सोमबार, वैशाख २४, २०८१
21:55 | ०२:४०

बेलायतको नेपाली समुदायमा बढ्दै यौन अपराध

नेपाली लिङ्क अक्टोबर १७, २०२३

फाइल तस्बिर

लन्डन । बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसंग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ ।

स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउंदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत 
प्रकाशित गरेको छ ।

हयाम्पसायर कन्सटयाबुलरीको इन्टरनेट चाइल्ड अब्यूज टिम (आइक्याट) ले १८ वर्ष मुनिका बालबालिकाको अश्लील र अशोभनीय तस्विरहरु खिच्न, राख्न, वितरण गर्न वा यौन सम्बन्धि कुराकानी गर्नु बेलायतको कानून अनुसार गैर कानूनी भएको जनाउंदै यसो गरे जेल जानेमात्र होइन्, अन्य नराम्रो परिणाम ल्याउन सक्ने पनि उल्लेख गरेको छ ।

बेलायतमा पछिल्लो समय भूतपूर्व गोर्खाका सन्तान, विद्यार्थी तथा वर्क परमिटमा कामदार आउने क्रम अकासिएको छ । यहां नेपाली जनसंख्या बढेसंगै लागूऔषध र यौन अपराध सम्बन्धि घट्ना पनि बढेका छन् ।

हयाम्पसायर कन्सटयाबुलरीका पिसिएसओ दुर्गा थापाले रसमोरमा यौनजन्य अपराध बढेको बताउंदै यसबाट सचेत रहन नेपाली समुदायलाई अपिल गरे ।

‘विशेष गरि भर्खर नेपालबाट आएका युवा र अधवैंशेसमेत बालबालिका र इन्टरनेटसंग सम्बन्धित यौन अपराधमा संलग्न भएको पाइएको छ’, थापाले भने, ‘च्याटरुममा अश्लील कुराकानी गर्ने, भिडियो फोटो देखाउने, खिच्ने र बालबालिकालाई भेट्न बोलाउने जस्ता क्रियाकलापमा नेपाली संलग्न भइरहेका छन् ।’ थापाले यकीन तथ्यांक भने खुलाउन चाहेनन् ।

अज्ञानतावश गरेको पाइए पहिलोपटक सम्बन्धित व्यक्तिको मोबाइल, ल्यापटप वा आइप्याडमा रहेका अश्लील तस्विरहरु डिलिट गरिदिने र त्यो व्यक्तिलाई यसबारे शिक्षा दिइने थापाले बताए ।

‘प्रहरीले पहिलोपटक बेलायतको कानून र यसको परिणामबारे अवगत गराइ चेतावनी दिएर उसको जानकारी रेकर्डमा राख्छ’, थापाले भने, ‘तर पुनः दोहोरयाए प्रहरीले कडा एक्सन लिन्छ ।’

संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा १६ वर्ष उमेरमा आपसी सहमतिमा यौन सम्बन्ध राख्न कानूनी छुट छ । तर, यो उमेरमा अल्कोहल किन्न, जुवा खेल्न वा बाजी थाप्न र मतदान गर्न भने मिल्दैन ।

यूके (इंग्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड) को कानून अनुसार बालबालिकाको अश्लील तस्विरको पहुंचसंग सम्बन्धित चार मुख्य अपराध छन्, जसका लागि दण्डित गर्न सकिने प्रावधान छ ।

१८ वर्ष भन्दा कम उमेरका जो कोहीको यौन मुद्रा का तस्वीर (कागजी वा इलेक्ट्रोनिक प्रतिलिपि), राख्नु, त्यस्ता तस्विर च्याट रुम, इमेल, फोन एप्लिकेसन, टेक्स्ट, युएसबी स्टिक र फाइल सेयरिङ वेबसाइट (पियर–टु–पियर) मार्फत अरुलाई पठाउनु, कुनै नाबालकको यौन उत्तेजित पार्ने तस्वीरको इलेक्ट्रोनिक कपी बनाउनु र नाबालकको यौनिक तस्वीरहरू लिनु आदि यौन अपराध मानिन्छ ।

बेलायतमा बालबालिकाको यौन चित्र कोर्नु पनि गैरकानूनी छ । नाबालकलाई यौन क्रियाकलापमा संलग्न हुन उत्प्रेरित गर्नु समेत अपराध हो ।

बेलायतको नेपाली राजधानी मानिने रसमोर बरोको वेलिङटन काउन्सिलर जीव बेल्वासे आफ्नो ठाउंमा सकारात्मक नकारात्मक दुवै घट्ना बढेको बताउंछन् । ‘अल्डरसट, फार्नबरोमा धेरै नेपाली व्यवसाय बढेका छन् । नेपालीको दरो उपस्थिति छ । तर यही बेला आपराधिक क्रियाकलापका घट्ना पनि वृद्धि भइरहेको छ’, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका बेल्वासेले भने, ‘बालबालिका र इन्टरनेटसंग सम्बन्धित यौन अपराधहरु बढेको सुन्नमा आएको छ । हामी स्थानीय प्रहरीसंग समन्वय र सहकार्यमा दृढ छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू