बिहीबार, चैत १५, २०८०
15:27 | २१:१२

तेश्रो चरणको गोर्खा वार्ता १५ र १६ डिसेम्बर बिहान बेलायती रक्षा मन्त्रालयमा

नेपाली लिङ्क डिसेम्बर ७, २०२२

दोश्रो चरणको प्राविधिक वार्ताको झलक

लन्डन । बेलायत र नेपाल सरकार (जीटुजी) तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरु सम्मिलित तेश्रो चरणको वार्ता आउंदो १५ र १६ डिसेम्बरका दिन हुने भएको छ ।

बेलायती रक्षामन्त्रालयका तर्फबाट संयोजक तथा इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसनले १५ डिसेम्बर बिहान १० बजे वेलफेयर र १६ डिसेम्बर बिहान १० बजे पेन्सन सवालमा छलफलका लागि प्रस्ताव गरेका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल रत्न गोदारले वार्ताबारे बुधबार जानकारी दिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।

तेश्रो चरणको वार्ता दोश्रो जस्तै प्राविधिक तहमा हुने पनि प्रमुख संयोजक राईले बताए ।

‘वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको छ । के के प्राप्ति हुन्छ अहिले नै भन्न नसकिएपनि मार्चभित्र उपलब्धिमूलक वार्ता हुनेमा हामी आशावादी छौं’, राईले नेपालीलिंकसंग भने ।

यसअघि गत ३० नोभेम्बर बुधबार लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा प्रतिनिधि समेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच प्राविधिक तहमा वार्ता भएको थियो । उक्त वार्तामा पहिलोपटक पेन्सन विषयमा गहन छलफल भएको थियो ।

गत ३ नोभेम्बरमा मन्त्रिस्तरिय पहिलो वार्तापछि त्यसैको निरन्तरता स्वरुप चरणवद्ध वार्ता अगाडि बढेको हो ।

भूतपूर्व गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्य लगायत एजेण्डामा वार्ता केन्द्रित छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू