शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

बेलायतमा कोरोना संक्रमित संख्या करोड नाघ्यो

नेपाली लिङ्क नोभेम्बर २६, २०२१

लन्डन । सन् २०१९ को अन्तबाट चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना महामारी लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा संक्रमितको संख्या एक करोड नाघेको छ ।

पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार बिहीबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ४७ हजार २४० नयाँ संक्रमित थपिएका छन्, जुन गत अक्टुबरयताकै उच्च हो ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या दश मिलियनभन्दा बढी अर्थात एक करोड २१ हजार ४९७ पुगेको छ । कोरोनाकै कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या झन्डै २६ करोड नाघेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा १४७ जनासंक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४४ हजार ४३३ पुगेको छ । तर, कोरोनाका कारण मृत्यु भएको मृत्यु दर्ताका आधारमा भने मृतक संख्या झन्डै एक लाख ६८ हजार रहेको छ । विश्वभर झन्डै ५२ लाख मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ ।

बेलायतमा अहिले २८.५ प्रतिशतले  कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

बिहीबारसम्मको तथ्यांक अनुसार यहाँ एक करोड ६३ लाख  ८३ हजार ५७५ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् ।

पछिल्लो २४ घन्टामा  तीन लाख ७८ हजार भन्दा बढीले  बुष्टर डोज लगाएका छन् ।

यसैगरी पाँच करोड ८५ लाख दुई हजार १३३  जना अर्थात ८८.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ३२ हजार २५८ जना अर्थात ८०.४  प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

संक्रमण दर उच्च रहेपनि बेलायतमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या भने केहि ओरालो लागेको छ ।

पछिल्लो २४ घन्टामा ७४५ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल ७ हजार ६४१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू