बिहीबार, चैत १५, २०८०
13:43 | १९:२८

एमसिसी निष्कर्षमा पुरयाउन सत्ता साझेदार दलको बैठक पुनः शुक्रबार

रासस फ्रेब्रवरी १७, २०२२

काठमाडौं । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न भोलि बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

“सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपंक्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

भोलिको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा उपस्थित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू