मंगलबार, वैशाख ११, २०८१
10:03 | १४:४८

तपाईं भर्सेज मपाईं 

उमेश रेग्मी नोभेम्बर २८, २०२१

“कसैले तपाईं भनिदियोस् नभनिदियोस्, आफैं मपाईं भन्दै हिड्नुपर्छ”

“तिमी नि तिमी ! आफू स्वयम्लाई ‘तीस मार खाँ’ भन्दै हिंड्ने । कसले गरिदियोस् तिम्रो कुरा चाहिं । अरुको आङ्गको जुम्रा पनि देख्ने अनि आफ्नो ढाडमा हिंडेको भैसी चाहिं नदेख्ने”

“हैन भन्न खोजेको के तिमीले ? हिजोको फुल आजको चल्ला जस्तो, जान्नु तान्नु केहि छैन् जे मन लाग्यो त्यहि भन्ने”

“त्यहि नजानेको भएरै होला, यत्रा बिधि जनताले भोट दिएर जिताएको । हामीलाई चल्लासंग दांज्ने मान्छे आफ्नो गतिको पहिले ख्याल गर्नु । लठ्ठी टेकेर हिंड्नु पर्नेबेला भइसक्यो अझै पनि फुर्ति लाउँदै हिड्नु पर्छ”

“बाघ बुढो भए पनि बाघनै हो बुझ्यौ । तिमीहरुजस्तो स्यालहरुसंग के को डर”

“कहिले चल्ला अनि कहिले स्याल भन्दै बेइज्जत गर्छौ बुढा तिमी । फेरी बुढो हड्डी भाँचिएला होस् गर”

“ए तिमीले हड्डी भाँचुन्जेल मेरो हातमा चाहिं दही जमेको हुन्छ नि”

“हैन ए बुढा, किन बिन सित्ति निहुँ खोजिरहेको भन्या? चुनाव एउटा जितेको देखिसक्नु भएन । कति इर्ष्या हो? सक्छौ भने हराउनु नि अर्को चुनावमा । त्यतिन्जेलसम्म जिउंदै रहे त हो”

“के रे, के रे ! जिउंदै रहे त रे ! के भन्ठान्या छ मलाई ? अर्को चुनाव मात्रै हो र, त्यस्ता चुनाव कति लडिन्छ कति हेर्दै जानु । अहिले जिते भन्दै फुर्ति लाउन पर्दैन”

“तिमीहरुजस्तो फुर्ति लाउने हैन क्या म । गाउँलेले भोटदिएर जिताएका छन् । उनीहरुको आश मर्न दिनुहुन्न । म त काम गर्ने हो, विश्वास जित्ने हो। अनि अर्को चोटीपनि जित्ने हो । अब तिमी बुढाहरु सन्यासी बने हुन्छ”

“गर्यौ काम, जित्यौ विश्वास । गर्नु पर्ने जति मैले गरेर सकाइसके। मेरै कामलाई आफ्नो भन्दै जित्यौ यसपाली, अर्को चोटी कहाँ म त्यस्तो गर्न दिन्छु र”

“हैन तिमीले के काम गर्यौ ? अनि मैले तिम्रो कुन कामलाई आफ्नो भने ? अस्तव्यस्त बनाएर छोडेको छ पुरै गाउँलाई काम गरें भन्न अलि कति लाज लाग्दैन ?”

“कत्ति गरया छ कत्ति काम। यो गाउँमा विकास 
लेराएकै मैले हो । यी विश्वाशघाती गाउँलेले मलाई हराए अहिले । मेरो कामहरु यति छिटै बिर्से”

“के काम गर्यौ ? मुखले यो गरे त्यो गरे भन्दैमा गरेको ठहरिन्छ ? गाउँमा मान्छे अन्धा छन् भन्ठान्याछौ कि क्या हो बुढा ?”

“गाउँमा आउने पुल कसले बनायो ? यहासम्म आउने बाटो कसले बनायो ? कुरा बुझ्नु पहिले”

“पुल बनायो कि पुल बनाउने निहुमा शहरमा घर बनायो, त्यो सबैलाई थाहा छ बुढा । बरु कति घिच्यौ भनन”

“भन्न के खोजेको तिमीले ? मैले भ्रष्टाचार गरे ?”

“नगरेको भए त चुनाव जिती हाल्थ्यौ नि”

“मुखमा जे जे आयो त्यहि त्यहि बोल्ने होइन है भनिदिएको छ । मैले भ्रष्टाचार गरें भन्ने प्रमाण के छ ? कस्तो गाउँलाई मैले अहिले यस्तो बनाएं, उल्टै मलाई भ्रष्टाचारी पो भन्छ यो”

“यो गाउँ पहिला जस्तो थियो अहिले पनि उस्तै छ । के चाहिं बनायौ तिमीले ? बरु अब म बनाउंछु । हेर्दै जाउ, विकास के लाई भन्छन् सिक्नु तिमीले पनि । यत्रा वर्ष चोर विद्या सिक्दै बस्यौ”

“अब चोरको उपाधि पनि थप्यौ ? यहि एउटा बाँकी थियो हैन, कि अरु पनि छन् थप्न बाँकी उपाधिहरु ? एउटा जितले लेराएको यो घमण्ड तुहिन धेरै बेर लाग्दैन बाबु । होश गर्नु”

“मैले होइन बुढा अब तिमीले चाहि होस गर्नु । म त जितेको मान्छे। एक एक गरेर छानबिन गर्ने हो तिम्रो कर्तुतहरु । प्रमाणित भएपछि बुढो सुढो केहि भन्दिन । लगेर जांक्ने हो खोरमा”

“३० वर्ष राज गरेको हो यो गाउँमा, तिमीले खोरमा जांक्ने बेलामा हेरिरहन्छन् नि यहाँका गाउँलेले । मेरा पनि छन् मान्छेहरु । तिमीहरु जस्ता चल्लाहरु कुल्चिन त्यतिगाह्रो पनि हुँदैन। बरु बाटो हिंड्दा सम्हालिएर हिंड्नु”

“धम्की दिएको मलाई ?”

“जे सोचे नि हुन्छ। लातको भूतलाई बातले मान्दैन भन्थे अब त्यसै गर्नुपर्ने भएपछि त्यहि सही”

“हारेको मान्छेले जितेकोलाई धम्की दिने ! सुहाउने कुरा हो ? त्यो पनि यस्तो बुढोले”

“बुढा बुढा नभनी राख है। झोक चल्ने गरेर”

“बुढालाई बुढा नभनेर के भन्ने त ? हिन्दी सिनेमाको हिरो ? गालाको चाउरीमा भंगेराले गुँड बनाउने बेला भइसक्यो, अझै आफूलाई तरुनो सम्झन्छ । काशीतिर गएर भजन गर्दै बस । सिद्धे तिम्रा दिनहरु । जति घिच्नु छ, घिचिसक्यौ । १०-१२ पुस्तालाई पुग्ने थन्क्याई हाल्यौ होला अब के को शुर्ता। पाप धुँदै बस्नु त्यतै”

“म कहाँ जाउँ के गरु तिमीलाई के मतलब । फेरि मेरो कमाइमा आँखा गाढ्ने तिमी को ? जति पुस्तालाई पुग्ने कमाए पनि आफ्नो मिहेनतले कमाएको हो क्या रे”

“कमाउँछौ आफ्नो मिहेनतले । लुटतन्त्र मच्चाएर गाउँको सम्पत्ति स्वाहा पारेको बिर्स्यो भन्ठानेको कि क्या हो ? जुका जस्तो चुस्या छ चुस्या छ गाउँलेको रगत। हैन अझै अघाएका छैनौ भन्या ?”

“मलाई के को जुका भन्छौ । जुका त तिमी नै हौ बरु। गाउँलेको आलो रगत देखेर चुस्न आतुर भएको। त्यो लोभ नभएको भए, धाँधली गरि गरि चुनाव जितेर किन आउँथ्यौ र”

“म रगत चुस्न आएको होइन् । तिमीहरु जस्तो गाउँको शरिरमा टाँसिएको जुकालाई उखेलेर फाल्न आएको । कुरा बुझ । आफैं झरेर गएको राम्रो, मैले उखेल्नु पर्योभने त टुक्रा टुक्रा पार्ने हो”

“पार्यौ टुक्रा टुक्रा । आफैं चाहिं टुक्रा टुक्रा भएर तितर वितर हुन्छौ यस्तो सिङ्गेजोरी खेल्दा खेरी । गाउँलेले पनि के देखेका हुन् यस्तो मान्छेमा कुन्नि । लाटा देशमा गाँडा तन्नेरी भन्या जस्तै ठ्याक्कै मिल्या छ ।”

”गाउँले लाटा पहिला थिए त्यसैले तिमीले उनीहरुको फाइदा उठायौ । तर अहिले उनीहरु बाठा भइसकेका छन्। पुरानै दिन सम्झेर मन लाग्दो गर्ने दुःस्वप्न त्यागे हुन्छ अब बुढा तिमीले। तिम्रो नाम त ’चोर’ को पर्यायवाची बनिसकेको छ । के फुर्ति लाउँछौ। नपत्याए सोध गएर गाउँलेलाई । घरमै चोर पालेर राखेका रहेछन् यत्रो समयसम्म । उनीहरुको खुलेको आँखा अब बन्द हुँदैन बुझ्यौ”

”ति आँखा भएका अन्धाहरुको आँखा खुले पनि बन्द भए पनि मलाई के फरक पर्छ । यि गाउँले भेडाहरु मैले उठ भने उठ्छन्, बस भने बस्छन् । यस्ताहरुको कुरा गरेर मलाई तर्साउन खोज्दो रहेछ । नाथे एउटा छुसी जिताइले लेराएको कत्रो फुर्ति । राजनीति हो यो । तिमीलाई के थाहा, हारको पछाडि पनि राजनीति हुने कुरा । कहिलेकहिँ हारेपछि आराम हुन्छ। विश्राम हुन्छ। धेरै काम गर्दाको थकाइ मेटिन्छ । खाएको खानेकुरा पचाउन पनि सजिलो हुन्छ, चिकित्सकले समेत त्यहि भन्छन्”

“ए हारेर बस्दैमा तिम्रो कालो कर्तुतहरु हराउँछन् भन्ठानेको होला, त्यस्तो भ्रममा चाहिं नबस्नु । एक एक गरि उदाङ्गो पार्ने हो सबै”

”खान नपाउञ्जेलसम्म मात्रै हो यो फुर्ति । एक चोटी खाएपछि देखिन्छ तिम्रो पनि चुरी फुरी फुस्स भएको”

८८८८८८८८८८८८८८८८८८८

“एक वर्ष भएछ कुर्सी सम्हालेको पनि । कति चांडै समय बित्यो”

“अनि कस्तो रह्यो त अनुभव ? चुरीफुरी उस्तै छ कि केहि परिवर्तन भयो ? मेरा कर्तुतहरुको छानबिन त भइरहेको छ होला हैन् ?”

“हाहा, के कुरा गरया होला दाईले ? ठट्टा गर्न त दाईलाई कसैले जित्न सक्दैन्”

“अहिले त भाइले पनि ठट्टा गर्नु भयो लौ । ल संगै हाँसौ”- ”हाहा हा हा हाहा”

हाल -बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू