आइतबार, जेठ ६, २०८१
00:19 | ०५:०४

अग्रगमनको बाटो: अब सुध्रिनुको विकल्प छैन

डा बच्चु कैलाश कैनी नोभेम्बर २१, २०२३

आज नेपालको समाचारतिर आँखा लगाउंदै थिएँ, ‘माओवादी कोटा खाली राखेर सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको सिफारिस’ भन्ने समाचारले मेरो ध्यान आकर्षित गर्‍यो।  न्यायालयमा पनि दलको कोटा ? स्वतन्त्र रुपमा न्याय सम्पादन गर्नुपर्ने न्यायलयमा दलीय भागबण्डा ! राज्य सत्ताको चरम दुरुपयोग गर्ने सन्दर्भमा नेपाली मुख्य राजनीति दलहरुले गर्ने अभ्यासको यो भन्दा घटिया अर्को प्रतिनिधिमुलक उदाहरण पाउन सायदै गाह्रो पर्ला।

सबैलाई थाहा भएको कुरा हो, यी र यस्तै धेरै कर्तुतहरुका कारण आज नेपालमा दुर्गा प्रसाईं प्रवृत्ति देखा परेको हो। कसैले यो कुरा मुख खोलेर बोल्छन्, कसैले मनमनै सोच्छन्। कोही झोले कार्यकर्ताहरु भने आफ्नो दलले गर्ने यस्तै हर्कतहरुको खुला रुपमा समर्थन गर्छन्।

उति बेला नेपालमा पञ्चायत कालमा वा राजाको सक्रिय शासन कालमा राजालाई लाग्ने धेरै आरोपहरु मध्ये देशमा मनपरी भयो, देश बर्वाद भयो, सुशासन कायम भएन, विकास र सम्वृद्धिको ढोका बन्द भयो, वाक स्वतन्त्रता हनन भयो जस्ता धेरै कुरा प्रमुख थिए। यस्तै कुरा देख्दै र भोग्दै आएका नेपाली जनताले नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहयोग गरे। फलस्वरूप नेपालमा २०४६ सालमा प्रजातन्त्र आयो।

यस्तै २०४६ सालमा प्रजातन्त्र आएपछि देशमा ब्याप्त अनेक विसंगति, बेथिती र विकृति अन्त्य हुने र देश नयाँ युगमा प्रवेश गर्ने धेरैलाई आशा  थियो। तर, त्यस्तो हुन सकेन। प्रजातन्त्र प्राप्तिपछि पनि देशमा भ्रष्टाचार झन् बढ्यो, दलका नेताहरु र उनीहरुका आफ्ना नातागोताको हालीमुहाली झन् बढ्यो, विकासले गति लिन सकेन, विदेशीने युवाहरुको संख्या झन् बढ्न थाल्यो, दुर्गम र पिछडिएका जनताको उत्थान हुन नसकेको आदि कारण देखाएर अर्को आन्दोलन भयो। फेरि पनि जनताले साथ दिए र देशमा लोकतन्त्र र गणतन्त्र आयो।

प्रजातन्त्र आएपछि टुसाएको जनताको आकांक्षा गणतन्त्रपछि झन् बढ्यो र फस्टायो। यो स्वभाविक पनि थियो। किनकि दशकौंसम्म पिछडिएको हाम्रो देश र समाजको उत्थान र हितका लागि नै राजनीतिक दल र तिनका नेताहरुले बलिदान दिएका हुन् भन्ने धेरैको बुझाई थियो। यसैको आधारमा विश्वास गर्ने थेरै ठाउँ पनि थियो।

यसैबीच प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म देशका सबै मुख्य दलहरुले देशको सत्ता सम्हाले।  तरपनि कुनै पनि दलले जनताले अपेक्षा गरे जस्तो आशातित परिणाम दिन सकेनन् । त्यति मात्रै हैन, जनताको आशाविपरित नेपालका मुख्य राजनीतिक दल र नेताहरु भने दलीय भागबण्डा, राजनीतिक र ब्यक्तिगत स्वार्थ, भ्रष्टाचार, नातावाद, कृपावाद आदिमा लिप्त हुन थाले। देशमा युवाहरु पलायन हुने अवस्था आयो। देशका हरेक सरकारी निकाय र संस्थाहरुमा राजनीतिक हस्तक्षेप हुन थाल्यो। हदै नाघेर न्यायालयमा समेत नेताहरुको भागबण्डा हुन थाल्यो र यो क्रम जारी छ। देशमा बेरोजगारी बढ्यो, शिक्षा र स्वास्थ्यमा ब्यापक व्यापारीकरण भयो, र अर्थतन्त्रमा नकारात्मक असर पर्यो। समाजमा नकारात्मक टिका टिप्पणीले प्रश्रय पायो।

यी सबै कुकृत्यको परिणाम आज देखा पर्दैछ। यो हिजै वा एक–दुई वर्ष देखिको कुशासनको परिणाम होइन। देशमा दशकौ देखिको कु–शासन, भ्रष्टाचार, ब्यक्तिगत स्वार्थ र कु–संस्कारको परिणाम हो। यसका लागि पञ्चायतकालदेखि हालसम्मका सक्रिय राजा, राजनीतिक दलका नेता र सत्ता सम्हाल्ने सबै जिम्मेवार छन्।

जनताले फरक फरक आम निर्वाचनमा दल फेरी फेरी कहिले एक दललाई कहिले अर्कै दललाई ठूलो दल बनाए र सबै प्रमुख दलहरुलाई सत्तामा पु¥याए। यो अर्थमा नेपालमा धेरै प्रयोगहरु भए। तर पनि जनताको कसीमा कुनै एक दल वा नेताले आफ्नो परीक्षा उत्तिर्ण गर्न सकेनन्।

अनि विसं. २०७९ सालको संसदीय निर्वाचनमा फेरी अर्को नयाँ दललाई मौका दिने किसिमले परीक्षण गर्दैछन्। त्यस्तै गरी गत वर्ष भएको स्थानीय निर्वाचनमा निकै थोरै भएपनि स्वतन्त्र उमेदवारहरुलाई पनि काम गर्ने अवसर दिएका छन्। राजनीतिक नेता र दल सच्चिएनन् भने जनताले विकल्प खोज्दैछन् भन्ने संकेत प्राप्त भइसकेको छ।

कुनै पनि समस्या विकल्परहित वा समाधानरहित हुन सक्दैन। एक नेताको विकल्प अर्को नेता हुन सक्छ। खराब नेताको विकल्प सुध्रिएको नेता हुन सक्छ। तर, राजनीतिको विकल्प राजनीति हो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। जसले जे सुकै भनेपनि अहिलेको खुला समाज र उदार युगमा लोकतन्त्ररहित समाजको कल्पना गर्न सकिंदैन।  त्यसैले लोकतन्त्र र प्राप्त उपलब्धिहरुको संरक्षण र सम्वर्धन गर्न सबै राजनीतिक दलहरु सुध्रिनुको अर्को विकल्प छैन।

दल र नेताहरु सुध्रिने सन्दर्भमा सबैले जानेको र बुझेको अति सामान्य कुरा हो। जे जे कमजोरीहरु समाज र जनताले औंलाएका छन्, ति कमजोरीहरु सुधार गर्नु र आफूले गरेका गल्तिहरु नदोहोरयाउनु। अर्थात, दलभित्र लोकतान्त्रिक प्रणालीको अवलम्बन गर्नु, दल र आफ्नाको नेता मात्रै हैन देशको नेता हुनु, आफ्ना वा हाम्रालाई हैन राम्रालाई देश चलाउन दिनु, ब्यक्तिगत स्वार्थ र आर्थिक लोभ त्याग्नु, सुशासन नारामा मात्रै हैन व्यवहारमा लागू गर्नु, देश विकासको लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउनु र लागु गर्नु, जनता र देशको लागि निःस्वार्थ काम गर्नु, श्रोत र साधनको अधिकतम परिचालन गर्नु आदि आदि।

यदि यस्तै भएमा असल नेताको विकल्पमा अर्को नेता खोज्नु पर्ने दिन आउने छैन। शासन प्रणाली र व्यवस्थाको विकल्प खोज्नुपर्ने छैन। जनताले अपेक्षा गरे बमोजिमको काम गर्ने हो भने जनताले पक्कै तिनै नेता र दललाई भरोसा गर्नेछन्। यस्तो अवस्थामा देश र समाज अग्रगमनको बाटोतिर लाग्नेछ।

यी कुरा भन्न जति सजिलो छ, हाम्रा नेता र राजनीतिक दलहरु सुध्रिन भने त्यति सजिलो छैन। एक पटक लागेको बानी सुधार गर्न निकै कठिन हुन्छ। तथापि सुधार गर्न नसकिने भने हैन। हामी जस्तो सोच्छौ, जे गर्छौ र जस्तो बानी बसाल्छौ, त्यस्तै मान्छे बन्छौ, त्यस्तै समाज र देश बनाउँछौ। आफू सुध्रिनको लागि आफ्नो सोचाई, गराई र बानी वा दैनिकीमा सुधार गर्नु परयो । आशा छ, नेपालका राजनीतिक दल र नेताहरुले छिट्टै पाठ सिक्ने छन्।  आफू र आफ्नो दलमा सुधार गर्नेछन्।  र, नेपाललाई छिट्टै सम्वृद्ध समाज र विकसित देशको रुपमा विश्वसामु परिचित गराउनेछन्।

(बेलायतमा लेबर पार्टीका सक्रिय सदस्य डा. कैनी बेलायतको डार्टफोर्ड काउन्सिलको पूर्व काउन्सिलर हुन्। उनी सन् २०१७ को आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उमेदवार थिए।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू