शनिबार, वैशाख १५, २०८१
03:01 | ०७:४६

एनआरएनए यूके विकेन्द्रिकरणपछि पहिलोपटक विधान संशोधन प्रक्रिया अगाडि बढ्यो

कानूनी परामर्श तथा विधान समिति गठन

नेपाली लिङ्क जनवरी १८, २०२२

लन्डन । एनआरएनए यूके विकेन्द्रिकरण भएपछि पहिलो पटक विधान संशोधन प्रक्रिया अगाडि बढेको छ ।

अल्डरसटस्थित आफ्नै कार्यालयमा आइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन गरेको हो ।

बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो ।

संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्त विधान बनाउने संघको योजना छ’, गाहामगरले भने ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न 
बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा गरिएको थियो ।

बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेको निष्कर्ष निकालेको एक सहभागीले बताए ।

बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएन यूकेले नेपाल सरकारसंग कूटनीतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेका समस्या जस्तैः यूके भन्दा बाहिर गएर एक महिना मात्र बस्न पाउने वर्तमान नियम बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतको डिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने र कार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए ।

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्ती छ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम एनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।

अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहत योजना ल्याउन आफैं अग्रसरता देखाएका छन् ।

नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०२२ मा सहभागिताबारे 
एनआरएनए यूकेले छनौट प्रक्रिया गरि बेलायतबाट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन नेपाल पठाउने र यसको संयोजकत्व खेलकुद विभागले गर्ने अध्यक्षले जानकारी दिए ।

बैठकमा खेलकुद विभाग, संघसंस्था विभाग, च्यारिटी विभाग, महिला विभाग, प्रकाशन विभाग, कानूनी परामर्श तथा अनुसन्धान विभाग, भाषा तथा साहित्य विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपतकालीन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुले आफ्नो विभागका क्रियाकलापबारे ‘अपडेट’ गराएका थिए ।

बैठकमा ‘वान एनसीसी वान प्रोजेक्ट’ छनौट र मापदण्ड निर्धारण गर्नेबारे पनि छलफल भएको थियो ।

बैठकले एनआरएनए केन्द्रिय अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिले यसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ ।

बैठकमा बेलायतस्थित गैर आवासीय नेपालीका प्रत्यक्ष सरोकारका विषयमा संघको कार्यालयबाट दिन सकिने सेवाहरुबारे समेत विचार विमर्श गरिएको एक सहभागीले जनाए । अध्यक्ष गाहामगरले दूतावासमा घुम्ती सेवाका लागि कार्यवहाक राजदूत रोशन खनालसंग कुरा गरिसकेको बताइएको छ ।

बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । एनआरएनए यूकेमा ‘ट्रष्टी’ थप गर्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरलाई मुख्य ट्रष्टीमा राखी बांकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले आउंदो ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्यायबारे जानकारी दिएका थिए ।

संघको अर्को प्रत्यक्ष पूर्ण बैठक आउंदो २० मार्च २०२२ आइतबार गर्ने निर्णय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू