मंगलबार, जेठ ३, २०७९
20:17 | ०१:०२

युक्रेनको युद्ध र महंगीको मारमा बेलायती जनता

प्रकाश केसी अप्रिल १३, २०२२

पूर्वतिरबाट बिहानै हतारिएर उदाउने सूर्यमा शरीरलाई सर्लक्कै तताउन सक्ने क्षमता यो सालको अप्रिल महिनाको मध्यताका पनि आएको छैन् । तर पनि लन्डनको बेडफोन्ट लेकको माथिल्लो भागमा भएको भ्यू पोइन्टमा राखिएको बेन्चमा बसेर एकजना बूढो कुइरे मस्तसँग घामको मज्जा लिइरहेको थियो । गोह्रो छालालाई घामको सुकुमार तापले बिस्तारै रत्याउँदै गरेको जसरी रापिएको लाग्ने अनुहारलाई पूर्वतिर पारेर आँखा चिम्लिएको उसलाई त्यतै छाडेर उसको पछाडि रहेको थुम्कोमा बसी म पनि उही घामको मज्जा लिँदै सोँच्न थाल्दछु, लम्पसार परेर पसारिएको पश्चिमी लण्डनको शान्त परिसरतर्फ आँखाहरुलाई फैलाउँदै ।

परपरसम्म अझै हिउँदे अवयवहरु यथावत देखिन्छन् । सिरेटो विस्तारै घामको मन्द तापमा बाफिँदै आकासिँदै गरेको झलक्कै देखिन्छ । लन्डनका पुराना घरका धुरीहरुबाट ब्वाइलरका धूँवाहरु चुलिएर आकासिएका देखिन्छन् । यताका यस्ता दृश्यहरुले नेपाली हिउँदे परिवेशको झझल्को दिन पटक्कै सक्दैनन् । तातिएर खल्तीभित्रै थन्किएका हातलाई बाहिर निकाल्न वाध्य भइयो, चेरीलाई काममा छोडेर बिहानै सिधा यो डाँडामा आएको थिएँ, उसको फोन आयो ‘म कता पुगेँ भनेर जान्न खोजेकी रहिछन्, जसले गर्दा उक्त घामको मस्त ताप लिइरहेको कुइरेले फर्केर मतिर हेरयो, मैले डिस्टर्ब गरेकोमा क्षमा मागेँ, उसले क्षमा दान गरयो र मौसम साह्रै खुलेकोमा रमाइलो भएको भन्यो, मैले सहमति जनाएँ, ऊ कुरा गर्ने मुडमा देखियो र म उतिर गएँ ।

घाम लागेको दिन, बेलायतमा कुराको थालनी मौसमकै विषयलाई लिएर शुरु हुन्छ । ‘भनिन्छ, कसैसँग केही काम लिनु छ या केही माग्नु छ भने राम्रो खुलेको दिन अर्थात् घाम लागेको दिन रोज्नुपर्दछ । त्यो पाइने वा सफल हुने सम्भावना धेरै हुन्छ अन्य दिनहरुको तुलनामा । ‘यो भेगबाट देखिने परसम्मको दृश्यहरु पचास साठी वर्षदेखि जस्ताको त्यस्तै छन् । यता समयहरु सर्सर्ती हेर्दा बिस्तारै चलेको लाग्दछ तर जीवन अनि जिउने शैलीमा भने व्यापक परिवर्तन भएको छ । स्टिभ रहेछन् ७२ वर्षका, कार्पेन्टर रहेछन् । दुईतीन वर्षबाट अवकासप्राप्त जीवन बाँचिरहेका रहेछन् । अनुभवले गमदार बनाएको मुहारमा उनै अनुभवद्वारा अनुभूतिशील हुने क्रममा चिथोरिएका आभाहरु भरिएको लाग्ने गरी बुझक्की लाग्दथे । मलाई पनि बिस्तारै मिडल एज्ड क्राइसिसले छोएको छ कि क्या हो, यस्तै संगतमा रमाउन पो थालेको छु । उसको नजिकै चाखपूर्ण उपस्थिति जनाउँदै बस्छु त्यसपछि ।

‘घरमा बसेर बुढ्यौलिएको शरीरलाई तताउनै महंगो पर्ने भयो, यतै बसेर शरीरलाई तताउँ भनेको घाममा ज्यादा ताप नै छैन्’, फिस्स हाँस्दै भन्यो स्टिभले, म उसको हाँसोमा केही पीडाजस्तो पन घोलिएको महशुस गर्दै थिएं । अवकासप्राप्त खासगरी बेलायती स्थानीयहरुलाई तिनको आम यापनका बुढ्यौली भत्ताले नपुग्दो रहेछ । मेरै छिमेकी स्यामुयलले एकपटक टेस्कोबाट मैले तरकारीको लागि कुरिलो किनेर ल्याउँदा उसले भनेको अझै याद आउँछ ‘ती निक्कै महंगो हुन्छ, जुग बितेको छ मैले त्यो नखाएको ।’ स्टिभ शरीरलाई तताउन घाममा पारिलो न्यानो खोज्दै हुन्छ भने भर्खरै समाचारमा पनि कुनै बूढोले भनेको थियो, ग्याँस तथा बिजुलीको बढेको मुल्यको सन्दर्भमा ‘म दिनभरि सार्वजनिक बसमा घुमेर हिँड्छु, घरमा हिटर लगाएर बस्न नसकिने भयो अब ।’ (अवकासप्राप्त व्यक्तिहरुलाई बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन)

यही महिनाको शुरुबाट बिजुली तथा ग्याँसमा ५४ प्रतिशत, नेसनल इन्सुरेन्समा १.२५ प्रतिशत, पेट्रोल तथा डिजेलमा लगभग ५ प्रतिशतलगायत ब्रेड, अण्डा, बस तथा रेलको भाडा, एअरपोर्ट शुल्क, बैंक इन्ट्रेस्ट रेट, काउन्सिल ट्याक्स, इन्टरनेट आदि विविध सेवा तथा साधनहरुमा यही एकैचोटि मूल्य वृद्धि भएको छ । ६.१ प्रतिशतले यो मुद्रास्फिति भइरहेको बेलायतमा आम कामदारको तलव न्यूनतम ज्याला दर ४.८ प्रतिशतले बढे तापनि कति कम्पनीहरुले तदनुरुप कामदारको ज्याला अझै बढाएको छैनन् । आम जीवनयापनमा पाउण्डको क्रयशक्ति घटेको छ । यस्तो लाग्छ, बेलायतमा आम मानिसहरु जिइरहेका होइनन्, बाँचिरहेका छन्, श्वास धानिरहेका छन् ।

बेलायतमा कन्जर्भेटिभको सरकार आएदेखि सरकारी तर्फबाट बेलायती जनताहरुले विभिन्न विषयमा पाइरहेका आर्थिक कयौं सुविधाहरु कटौती भएका छन् भने बिस्तारै मूल्यवृद्धि पनि सोही अनुपातमै भइरहेका छन् । विपक्षहरुले खासगरी यही विषयमा कन्जर्भेटिभ पार्टीको विरोध गर्ने गर्दछन् । विविध सुविधाहरुमा कटौती गरेको भए तापनि कन्जर्भेटिभ पार्टी सन् २०१० देखि सरकारमा आएदेखि हरेक वर्ष डेफिसिट अर्थात् वार्षिक घाटा व्यहोरिरहेको छ ।

सन् २०१० देखि सन् २०२१ सम्म प्रकाशित कन्जर्भेटिभ बजेटहरुमा पूरा हिसाव राख्ने हो भने यो पार्टी सरकारमा जाँदा १,४४४ बिलियन पाउण्डको डेफिसिट भएको छ । हुन त कन्जर्भेटिभको सरकार भएकै पालामा कोभिड महामारी, अफगानी शरणार्थी स्थायीकरण, युक्रेन रसिया युद्ध आदिका कारण सरकारले बढी खर्च गर्नु परेको अवस्थालाई छुट्टै राखे पनि कुनै एक वर्ष छैन जहाँ देशको आर्थिक वर्ष घाटामा गएको नहोस् । लेबरको सरकार भएको बेला उनै गोर्डन ब्राउन (जो तत्कालीन चान्सलर थिए) को कार्यकाल (सन् १९९९, २०००) मा बाहेक अरु वर्षहरुमा सरकारले घाटा नब्यहोरेको होइन, तर कन्जर्भेटिभहरुको जत्तिकाले धेरै पनि होइन । एउटा तथ्यांकचाहिँ बिर्सिनु हुँदैन, तथाकथित कटौतीलगायत अन्य पक्षहरुमा भएको आर्थिक वृद्धिले गर्दा देशको वार्षिक आम्दानी पनि धेरै माथि रहेको हो ।

खासगरी बेलायतको मुख्य शहरहरुका विशेष गल्लीहरुमा बितेको केही वर्षदेखि घरबारविहीनहरुलाई ससानो टेन्टमा वा कार्डबोर्डमा रात गुजारिरहेका देख्न सकिन्छ । लगभग सबै सुपरमार्केटहरुमा फ्री फुड (निःशुल्क खाद्यसमाग्रीहरु) स्टलहरु राखिएका हुन्छन्, जुन चाँडै नै रित्तिने गरेका हुन्छन् र देशभरि फूड बैंक (निःशुल्क पाइने खाद्य भण्डार) को प्रयोगमा दिनप्रतिदिन धेरैभन्दा धेरै नागरिकहरु आउन थालेको समाचारमा उल्लेख गरिएका हुन्छन् । तर यही बेला अफगानिस्तान, सिरिया आदि देशहरुलगायत अन्य देशबाट विविध कारणले बेलायतमा शरणार्थी अवस्थामा भित्रिनेहरुलाई भने काउन्सिलका विशेष घरहरुमा, विभिन्न होटेलहरुमा पर्याप्त खर्च प्रदान गरी राखिएका हुन्छन् ।

महामारीको बेलामा महिनौं लगातार काम गर्नेहरुलाई अतिरिक्त मुनाफा दिइएन, तर तिनकै आम्दानीहरुबाट आर्जेको ट्याक्सले भत्ता दिनुपर्ने विविध समूहले योबेला पनि अतिरिक्त विषयमा अतिरिक्त आर्थिक सहयोगहरु हासिल गर्ने गरेका हुन्छन् । हालै बेलायतले युक्रेनलाई हतियारसहित आर्थिक सहयोगमा दिइरहेको उदारताको कुरा केही पछि राख्छु । यस्तै क्रममा स्टिभ, स्यामुयललगायतका अवकासप्राप्त वृद्धहरुदेखि आम नागरिकहरुमा अचानकै महंगो जीवनयापनको मारमा परेका छन्, त्यसप्रति सरकार खासै संवेदनशील नभएको प्रतिपक्षसहित सर्वत्र आरोप लागेको छ ।

तीन दिनअघि लन्डनबाहिर कामकै सिलसिलामा जाँदा सन् २०१७ मा सँगै काम गरेको युक्रेनी साथी दिमित्रीसँग भेट भएको थियो । जाडोले कठ्याँग्रिने रातमा ऊ भने एक टिसर्टमाथि एक पातलो ज्याकेटमा सडकको एक पेटीमा हिँड्दै थियो । मुखबाट श्वास फेर्दा यसै नै चुरोट पिएर धूँवा निकालेजस्तो देखिने जाडोमा ऊ चुरोट तान्दै धूँवाको मुस्लो निकालेर हिँड्दै थियो । सन् २०१६ मा केही महिना नजिकिएकाले उसलाई देख्नासाथ खुशी भएर म गाडी साइडमा रोकी उसको बाटो छेक्दै अगाडि उभिएको थिएँ । ऊ खुशी भयो, भलाकुसारीहरु गरिए, तर उसको मुहारमा चहकिलो (मेरोजस्तो) खुशी देखिएको थिएन, जो उसको प्रकृतिविपरीत थियो । अचानकै याद आयो, ऊ त युक्रेनी हो, दन्बास क्षेत्रको, ऊ भन्ने गर्दथ्यो ‘नेता भनेको त पुटिन हो, उसले डोनाल्ड ट्रम्पलाई अमेरिकामा राष्ट्रपति बनाएको हो, उसको अगाडि टेरेशा, डोनाल्ड, एन्जेला, फ्रान्क्वाइजहरु त उसका विद्यार्थीहरुजस्ता लाग्दछन् ।”

‘दिमित्री रसियन भार्षी युक्रेनी हो जो सोभियतसंघ टुटेपछि अनि युक्रेन स्वतन्त्र बनेपछि १८ वर्षको उमेरमा सन् १९९२ मा बेलायत भित्रिएको हो । उसमा उसको स्वभावअनुरुप चहक नदेखिएकाले सोधें ‘के भो ? तिम्रो पुटिनले त तहल्कै मच्याउँदै छन् त तिम्रो देशमा ?’ ‘ऊ पहिले त फिस्स हाँस्यो अनि चुरोटको एक लामो सर्को तानेर ठूटो भुईँमा फाली त्यसलाई निर्ममतापूर्वक कुचेलेर त्यस्तै लामो अनि बाक्लो धूँवाहरु कठ्याँग्रिएको साँझको चिसो आकाशमा फाल्दै भन्यो–’भर्खरै पुटिनले फालेको बमको छिर्काले लागेर मेरो ठूलो बुबाको मृत्यु भयो डोनेस्कमा । पहिला पुटिन ठीक लाग्थ्यो, अहिले लाग्दैन त्यस्तो । डोनेस्क जानु पर्ने तर यहाँ घरमा श्रीमती तथा बच्चाहरुले दिँदैनन् जान । योपाली पुटिनले ठीक गरेनन्, वास्तविक रसियन भनेको त युक्रेनियन नै हुन्, डटेरै लडेका छन् ।’

धेरै बेर यसै विषयमा कुराहरु भए उसंग । संसारमा खासगरी अमेरिकालाई सिधा टक्कर दिन सक्ने व्यक्तिको रुपमा पुटिनलाई प्रशंसा गर्ने दिमित्री, रसियाले युक्रेनियनहरुमाथि गरेको हमलापछि पुटिनको विरोधी भएको छ । झलक्क हेर्दा हाम्रा 
तराईवासी नेपालीहरु जस्तै लाग्ने । खासमा तराईवासीहरुको झुकाउ स्पष्ट रुपमा भारततिर हुन्छ, त्यहाँ केहीअघि तराईलाई स्वतन्त्र गराउनुपर्छ भनेर आन्दोलन पनि भएका थिए । (तत्कालीन उपप्राधानमन्त्री कमल थापा लण्डन आउँदा सो पर्यायका व्यानरहरु राखेर उनको विरोध तराई मूलका नेपाली बेलायती केही नागरिकहरुले गरेका थिए) । तर, सिमानामा भारतीय आर्मी विरुद्धको जम्काभेटमा पक्का राष्ट्रवादी नेपाली बनी डटेर सामना गरेको विभिन्न भिडियो फुटेजहरुमा देखिएका छन् । अचानकै पुटिनले युक्रेनमाथि गरेको युद्धपछि आम अनि सर्वसाधारण रसियनभाषी युक्रेनियनहरु पनि अचानक राष्ट्रवादी बनेका छन् । अत्याचार सबैलाई अप्रिय लाग्दछ नै ।

स्टिभ कागजमा सूर्ती राखेर त्यसलाई चुरोट बनाउँदै थियो । आकाशमा घाम बिहानको नौ बजे नै पूर्ण रुपले तिखारिएर छाएकाले अहिले मस्तको न्यानो भएको थियो । बेडफोन्ट लेकभरि टहल्ने मानिसहरु थपिएका थिए, यहाँबाट परसम्म देखिएका घरहरु स्पष्ट देखिएका थिए, आकाशमा हिथ्रोको पश्चिमतर्फबाट लाइनजस्तै गरेर हवाइजहाजहरु अवतरण हुँदै गरेको देखिन्थ्यो, समूलमा दिन मस्तको थियो र स्टिभ त्यसैले खुलेका थिए ।

‘बेलायत सरकारले आफूलाई विश्वमा विशेष बनाउन चाहन्छ, अन्य देशहरुमा भएको अन्यायअत्याचारको विरोधमा बोल्छ, तिनको समस्यामा आर्थिक सहयोग गर्दछ तर आफ्नो देशमा खास गर्दैन । बेलायत वास्तवमा कम्युनिस्ट देश भने हुन्छ । जीवनभर काम गरयो, चालिस प्रतिशत कमाइ सरकारलाई बुझायो, जीवनभरि कमाएर मोर्गेज तिरयो, पछि त्यही कमाएको सम्पतिको पनि फेरि ट्याक्स तिरयो । जता पनि ट्याक्स । वास्तवमा भन्ने भए अहिले पूर्ण रुपमा रिटायर्ड लाइफ बिताउनेहरुका हकमा तिनको जीवन शरणार्थीहरुको भन्दा तल्लो स्तरको छ । सरकारले त्यत्रो पैसा अन्य मुलुकलाई सहयोग गर्न भनी छुट्याउँछ, आफ्नो जनताहरुका लागि खोई ? तिमी यहाँ जन्मेका होइनौ भने जीवन जिउनको लागि राम्रो देश चुनेनौ तिमीले यहाँ आएर । यहाँ जिइने होइन, निम्नतम रुपमा सुरक्षित प्राण धानिन्छ, बस् त्यत्ति हो ।’

जीवनको तिक्ततालाई मिल्काएजसरी चुरोटको लामो कस तानोर फूर्रर फाल्यो निमेषमा त्यसपछि ।

युक्रेनलाई रसियाविरुद्ध साथ दिने बेलायतको शौख होइन, जिम्मेवारी हो । सोभियत संघ टुटेपछि युक्रेन स्वतन्त्र भएको हो सन् १९९१ मा । त्यतिबेला आणविक हतियारहरुको भण्डार गर्नेमा युक्रेन तेस्रो ठूलो मुलुक थियो । युक्रेनको सुरक्षाको ज्ञारेन्टी लिखित रुपमा (बुडापेष्ट मेमोरान्डम) रसिया, अमेरिका अनि बेलायतले गरेपछि युक्रेनले आफ्ना सबै न्यूक्लिएर हतियारहरु रसियालाई हस्तान्तरण गरेको थियो ।

आज त्यही तीनमध्ये एक सुरक्षाको ज्ञारेन्टी दिने मुलुक रसियाले युक्रेनलाई हत्याउनका लागि हमला गरेकोमा बेलायतलगायत अमेरिकाले तेस्रो विश्वयुद्ध नजगाउने गरी प्रशस्तै हतियारलगायत आर्थिक सहयोग गरी युक्रेनको आड बनेको हो । विश्वमा विद्यमान तत्कालीन व्यवस्थाले गर्दा इन्धनलगायतमा मूल्यवृद्धि भएको, कोरोना महामारीमा आम नागरिकहरुलगायत स्वास्थ्य विभागमा गरिएको खर्चहरुलाई उठाउन राष्ट्रिय विमाको दरमा वृद्धि गर्नु परेको वाध्यता सरकारले बताउँदै सरकारी तर्फबाट आम जनतालाई राहत दिने क्रममा पाँच पेन्स प्रतिलिटर छुट, वार्षिक १५० पाउण्ड काउन्सिल ट्याक्समा छुट दिएको ठूलो कुरा भएको बताउँदैछ, जब कि महिनाको एक वा दुईपटक कारमा गरिने फूल ट्यांकमा मात्र दुईदेखि तीन पाउण्डको छुट, नयाँ बढेको काउन्सिल ट्याक्समा वार्षिक दिएको १५० पाउण्ड छुट भनेको सापोनापो बराबर भएको हुने भएको छ ।

स्टिभ फेरि अर्को चुरोट सल्काउन थाल्छ, निश्चय नै उसलाई हात अनि अँगालोभरि प्रशस्तै समयहरु प्राप्त भएका छन्, उनको अवकासप्राप्त जीवनमा उनको सामाजिक अनि पारिवारिक प्राप्ति के छन् सोध्न सकिन । किन सबैलाई थाहै छ, १८ वर्ष कटेपछि छुट्टिने बेलायती सन्तानहरुले दिने क्रिसमसमा एक भेट वा एक उपहार वा एक फोनकलबाहेक आम रुपमा तिनीहरु आफू सग्लो र सिँग्लो हुन्, वाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि । स्टिभले चिनजान गर्न पाएकोमा धन्यवाद दिँदै म घरतिर लाग्दछु, बेलुका जो काममा जानु छ, त्यसको लागि निन्द्रा पुग्दो गरेर सुत्नु जो छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू