शनिबार, माघ १४, २०७९
03:49 | ०९:३४

बेलायत टेक्न विद्यार्थी भिसा, आइपुगेपछि वर्क परमिट

नेपाली लिङ्क डिसेम्बर १८, २०२२

लन्डन । युनिभर्सिटी अफ वेष्ट लन्डनमा इन्टरनेशनल टुरिजम एण्ड एभिएसन म्यानेजमेन्टमा मास्टर्स गर्न गत सेप्टेम्बर इन्टेकमा लन्डन उत्रिए कल्पित (नाम परिवर्तन) ।

वार्षिक फि १४ हजार ७ सय ५० पाउण्ड (झण्डै २२ लाख रुपैयां) मध्ये आधा तिरेर यहां आएका उनी तीन महिनामै पढाइ छाड्ने मनस्थितिमा छन् ।

‘युनीलाई बुझाउनुपर्ने बांकी फिमा अलिकति थपेर एजेन्टलाई बुझाए वर्क परमिट नै पाइने रहेछ, ति विद्यार्थीले सुनाए- ‘पढाइमै अल्झिए त्यो झन्झटिलो र खर्चिलो हुने भएकाले पनि मन परिवर्तन गरें ।’

उता, बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा बीए (अनर्स) बिजनेश एण्ड म्यानेजमेन्ट पढ्न साढे तीन वर्षको भिसा लिएर गत जनवरीमा बेलायत आएका थिए रोशन सापकोटा । तीन वर्षको कोर्स, वार्षिक ९ हजार २ सय ५० पाउण्ड शुल्क । पहिलो वर्षको फि नेपालबाटै तिरेर यहां आएका उनले पनि पढाइलाई निरन्तरता दिएनन् ।

पहिलो कारण, पढाइ सकुन्जेल थप झण्डै तीस लाख रुपैयां लाग्ने हुंदा उनलाई त्यो पैसा जुटाउन सहज छैन् । अर्को, कोर्स उत्तिर्ण गर्छु भन्ने आत्मविश्वास पनि उमा झिनो छ ।

द्विविधा र सास्तीबीच उनले विद्यार्थी भिसाबाट वर्क परमिट स्वीच गर्ने निधो गरेर १० हजार पाउण्ड एउटा बंगाली साहुको रेष्टुरेन्टलाई बुझाएका छन् । ‘सर्टिफिकेट अफ स्पोन्सरसीप’ को प्रतिक्षामा रहेका उनी छिट्टै स्किल्ड वर्कर भिसाका लागि आवेदन दिने तयारी गरिरहेको उनले बताए ।

बेलायत टेक्न विद्यार्थी भिसा अनि यहाँ आइपुगेपछि वर्क परमिट । पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनका लागि बेलायत आएर स्किल्ड वर्कर भिसा सिस्टममा जाने क्रम बढेको छ ।

पढाइ बीचमै छोडेर विद्यार्थीहरु खासगरि केयर र हस्पिटालिटी क्षेत्रमा वर्क परमिट भिसातर्फ आकर्षित हुन थालेका हुन् ।

यो प्रवृत्ति नेपाली विद्यार्थीमाझ पनि वृद्धि भएको छ । कम्तीमा १० देखि १५ हजार पाउण्ड (करिब २० लाख रुपैयां) तिरेर विद्यार्थी वर्क परमिट (टियर टु) क्याटेगोरीमा स्वीच भइरहेका छन् उनीहरु ।

अध्ययनभन्दा कमाउन र बेलायतमै ‘सेटल्ड’ हुन इच्छुक नेपालीले एक वर्षको विश्वविद्यालय फि खर्च गरे ५ वर्षको वर्क परमिट किन्न पाइने भएकाले पनि भिजा परिवर्तन गर्न प्रेरित भएका देखिन्छ ।

सरकारको यो लचिलो नयां प्रणालीले नेपाली विद्यार्थी, व्यवसायी, एजेन्ट र दक्षिण एसियालीमूलका व्यापारीका साथै सोलिसिटरहरु समेत लाभान्वित भएका छन् ।

पहिलो, होम अफिसबाट मान्यता प्राप्त रोजगारदाताले जागिर अफर गरे विद्यार्थी रुटबाट बिना डिग्री सजिलै स्टाटस परिवर्तन गर्न सकिन्छ । दोश्रो, अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाइमै रहे महंगो फि खर्च र कोर्ष पनि उत्तिर्ण गर्नुपर्ने झण्झट छ । त्यसकारण सेटलमेन्ट छिटो हुने वर्क परमिट रुटतर्फ लालयित छन् विद्यार्थी ।

भिजिट भिसा, सिजनल भिसा र छोटो अवधिको अध्ययन भिसा भएकाले भने स्किल्ड वर्कर रुटमा जान मिल्दैन ।

बेलायतको सरकारी तथ्यांक अनुसार, सेप्टेम्बर २०२१ देखि सेप्टेम्बर २०२२ को बीचमा झन्डै २ लाख ४९ हजार जनाले वर्क भिसा पाएका छन् । सन् २०१९ को कोभिड महामारीको तुलनामा यो ८२ प्रतिशतले बढी हो ।

बेलायत सरकारले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्रयाउने उद्देश्यसहित गत बर्ष जनवरी १, २०२१ देखि अंकमा आधारित नयां भिसा प्रणाली शुरु गरेको थियो ।

‘स्किल्ड वर्कर भिसा’ का लागि रोजगारदाताबाट जागिरको अफर, न्यून तहको अंग्रेजी र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड चाहिन्छ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलव कम्तीमा २५ हजार ६ सय हुंदा २० अंक प्राप्त गर्न सक्नेछन् । भिसा अवधि ५ वर्षसम्म हुनेछ ।

बेलायतले सामान्य, प्रभावकारी र लचिलो उक्त प्रणालीले रोजगारदातालाई आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने अपेक्षासहित यो रुट लागू गरेको हो । नयाँ नियमका कारण तेस्रो मुलुकबाट सिधै वर्क परमिटमा आउन वा विद्यार्थी भिसामा बेलायतमै आएपछि रुट परिवर्तन गर्न सहज बनेको कानूनविद महेशकुमार दाहाल बताउंछन् ।

बेलायत ईयू सदस्य हुंदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो । तर, अहिले युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू छ । कामदार अभाव पुरा गर्न पनि सरकारले यसमा लचिलो नीति ल्याएको अध्यागमन सल्लाहकारहरुको बुझाइ छ ।

ब्रेक्जिटसंगै युरोपबाट बेलायत खुल्ला आवागमन बन्द भएपछि गैर ईयू मुलुकबाट काम गर्न र पढ्न आउने मानिसहरुको संख्या बढ्ने अनुमान गरिएको छ ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक एवं ब्यारिस्टर प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) बेलायतमा प्रतिष्पर्धा र गुणात्मक क्षमताको भरमा सबैले प्रगति गर्न सक्ने वातावरण भएकाले पनि यहाँ विश्वभरका मानिसको रोजाइ भएको बताउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू