शुक्रबार, जेठ ४, २०८१
12:46 | १७:३१

ब्रिटिश सरकार गोर्खा मुद्दामा वार्ता गर्न तयार, पहिलो वार्ता ३ नोभेम्बरमा

नेपाली लिङ्क अक्टोबर १५, २०२२

फाइल तस्बिर

लन्डन । भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ताले गति लिने भएको छ ।

बेलायत सरकारका प्रतिनिधि आउंदो ३ नोभेम्बरदेखि वार्ता शुरु गर्न राजी भएको जानकारी लन्डनस्थित नेपाली दूतावासले गोर्खाहरुलाई दिएको हो ।

नोभेम्बर ३ तारिख बिहान ११.३० बजे रक्षा मन्त्रालय (एमओडी) अफिसमा वार्ता हुने भूतपूर्व गोर्खाहरुका तर्फबाट प्रवक्ता तथा मध्यस्तकर्ता मेजर रि. जुदबहादुर गुरुङले जनाए ।

उनले पहिलो वार्तामा आमरण अनसन बस्ने पुष्पा राना घले र धनबहादुर गुरुङ पनि साक्षीका रुपमा बस्ने बताए ।

‘पहिलो वार्तामा भूतपूर्व गोर्खाहरुका एजेण्डाबारे छलफल हुनेछ’, उनले नेपाली लिंकसंग भने । राजदूत ज्ञानचन्द्र आचार्य र दूतावासकी उपनियोग प्रमुख रोशन खनालसंग एजेण्डाबारे तीनघण्टा छलफल भएको थियो ।

उक्त बैठकले ब्रिटिश पक्ष कति गम्भीर छ थाहा हुने पनि मध्यस्तकर्ता गुरुङले बताए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ता प्रक्रिया शुरु हुन लागेको खवर सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । राईले राजदूत ज्ञानचन्द्र आचार्यले आफूलाई अक्टोबरसम्म मिति तय हुने आश्वासन दिएको र त्यो पुरा भएको भन्दै राजदूतप्रति आभार पनि व्यक्त गरे । तर, अनेक वहानामा वार्ता प्रक्रिया ढिलो वा विषयान्तर गरिए भूतपूर्वहरु अल्टिमेटम नदिइ संघर्षमा उत्रने वाध्य हुने चेतावनी प्रमुख संयोजक राईले दिए ।

रिले अनसन हुंदै १३ दिनको भोक हड्ताल बसेपछि गत १९ अगष्ट २०२१ बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिवद्धता व्यक्त गरेको थियो ।

यद्यपि गत वर्ष राजदूत परिवर्तन, त्यसपछि युक्रेन रुस युद्ध, महारानीको निधन, बेलायतमा सरकार परिवर्तन आदि कारण देखाउंदै भूतपूर्व गोर्खा वार्तामा विलम्ब भइरहेको थियो । ढिलाइका कारण गोर्खाहरु सशंकित थिए । नेपाल सरकारले पर्याप्त चासो नदेखाएको 
आरोप गोर्खाहरुको छ ।

भूतपूर्व गोर्खाहरुले गत २२ मार्च २०१८ मा दुवै सरकारका प्रतिनिधिबीच चरणवद्ध वार्ता गरेर बुझाइएको प्राविधिक रिपोर्टकै माग पुरा हुनुपर्ने अडान लिएका छन् ।

८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री वेन वालेस र भेट्रान मिनिस्टर लियो डोकर्टीसंग वार्ता हुंदा मन्त्री वालेसले टेक्निकल रिपोर्टमात्र होइन, बांकी अरु पनि माग छन् भने पनि ल्याउनुस् ताकि फेरि आन्दोलन नहोस् भनेपछि सोही अनुरुप अर्को रिपोर्ट पनि पठाइएको प्रमुख संयोजक राईले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू