मंगलबार, वैशाख ११, २०८१
07:14 | ११:५९

नेपालबाट हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै 

रासस जनवरी ११, २०२२

काठमाडौँ–नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्यूजियम अफ आर्टले आफ्नो संग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।

सोमबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्यूजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी संग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् ।

मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन संग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए ।

कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन संग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, संग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गरेको न्यूयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ ।

रुबिनको संकलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यवसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाए ।

‘हामीले संकलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो’, चोरीका कलाकृति संग्रहालयमा पुगेकामा खेद व्यक्त गर्दै उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू