोडश षोडशात्मकः
सोऽलङ्कृषीष्ट भगवान् वचांसि मे ।। २३ ।।

(जो परमात्मा पृथिवी आदि पंचमहाभुतद्वारा विभिन्न शरीर बनाएर उनीहरुभित्र वास गर्नु हुन्छ, जो मन लगायत एघार इन्द्रिय र पाँच प्राणको प्रेरक भएर सोरह विषय भोग्नु हुन्छ, त्यस्ता भगवानले मेरो वाणीलाई अलंगकृत गर्नुहोस्)

नमस्तस्मै भगवते वासुदेवाय वेधसे ।
पपुर्ज्ञानमयं सौम्या यन्मुखाम्बुरुहासवम् ।। २४ ।।

(जसद्वारा प्रतिपादित (वेदान्तसुत्र, पुराण आदि) ग्रन्थ विशिस्ट शिष्यहरुले रसास्वादन गर्नु भयो, त्यस्ता वासुदेवका अवतार व्यासजीमा प्रणाम।)

३. शुकदेवद्वारा भगवान रामस्तुति, नवमौं स्कन्ध, दशमौं अध्याय

पृष्ठभूमिः
शुकदेवजीले अवतार र वंश वर्णन गर्ने क्रममा नवम स्कन्धमा सूर्यवंसी राजा खटवाङ्गको वंश वर्णन गर्दा गर्दै भगवान श्रीरामको चरित्र संक्षिप्त दुई अध्यायमा गर्नु हुन्छ। केही आचार्यहरुले यसलाई शुक रामायण पनि भन्नु हुन्छ।

श्लोक र अर्थः
गुर्वर्थे त्यक्तराज्यो व्यचरदनुवनं पद्मपद्भ्यां प्रियायाः
पाणिस्पर्शाक्षमाभ्यां मृजितपथरुजो यो हरीन्द्रानुजाभ्याम् ।
वैरूप्याच्छूर्पणख्याः प्रियविरहरुषारोपितभ्रूविजृम्भ–
त्रस्ताब्धिर्बद्धसेतुः खलदवदहनः कोसलेन्द्रोऽवतान्नः ।। ४ ।।

(परात्पर परमात्मा रामचन्द्रले हामी सबैको रक्षा गरुन जसले पिताको वचन सत्य सावित गर्न राज्य त्याग गर्दै आफ्नी भार्या सीतामाता सहित आफ्नाचरण कमल एउटाबाट अर्को गर्दै वन विचरण गर्नु भयो, जुन चरणकमल यति कोमल थिए जो सीताजी हत्केलाको स्पर्शमात्रले पनि दुख्दथे। भगवानसंग वानरराज (सुग्रिव, हनुमान) र अनुज लक्षमण पनि हुनुहुन्थ्यो, जो भगवान क्लान्त अवस्थामा सेवा प्रदान गर्नु हुन्थ्यो। शुर्पणखालाई विरुप गरेपछि भगवानको माता सीतासंग विछोड भयो, भगवान आक्रोषित हुनुभयो र भृकुटी चलाउंदै सागर भयभित बनाउनु भयो, जसको कारणले सागरले समुद्रले सेतु बन्धनको निम्ति आज्ञा दिए। त्यसपछि भगवान रावण राज्यमा प्रवेश गरेर र जसरी अग्नीले जंगल सखाप पार्दछ त्यसै गरि रावण वध गर्नुभयो।)

संक्षिप्त व्याख्याः
परम ज्ञानी ब्रह्मवेत्ता श्री शुकदेवजीलाई पहिलो भागवत वाचक मानिन्छ। आत्माराम स्वरुपमा रहने शुकदेवजी जन्मे देखिनै चुडाकर्म (व्रतवन्ध) नहुदै, मायाको प्रभावमा नरहेकोले, घर छोडेर हिडेको प्रसंग आउंछ भागवतको प्रथम स्कन्धमा। यो स्तुतिमा वहाँ भगवानका स्वरुप र लीला (चरित्र) को वर्णन गर्नु हुन्छ। पहिले नै चर्चा गरिएका भगवानका गुण समुह मध्यका केही गुणहरुको आफ्ना स्तुतिमा प्रस्तुत गर्नु हुन्छ। मंगलाचरणमा वेदव्यासजीले वर्णन गर्नु भए झैँ भगवान उत्पत्ति, पालन र संहार गर्नुहुन्छ भन्ने मात्र भन्नु हुन्न, त्यस्ता कार्यको लागि भगवान आफ्नो एकबाट अनेक हुने संकल्प अनुरुप तीनवटा गुण (स्वत, रज, तम) ग्रहण गर्दै तिन शक्ति विष्णु, ब्रह्मा र शिवको स्वरुप धारण गर्ने पनि उल्लेख गर्नुहुन्छ (हेर्नुस् श्लोक १२)।

यस्तै अरु रुपमा पनि वहाँ एकत्व देख्नु हुन्छ, जस्तै श्रीपति, यज्ञपति, प्रजापति, वुद्धिपति, लोकपति, पृथिवीपति, यादवकुलपति (हेर्नुस् श्लोक २०)। ज्ञानको श्रोत (श्लोक २१ र २२), अन्तर्यामी र (इन्द्रिय प्रेरक) ऋषिकेश (श्लोक २३) भन्दै श्री शुकदेवजी भगवान वेदादि, ब्रह्मादि सवैको उपास्यको रुपमा भगवानको सर्वोच्चता निरुपण गर्नुहुन्छ (श्लोक १९)।

अनन्त गुण सम्पन्न भगवानको जीवलाई फल प्रदान गर्ने, धर्म मार्गमा हिड्नेहरुको दुख हरण गर्ने, (वहांले गर्नु भएको भगवान रामको स्तुतिमा पनि) दुष्टलाई दमन गर्ने, पालनकर्ता, दुष्ट संहारक आदि गुणको वर्णन हुन्छ । भगवानले अनेक प्रकारका देवताका स्वरुप धारण गर्ने वताउनु हुन्छ (हेर्नुस् श्लोक १३)।

अत्यन्तै महत्व पूर्ण पक्ष के हो भने भगवान परमयोगीहरुलाई स्वरुप (आत्म–स्वरुप) प्रदान गर्नु हुन्छ (हेर्नुस् श्लोक १३)। अतिशय ऐश्वर्यशाली भगवानलाइ प्रार्थना गर्ने क्रममा वहाँ भन्नु हुन्छ भगवान भक्तिहीनको निम्ति अप्राप्य हुनुहुन्छ।

शुकदेवजी भगवान भक्तका निम्ति पालनकर्ता भन्नु हुन्छ (श्लोक १४)। भगवान (कृष्ण) गीतामा स्वयम् भन्नु हुन्छः

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः ।। (गीता ९ः३०)

(अर्थः यदि कोहि दुराचारीनै रहेछ र पनि मेरो भजन गर्दछ भने उ संत-साधु जस्तै हुन पुग्छ किन भने उ सम्यक् (स्थिर) भावले स्थित हुन्छ।)

क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति।
कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति।। (गीता ९ः३१)

(भावार्थः हे अर्जुन (कौन्तेय) ! उ चाडै नै धर्मात्मा हुन्छ र शाश्वत शान्ति प्राप्त गर्दछ। जानी राख, मेरो भक्तको कहिल्यै पतन हुदैन)

भाव के हो भने भगवत चिन्तन र यजन मा रहने प्राणी अति शीघ्र शुद्धात्मा हुन्छ। आफ्नो हृदयको कल्मष पखाल्छ। त्यसैले उ पतनोन्मुख हुदैन। पतन कसरी हुन्थ्यो ? भक्त-भागवतहरुलाई भगवानले शुद्धतात्मा मात्र होइन, अभय पनि प्रदान गर्नु हुन्छ। वाल्मिकी रामायणमा भगवान (राम) भन्नु हुन्छः जो एकपटक मेरो शरणमा आएर म हजुरको हु भन्दै याचना गर्दछ, म उलाई सबै प्राणीहरुबाट अभय प्रदान गर्दछु, यो मेरो व्रत (संकल्प) हो। यथाः

सकृदेव प्रपन्नाय तवास्मीति च याचते ।अभयं सर्वभूतेभ्यो ददाम्येतद् व्रतं मम ।। (वाल्मिकी रामायण ६ः१८ः३३)

शुकदेवजी भक्तिलाई मुख्य साधन भन्नु हुन्छ, र ति साधनहरुमध्ये किर्तन, स्मरण, दर्शन, बन्दन, पुजनले कल्मष (पाप आदि) नाश हुने बताउनु हुन्छ, अर्थात, भगवानले यस्ता कल्मष नाश गर्नु हुन्छ। (श्लोक १५)। ज्ञानी जनहरु भगवानको सेवा गरेर परिश्रमरहित मोक्ष प्राप्त गर्छन भन्ने कुरा भनि रहँदा, शुकदेवजी अद्भुत विषय अगाडि सार्नु हुन्छ। मोक्ष प्राप्त गर्ने क्रममा यस्ता ज्ञानीजनहरु इहलोक र परलोकको आशक्तिबाट मुक्त हुन्छन् भन्नु हुन्छ (हेर्नुस् श्लोक १६) ।

सामान्यजनमा सवै भगवतसेवा परलोक सुधार्नको निम्ति होइन र भन्ने प्रश्न उठ्न सक्छ। मननीय पक्ष के हो भने शुकदेवजी यहाँ स्वर्गादि परलोक आदिको कुरा गर्दै हुनुहुन्छ। पुण्यक्षय भएपछि सुख भोग पछि स्वर्गबाट फेरी धरा मै आउनु पर्ने भाव छ यहाँ। अर्थात शंकराचार्यजीले भने जस्तैः पुनरपि जननं पुनरपि मरणं, पुनरपि जननी जठरे शयनम् (फेरी जन्मने, फेरी मर्ने र फेरी माताको गर्भमा सुत्ने) अवस्था हुन्छ। त्यसैले मोक्ष प्राप्तिको कामना गर्ने ज्ञानीजनहरु छोटो समयको निमित स्वर्ग सुखको कामना गर्दैनन् भन्ने आशय छ यहाँ।

भक्तिको कारणले कल्मष हट्ने र भगवानले मुक्ति प्रदान गर्ने विषयबाहेक अर्को महत्वपूर्ण पक्ष पनि शुकदेव स्वामी बताउनु हुन्छ। यस अघि भक्ति चर्चा गर्दै विभिन्न आचार्यले भन्नु भए झैँ भक्ति साधनले मात्र पुग्दैन (अथवा पुजा गरेर पुग्दैन, भावसहित गर्नु पर्छ, ‘अर्पणम्’ भाव हुनु पर्छ) भन्ने भाव शुकदेवजी पनि व्यक्त गर्नु हुन्छ (हेर्नुस् श्लोक १७) । भगवदपाद यमुनाचार्य (९१६–१०४१ सन्) यस्तो भावलाई ‘समग्र भक्ति’ भन्नुहुन्छ।

यसको अर्थ हुन्छ मन, वचन, र कर्म सबैद्वारा यजन गर्नु। यो प्रसंग वहाँको ’स्तोत्ररत्न’ भन्ने अद्भुत ग्रन्थ जहाँ अद्भुत भक्ति भाव, दर्शन, र भगवत तत्वको अनुशीलन भएको छ। वहाँ नाथमुनिको प्रार्थना गर्ने क्रममा नाथमुनीसँग जोडेर ‘समग्र भक्ति’ को प्रसंग ल्याउनु हुन्छ। हेरौः

भूयो नमोपरिमिताच्युत भक्तितत्व 

ज्ञानामृताब्धि परिवाह   शुभैर्वचोभि: |

लोकेवतिर्ण् परमार्थ समग्र भक्ति-

योगाया नाथमुनये यमिनाम् वराय || (स्तोत्ररत्न: ३)

(अर्थः श्रीनाथमुनि स्वामीजीलाई पनि नमस्कार। जसले भगवानप्रति असिमित भक्ति र साचो ज्ञानको सागरबाट बग्दै गरेका शुभ शब्दको रुपमा यस संसारमा अवतार लिनु भयो, जसको अवतार हाम्रा लागि परम कृपा-उपकार हो र जसमा समग्र भक्ति योग छ र जो योगीहरुमा श्रेष्ठ हुनुहुन्छ) ।

यो ‘समग्र भक्ति’ शरीर, मन, वचन, इन्द्रिय, बुद्धि र आत्मले सोचेर वा आफ्नो स्वभाव अनुरुप जे छ सबै भगवान (नारायण) मा समर्पण गर्ने भाव हो। जस्तै:

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतस्वभावात्* ।

करोति यद् यत् सकलं परस्मै नारायणायेति समर्पयेत्तत् ।।(श्रीमद्भागवत ११:२:३६)

(*अन्यत्र शव्द भेद पाइन्छ, जस्तै: प्रकृति स्वभावात )

कोही पाप कर्ममै नै रहेछ भने पनि र भगवानको भक्तिमा रत नभए पनि भक्त हरुको सत्संगको कारणले पनि कल्मष हट्छ (पाप हट्छ) भन्नुहुन्छ शुकदेवजी (हेर्नुस् श्लोक १८) । तुलसीकृत ‘रामचरित मानस’ मा भगवान रामले सवरिलाई दिएको नवदा भक्ति उपदेशमा सत्संगलाई प्रथम भक्ति भनिएको छ। सत्संगको महत्व अरु धेरै मुनि र आचार्यहरुले पनि गर्नु भएको छ। नारद्जी यस्तो सत्संग जन्मजन्मान्तरमा आर्जित पुण्यको कारणले भाग्योदय भएको कारणले हुन्छ र यसले अज्ञानको कारणले हुने मोह आदि अन्धकार (कल्मष) हटाउंदै मानिसमा विवेकको उदय गराउंछ भन्नु हुन्छ। यथाः

भाग्योदयेन बहुजन्म समर्जितेन सत्सड़्गमं च लभते पुरुषो यदावै।
अज्ञानहेतुकृतमोह मदान्धकार​ नाशं विधाय हि तदोदयते विवेक​:।।
(पद्मपुराण, उत्तरखण्ड, श्रीमद्भागवत महात्म्य, २ः७६)

यहि भाव गोस्वामी तुलसीदासको पनि छः
बिनु सतसंग विवेक न होई, राम कृपा बिनु सुलभ न सोई।।

(अर्थः संसंग नभई विवेक आउदैन र भगवान (राम) को कृपा विना त्यो सुलभ हुदैन)
आचार्य र सन्तहरुले अझ महानिय भावमा यो पक्ष उजागर गर्नु हुन्छ। वहाँहरु किटपतंग जे भए पनि भक्तहरुकै सानिध्यमा होइयोस भन्ने भाव राख्नु हुन्छ। भगवतपाद यामुनाचार्य माथि चर्चामा ल्याइएको वहांको ग्रन्थ ‘स्तोत्ररत्न’ मै भन्नु हुन्छः

तव दास्यसुखैकसङ्घिनां भवनेषु अस्त्वपि कीटजन्म मे ।
इतरावसथेषु मा स्म भूदपि मे जन्म चतुर्मुखात्मना (स्तोत्ररत्नमः५८)

(अर्थः किरै भए पनि हजुरको दास भएको सुख अनुभव गर्ने भक्तको घरमा मेरो जन्म होस्। चतुर्मुख (ब्रह्मा) नै भए पनि हजुरको भक्ति नगर्नेको घरमा चै नहोस्)।
भक्ति भाव के छ भने सत्संगको निम्ति म किरा हुन् तयार छु, मेरो जन्म किराकै होस् तर सत्संग नहुने ठाउँमा शक्तिशाली ब्रह्माकै रुपमा भएपनि जन्मनु छैन ।

भक्तहरु सँगको सत्संगको महत्व राजा-अल्वार–सन्त कुलशेखर (नवौ शताब्दी) ले पनि आफ्नो प्रख्यात ग्रन्थ ‘मुकुन्दमाला’ मा महनिय भावले भन्नुहुन्छः

मज्जन्मनः फलमिदं मधुकैटभारे मत्प्रार्थनीयमदनुग्रह एष एव ।
त्वद्भृत्यभृत्यपरिचारकभृत्यभृत्य–भृत्यस्य भृत्य इति मां स्मर लोकनाथ ।।

(मुकुन्दमालाः२७)

(अर्थः हे मधु कैटभका शत्रु! हे लोकनाथ ! हजुरले मलाई आफ्नो दाशानुदासको परिचारकको दासको दाशानुदासको पनि दासको रुपमा स्मरण गर्नु होस्। मेरो जन्मको फल (साफल्य) यहि होस्, यहि प्रार्थ्य होस्, म प्रति यहि अनुग्रह होस्)। भाव के हो भने, हजुरले मलाई भगवानका भक्तहरुको दास बनाइदिनुस्, जसको कारण मेरो सत्संग भै रहोस् जसका कारणले मलाई निरन्तर भगवन्नाम र गुणको स्मरण भै रहोस् ।

आचार्य र सन्तहरुको यस्ता महनीय भाव सत्संग प्रतिको अनुरक्ति हो, जसले भगवानप्रतिको अनुरक्ति प्रकट गर्छ, अथवा मानिसहरु भक्त हुन्छन, उपासक हुन्छन्। मोक्षको कामना गर्ने वा (नगर्ने) अहैतुकी भक्तिमा लिन हुदैँ परमानन्दमा लिन हुने दुवै खाले भक्तिमा यो भाव र मार्गचित्र हुन्छ।

सारमा, भगवत भक्तिको प्राप्य स्वरुप के हो भने यसले कल्मष हटाउछ, शुद्दात्माको रुपमा आफूलाई अनुभूत गर्छ, र मानिस दुष्कर्म (पापकर्म) वाट निबृत हुन्छ। मानिसहरुले स्वस्वरूपको अनुभूत गर्दछ, आफैंलाई चिन्दछ। भक्ति वा उपासनामा सत्संगको महत्व छ। यहाँ सत्संग भन्नाले ब्रह्मजिज्ञासु, ब्रह्मबेत्ता र ब्रह्मज्ञानीसँगको संगति मात्र होइन, सरल भावले ब्रहममा चित्त लगाउने र तदनुरुप, ज्ञानजिज्ञासा र कर्म गर्ने सदचरित्र भएको भगवत अनुरागी भागवत सँगको संगति पनि बुझ्नु पर्छ।

भगवत प्राप्ति (अनुभव) ले मानिसमा ब्रह्म अनुभव गर्दै शरणागत हुने भाव उत्पन्न हुन्छ। भगवत अनुराग (अथवा भक्ति) मुक्तिको कामना गर्नेहरुको स्वाभाविक मनोवृत्ति हो। शुकदेव हामीलाई त्यही बताउनु हुन्छ।

गोपीहरुको यस्तै भगवत अनुराग यस पछि चर्चा गरिने छ, उनीहरुको परिचय र उनीहरुको जगतको चर्चा सहित।  अस्तुः

लेखक डा. कृष्ण उपाध्यायले लन्डन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको छ। तीन दशक अधिक समयदेखि मानव अधिकारका विविध राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत उहाँका आफ्नो पेशागत क्षेत्र बाहेकका एक अंग्रेजी उपन्यास, दुई नेपाली कविता संग्रह पनि प्रकाशित छन्। आज भोलि उहाँ आध्यात्मिक स्वाध्याय र लेखनमा पनि हुनुहुन्छ। यहाँ प्रकाशित आलेखहरु उहाँको प्रकाशोन्मुख ‘भागवत चुडामणि’ नामक आध्यात्मिक ग्रन्थ बाट साभार गरिएको हो। उहाँका आलेखहरु पाक्षिक रुपमा प्रकाशित गरिने छ-सम्पादक ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू