शुक्रबार, चैत १६, २०८०
06:26 | १२:११

प्लमस्टिडमा सीता-राम विवाह तयारी, प्रथम नेपाली रामचरितमानस वाचिकाले प्रवचन दिने

नेपाली लिङ्क नोभेम्बर २४, २०२२

लन्डन। साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित राधाकृष्ण मन्दिरमा विवाह पञ्चमीको पूर्वसन्ध्यामा सीता- राम विवाहको तयारी गरिएको छ।  

हिमालयन सिद्धमहयोग परिवार यूके युरोपको आयोजनामा आउंदो आइतबार दिउँसो विविध धार्मिक कार्यक्रमसहित सीता-राम विवाह गराउन लागिएको हो।

कार्यक्रममा सीताराम झाँकी तथा लीला प्रदर्शनी, भजन किर्तन लगायत कार्यक्रम पनि रहने आयोजकले जनाएका छन्। 

उक्त अवसरमा नेपालकै पहिलो ‘रामचरितमानस’ वाचिका चन्द्रकला सखीले विशेष प्रवचन दिने भएकी छन्।

ब्यासगद्दी समेत प्राप्त गरिसकेकी, प्रथम नेपाली महिला रामचरितमानस वाचिका तथा श्री जगतगुरु महायोगी सिद्धबाबाकी कृपापात्र एवम् आन्जेनिया युवा क्लबकी वर्तमान  अध्यक्ष रहेकी बहुमुखी युवा प्रतिभा कार्यक्रमको प्रमुख आकर्षण रहने आयोजक समूहकी एक सदस्य सुनिता थापा गौतमले बताइन्।  

बेलायतका लागि नेपाली राजदूत, स्थानीय ग्रीनवीच बरोका मेयरसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई पनि कार्यक्रमको अतिथिका रुपमा निम्त्याइएको छ।  

कार्यक्रममा सहभागिताका लागि आयोजकले ईच्छुक बेलायतवासी सबै नेपालीलाई आव्हान गरेका छन्।

प्लमस्टिडको ब्यानकबर्न रोडस्थित राधाकृष्ण मन्दिरमा हुने कार्यक्रम दिउँसो साढे दुईदेखि साढे छ बजेसम्म सञ्चालन हुनेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू