मंगलबार, मंसिर २१, २०७८
08:27 | १४:१२

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीद्वारा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत   

रासस नोभेम्बर १८, २०२१

फाइल फोटो

काठमाडौं–नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो ।

नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो ।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । जीतका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारकी शीर्ष क्रमकी ब्याट्सवुमन एलिना खानले ३३ बलमा तीन चौकासहित सर्वाधिक १९ रन बनाइन् ।

त्यस्तै कप्तान आयशा १४ बलमा एक चौका र एक छक्कासहित १३ रनमा क्याच आउट भइन् भने अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले अविजित रहँदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सीताले ७२ बलमा ७ चौका प्रहार गरिन् ।

यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् । काजल श्रेष्ठ १२ रनमा आउट भइन् भने सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एञ्जेलिन मारे, साची ढाटवाल र आयशले १-१ विकेट लिइन् ।

आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एशियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलेको हो । छनोट यही मङ्सिर ६ देखि १२ गतेसम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै भोलि दुबई प्रस्थान गर्नेछ । छनोटमा छ टिम सहभागी छन् । नेपालसहित युएई, हङकङ, भूटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू