शनिबार, वैशाख ८, २०८१
02:38 | ०७:२३

बेलायतमा रोजगारीका अवसर ‘रेकर्ड’ उच्च

रोजगारीमा रहनेको संख्या महामारीपूर्वकै अवस्थामा

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२१

लन्डन । कोभिड महामारीका कारण सिर्जना भएको आर्थिक संकटबाट बाहिरिने प्रयासमा रहेको बेलायतको अर्थतन्त्रमा केही आशा जगाउने संकेतहरु देखिन थालेका छन् ।  

पछिल्लो समय बेलायतमा रोजगारीका अवसरहरु अहिलेसम्मकै धेरै उपलब्ध भएको तथ्यांकले देखाएको छ ।  

अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार गत अगस्ट महिनासम्मको तीन महिनाको अवधिमा बेलायतमा दश लाख बढी रोजगारीका अवसरहरु बजारमा उपलब्ध भए । जुन संख्या सन् २००१ मा आधिकारिक तथ्यांक राख्न शुरु गरिएयताकै सबैभन्दा धेरै रहेको ओएनएसले जनाएको छ ।  

तथ्यांकअनुसार पछिल्लो समय बेलायतमा रोजगारीमा रहने मानिसहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत अगस्ट महिनामा बेलायतभरमा ‘पे रोल’ मा रहने मानिसहरुको संख्या २ करोड ९१ लाख थियो । जुन संख्या अघिल्लो महिनाकै तुलनामा २ लाख ४१ हजार बढि हो ।

यससंगै अहिले देशमा रोजगारीमा रहने मानिसहरुको संख्या कोभिड महामारी शुरु हुनु पूर्वकै अवस्थामा पुगेको छ ।

कोभिड महामारीबाट प्रभावित व्यवसायमा कार्यरत कामदारका लागि सरकारले ल्याएको राहत स्कीम ‘फर्लो’ मा १० लाख बढी कामदार अझै रहेको अध्ययनहरुले देखाएपनि रोजगारीमा हुनेहरुको संख्या महामारीपूर्वकै अवस्थामा फर्किएको हो ।  

बेलायतस्थित व्यवसायिक समूहहरुले भने बजारमा कामदारको मागअनुसारको पूर्ति हुन सक्ने अवस्था नरहेको कारण अर्थतन्त्रमा अपेक्षाकृत प्रगति हुन नसक्ने चिन्ता व्यक्त गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू