शुक्रबार, वैशाख १४, २०८१
08:44 | १३:२९

युद्ध साहित्य पुरस्कार केदार संकेतको ‘अफगानी रणमैदान’ लाई दिने घोषणा

नेपाली लिङ्क नोभेम्बर ११, २०२१

लन्डन । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रम आयोजना गरी प्रदान गरिने जनाइएको  छ । 

हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशी नगद ५० हजार रुपैँया र ताम्रपत्र छ । दुई वर्षभित्र प्रकाशित युद्ध साहित्यसम्बन्धि कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संरकक्षण र सम्बर्दनमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति या संस्थालाई पुरस्कार दिइने कोषले जनाएको छ । 

युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन् । उनका हालसम्म आफै जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श २०६७), पैयुँका फुलहरु (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता सग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) कृतिहरू प्रकाशित भएका छन् । 

युद्ध साहित्य पुरस्कार पाउने ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् । पुस्तक सांग्रिला पुस्तक प्रालीले प्रकाशन गरेको हो ।  

यसअघि संकेत अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९) लगायतका पुरस्कारद्वारा संकेत पुरस्कृत भइसकेका छन् । उनी ‘साहित्य सँगालो’ वेभसाइटका प्रधान सम्पादक पनि हुन् । 

नेपाली युद्ध साहित्य सिद्धान्तको प्रस्तावना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरिएको थियो । जुन संग्रहमा नेपाली युद्ध साहित्यको परिभाषा सहित युद्ध साहित्यबारे संक्षिप्त व्याख्या गरिएको छ । 

त्यसपछि सन् २०१४ मा प्रकाशित ‘युद्ध साहित्य सिद्धान्त र सृजनाहरु’ ले युद्ध साहित्यको थप विवेचना, व्याख्या  र विमर्श गर्दै युद्ध साहित्य अभियानलाई अझ सशक्त बनाएको थियो   

११ नोभेम्बर (रिमेम्बरेन्स डे अथवा पप्पी डे) को अवसर पारेर गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छासहितका युद्ध साहित्य सिद्धान्तका अभियन्ताहरुले युद्ध साहित्य कोषको निर्माण गरी पुरस्कार प्रदान गर्ने र युद्ध साहित्यलाई अझ बिस्तार गरी लैजाने बताएका छन् । 

गोर्खाली लाहुरे अर्थात गोर्खाली सेनाका संघर्ष, वीरता, ईतिहास र विभिन्न अलिखित विषयहरुलाई लेखन मार्फत सम्बर्द्धन र संरक्षण गर्ने र समग्र युद्ध साहित्यलाई स्थापित गर्ने उद्धेश्य रहेको अभियन्ता गणेश राईले बताए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू