शनिबार, वैशाख ८, २०८१
19:53 | ००:३८

पोखरा दुर्घटनामा समवेदना दिन लन्डन ग्रीनवीच बरोमा शोक पुस्तिका

नेपाली लिङ्क जनवरी १८, २०२३

ग्रीनवीच बरोका मेयर लियो फ्लेचर, काउन्सिल लिडर एन्थोनी ओकेरेटी, चिफ एक्जिक्युटिभ डेबी वारेन र काउन्सिलर जीत रानाभाट।

लन्डन- तीन दिनअघि पोखरामा भएको त्रासदीपूर्ण विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न लन्डनको ग्रीनवीच रोयल बरोमा शोक पुस्तिका राखिएको छ।

बरोका नेपाली मूलका काउन्सिलर जीत रानाभाटको पहलमा बुधबार वुल्लीच टाउन हलस्थित बरो कार्यालयमा शोक पुस्तिका राखिएको हो।  

ग्रीनवीच बरोका मेयर लियो फ्लेचर, काउन्सिल लिडर एन्थोनी ओकेरेटी, चिफ एक्जिक्युटिभ डेबी वारेन, काउन्सिलर जीत रानाभाट लगायतका बरो पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गरी दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पुस्तिका आगामी केही सातासम्म खुला राखिनेछ। उक्त अवधिमा सर्वसाधारणले पनि वुल्लीच टाउन हल पुगेर पुस्तिकामा हस्ताक्षर गर्न सक्नेछन्।

काउन्सिलर जीत रानाभाट।

काउन्सिलर रानाभाटले आगामी साता बरोका तर्फबाट एक श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गर्ने तयारी रहेको जनाएका छन् ।

नेपालमा भएको दु:खद विमान दुर्घटनाका सबै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न र शोकमा डुबेका मृतकका परिवार र सम्पूर्ण नेपालीहरुप्रति समवेदना व्यक्त गर्न बरो कार्यालयमा  शोक पुस्तिका राखिएको काउन्सिलर रानाभाटले बताए।

उल्लेख्य नेपालीहरुको समेत बसोबास रहेको ग्रीनवीच बरोले नेपाल र नेपालीहरुप्रति दु:खको बेला सहानुभूति व्यक्त गर्नु सान्दर्भिक रहने उनको भनाइ छ।

आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू