शुक्रबार, वैशाख ७, २०८१
11:07 | १५:५२

नेपाली समाज नटिङहममा मतदानबाट चुनियो नेतृत्व, अध्यक्षमा रविन्द्र शर्मा विजयी

नेपाली लिङ्क डिसेम्बर ७, २०२१

लन्डन । मिडल्यान्डको नटिङहमस्थित नेपाली समाज नटिङहममा मतदानमार्फत् नयाँ नेतृत्व चयन गरिएको छ । सोमबार संस्थाका सदस्यहरुमाझ गराइएको मतदानमार्फत् रविन्द्र शर्मा अध्यक्ष निर्वाचित भएका छन् ।  

समाजको निवर्तमान कार्यसमितिमा महासचिव रहेका शर्माले १ सय २२ मत प्राप्त गरी विजय हासिल गरे । अध्यक्ष पदमा अर्का प्रतिस्पर्धी निवर्तमान कार्यसमितिका उपाध्यक्ष राम पन्थीले १ सय २ मत प्राप्त गरी उपविजेता बने ।

नयाँ नेतृत्व चयनका लागि समाजका कुल २ सय २४ सदस्यले मतदान गरेका थिए ।

त्यस्तै, समाजको दुई उपाध्यक्षमा मुकुन्दहरि खराल र गंगा ढकाल निर्वाचित बने । उनीहरुले क्रमश: २ सय ४ र १ सय ११९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी गणेश सापकोटा १ सय १७ मत ल्याएर उपविजेता बने ।

अध्यक्ष र उपाध्यक्षबाहेक अन्य सबै पदमा भने निर्विरोध भएको थियो । जसअनुसार महासचिवमा लोकनाथ अधिकारी, सचिवमा उपेन्द्र सापकोटा, कोषाध्यक्षमा विरेन्द्र (रेशम) खड्का र सहकोषाध्यक्षमा रविन्द्र गिरी चुनिएका छन्।  

कार्यसमिति सदस्यहरुमा आँचल सापकोटा, विशाल प्रसाद, कमल प्रसाद खरेल, विवेक खाती क्षेत्री, विकास सापकोटा, ओम प्रकाश शर्मा, शेषकान्त सापकोटा, केशव इश्वरी कंडेल, रेशम खत्री, अर्जुन सापकोटा र दुर्गा भुषाल चयन भएका छन्।  

अध्यक्ष निर्वाचित शर्मा

नवनिर्वाचित कार्यसमितिको घोषणासंगै निर्वाचन समितिका प्रमुख एनआरएनएनए यूके उपाध्यक्ष गोविन्द खरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । समाजका पूर्व अध्यक्ष समेत रहेका खरेलको संयोजकत्वमा पूर्व अध्यक्षत्रय रण केसी, प्रविन पाण्डे र विष्णु चालिसे सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।  

नवनिर्वाचित कार्यसमितिलाई समाजका पूर्व अध्यक्षहरु रणबहादुर केसी र तारा भण्डारी, पूर्व उपाध्यक्ष कृष्ण खरेल र शम्भु अर्याल, पूर्व संरक्षक लालबहादुर थापा, महिला फाउन्डेसनका तर्फबाट अध्यक्ष कल्पना गुरुङ र कोषाध्यक्ष विष्णु खरेल तथा पूर्व अध्यक्षहरु अर्चना हमाल र गीता भट्टराईलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

नवनियुक्त अध्यक्ष रविन्द्र शर्माले आफूलाई मतदान गरी संस्थाको नेतृत्व सुम्पिने सदस्य एवम्  अग्रजहरुलाई धन्यवाद दिएका छन् । आफूले सबैलाई समेटेर समाजलाई थप उचाइमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । अध्यक्ष निर्वाचित शर्मा काभ्रे सोसाइटी यूकेका पनि संस्थापक अध्यक्ष हुन् ।

नेपाली समाज नटिङहमले दुई वर्षअघि पनि निर्वाचनबाटै नेतृत्व चुनेको थियो ।  

नयाँ समितिको निर्वाचनअघि नटिङहमको द क्लब बारमा संस्थाको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सातौं अधिवेशन सम्पन्न भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू