शनिबार, साउन १२, २०८१
02:29 | ०७:१४

किरात राई यायोक्खा यूकेले मनायो यलम्बर दिवस

नेपाली लिङ्क अगस्ट २, २०२३

लण्डन । किरात राई यायोक्खा बेलायतले प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको यलम्बर स्मृति दिवस मनाएको छ ।

यायोक्खा संघीय परिषद सचिवालयले शनिबार किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विशेष समारोह आयोजना गरी यलम्बर स्मृति दिवस मनाएको हो ।

यलम्बरको स्मृतिमा प्रत्येक वर्ष निरन्तर रुपमा ‘यलम्बर स्मृति दिवस’ मनाउँदै आइरहेको स्मृति दिवस संयोजक तथा उपाध्यक्ष रि. मे. दिलकुमार राईले बताए ।

वर्तमान नेपालकै आकारको भूगोलमा फैलिएको त्यो प्राचीन देशको शासन तथा प्रशासन प्रणालीले वर्तमान आधुनिक नेपालको शासन प्रणालीमा समेत टेवा पुर्याई राखेको पनि संयोजक राईले उल्लेख गरे ।

यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई थिए ।

अतिथिहरुमा गैरआवासीय नेपाली संघ बेलायतका आइसीसी सदस्य तथा पूर्व काउन्सिलर प्रवेश केसी, किरात राई यायोक्खा नेपालको पूर्व उपमहासचिव सुवासचन्द्र राई, किरात साम्पाङ राई जुम्लेखा यूके अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूके अध्यक्ष ध्यानबहादुर राई, किराया बेलायत स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, किरात राई तायामा खियामा महिला समितिको अध्यक्ष रोजी राई, गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ, किराया बेलायतको नाक्छुङ किताबशेर राई आदि अतिथिहरुको उपस्थिति थियो ।

किरात राई जातिको हितमा निरन्तर काम गर्दै उत्कृष्ट योगदान पुर्याउंदै आएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष किरात राई यायोक्खा बेलायतले कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल कीर्तिमानी आरोही हरि बुढा मगरलाई पनि सम्मान गरेको थियो ।

यसैगरी समुदायमा पुर्याएको योगदानको उच्च कदर गर्दै थाम बहादुर राईलाई पनि फेटा र सम्मान पत्र प्रदान गरिएको थियो । यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि. क्या. सुमनचन्द्र राईले गरेका थिए ।

यस प्रतियोगिताको साविक विजेता देवीकुमार राईलाई नै यस वर्षको धनुषवाण प्रतियोगिताको विजयी अर्थात ‘यलम्बर अफ द ईयर’ घोषित गरिएको थियो ।

उक्त कार्यक्रममा कलाकार ‘फुलेन्देको आमा’ उमेश राईको विशेष हाँस्य प्रस्तुति थियो । गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए ।

यलम्बर स्मृति दिवस कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन किराया बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरले गरेको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू