शनिबार, साउन १२, २०८१
10:12 | १४:५७

लन्डनमा नेपाली इन्जिनियरहरुले गरे दीगो विकास सम्मेलन

नेपाली लिङ्क जुलाइ १३, २०२३

लन्डन । दि सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोनेयूके) ले ८ जुलाई शनिबार एक सम्मेलन गरेको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनको सहकार्यमा ‘वातावरणका लागि इन्जिनियरिङ’ विषयक सम्मेलन भएको हो जुन संस्थाको आठौं संस्करण थियो ।

लन्डनमा आयोजित उक्त सम्मेलनमा बेलायतस्थित ६५ जना नेपाली इन्जिनियरसहित नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरिबहादुर दर्लामी, महासचिव रविभूषण झा, सोसाइटी अफ नेपलिज प्रोफेशनल यूके एवं बेक्सलीहिथ नेपलिज कम्युनिटीका प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनमा ६ वटा प्राविधिक कार्यपत्र प्रस्तुत गरिए ।

प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सम्मेलन उद्घाटन गर्दै यसले ज्ञान, प्रविधि हस्तान्तरण र विचार आदारप्रदानमार्फत नेपालको विकासमा महत्वपूर्ण टेवा पुग्ने धारणा राखे ।

राजदूत आचार्यले संस्थाले बेलायत र विश्वमै रहेका नेपाली इन्जिनियरहरुलाई जोड्न प्रयत्न गरेको भन्दै प्रशंसा समेत गरे । सोनेयूके अध्यक्ष रुद्र कोइरालाले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै उद्घाटन सत्र समापन गरेका थिए ।

सोसाइटीका महासचिव डा. रविचन्द्र कोइरालाले स्वागत मन्तव्य दिएका थिए । दोश्रो र तेश्रो प्राविधिक सत्रमा नेपाल र बेलायतका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरे ।

डा. दर्लामीले काठमाडौं उपत्यकामा विद्युतीय गतिशीलता, यातायात क्षेत्रमा ऊर्जा खपत, उत्सर्जन र नेपालमा कार्बनसम्बन्धित नीतिहरूको कार्यान्वयन पक्ष केन्द्रित वक्तव्य दिए ।

सम्मेलनमा प्रस्तुत गरिएका ६ वटा कार्यपत्रमा काठमाडौंमा पैदल यात्रु क्रसिङ सुविधा वृद्धि, वायु प्रदूषण र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न निर्माण उद्योगमा विद्युतीय उपकरण अवलम्बन गर्दा हुने फाइदा, नेपालमा बायोमास ऊर्जाको भविष्य, कार्यान्वयनका चुनौतीहरूलगायत विविध विषय उल्लेख थियो ।

नेपालको निर्माण उद्योगमा बिल्डिङ इन्फर्मेशन मोडलिङ प्रविधि र नेपालको सिँचाइ नहर र नदीहरूमा जलविद्युत उत्पादनका लागि आर्किमिडीज स्क्रू टर्वाइनको खांचो पनि कार्यपत्रले औंल्याएका थिए ।

सोनेयूकेका उपाध्यक्ष एवं सम्मेलन संयोजक हरि नेपालले विश्वभरका इन्जिनियर र शिक्षाविद्हरूबीच विचार र अनुभव आदानप्रदान सहजीकरण गरी व्यावसायिक इन्जिनियरिङ विकासलाई प्रवर्धन गर्न सम्मेलनको निरन्तरतामा जोड दिए । उनले दिगो विकासको भविष्यलाई आकार दिन इन्जिनियरिङ र प्रविधिको महत्वपूर्ण भूमिकामा जोड दिँदै आयोजनाको योजना र डिजाइनदेखि कार्यान्वयनसम्म विभिन्न उद्योग र स्केलहरूमा इन्जिनियरहरूको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

सम्मेलनका प्रत्येक कार्यपत्रको प्रस्तुति पछि प्रश्नोत्तर राखिएको थियो ।

सम्मेलनका सहभागीहरूले नेपालको दिगो विकास एजेन्डालाई आकार दिन अनुसन्धान निष्कर्षको महत्व स्वीकार गर्दै आफ्ना जिज्ञासा राखेका थिए।

उक्त सम्मेलनका सहभागीले कार्यक्रम ज्ञान र विचार आदानप्रदान एवं प्रविधि जागरुकतामा फलदायी भएको बताएका छन् । सम्मेलनमा विज्ञहरुले व्यक्त गरेको धारणा दीगो विकासका लागि कोशेढुंगा भएको आयोजकको बुझाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू