मंगलबार, चैत ६, २०८०
02:30 | ०८:१५

बेलायतमा आपतकालीन ‘फोन अलर्ट’ प्रणाली सुरु गर्ने तयारी

नेपाली लिङ्क मार्च २२, २०२३

लन्डन–बेलायत सरकारले आपतकालीन अवस्थामा मोबाइलमार्फत चेतावनी सन्देश प्रवाह गर्ने प्रणाली सुरु गर्ने भएको छ ।

आगामी अप्रिल २३ तारिख साँझ परीक्षण गरि यसलाई लागू गरिनेछ । उक्त प्रणालीको सफल परीक्षण भइसकेको छ ।

प्रणालीले बाढीपहिरो, आगलागी जस्ता मानवीय सुरक्षामा खतरा हुने आपतकालीन अवस्थामा सम्बन्धित क्षेत्रका मानिसलाई मोबाइल अलर्ट म्यासेज पठाउनेछ ।

निशुल्क रुपमा उपलब्ध हुने उक्त सेवाका लागि फोर–जी वा फायब–जी नेटवर्क हुनुपर्ने छ । टु–जी वा थ्री–जी नेटवर्कमा भने उक्त सेवा उपलब्ध नहुने बताइएको छ ।

आइओएस् १४.५ र एन्ड्रोइड ११ वा सो भन्दा माथिका फोनमा मात्र सन्देश प्रवाह हुनेछन् ।   आफ्नो फोनमा पुराना तथा तत्काल प्राप्त भएका अलर्ट सन्देशहरु हेर्न सकिनेछ ।

एरोप्लेन तथा वाइफाई मात्र मोडमा राखिएको छ भने सो म्यासेज प्राप्त हुने छैन् । फोन वा ट्याब्लेट साइलेन्स भएको अवस्थामा पनि भाइब्रेसन् तथा ठूलो आवाजमा साइरनसहितको अलर्ट म्यासेज प्राप्त हुनेछ, जुन बढीमा १० सेकेन्डसम्म बज्नेछ  ।

म्यासेज प्राप्त भएपछि त्यसलाई स्वीकार गरेपछि मात्र फोन नम्बर वेबसाइटलगायत अन्य सुविधाहरुको बारेमा जानकारी प्राप्त हुनेछ ।

म्यासेज प्राप्त भएपछि तत्कालै आफूले गर्दै गरेको काम छोडेर तोकिएको अनुरोधको पालना गर्नुपर्नेछ  । अत्यावश्यक र आपतकालीन अवस्थामा मात्र यस्ता अलर्ट सन्देश पठाइनेछ ।

अमेरिकालगायतका मुलुकमा यस प्रविधिबाट आपतकालीन घडीमा मानिसको जीवन रक्षा गर्न प्रभावकारी देखिएको हुँदा बेलायतमा पनि यस किसिमको प्रविधिले थप सुरक्षाको प्रत्याभूति हुनसक्ने अधिकारीहरुले बताएका छन् । यो प्रविधिको सुरुवात नगरेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो  ।

यसबाट कसैको व्यक्तिगत सुरक्षामा असर नपुग्ने तथा डेटा संकलन नगरिने पनि सरकारले बताएको छ । यदि कसैले यस्ता आपतकालीन सन्देश प्राप्त गर्न नचाहेको खण्डमा आफ्नो फोनको सेटिङमा गएर नियन्त्रण गर्न सक्नेछन् ।

यसलाई लागू हुनुअघि इष्ट सफोक र रेडिङ क्षेत्रमा परीक्षण भएको थियो । उक्त परीक्षणपछि गरिएको एक सर्वेक्षणअनुसार ८८ प्रतिशतले भविष्यमा यस्तो खालको आपतकालीन अलर्ट सन्देश प्राप्त गर्न चाहेको बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू