मंगलबार, असोज ५, २०७८
14:45 | १९:३०

अंग्रेजहरुका गलगाँडमा रुमलिरहेको ‘गोर्खा पेन्सन’

भीम राई अगस्ट २१, २०२१

‘बहादुरहरुको पनि बहादुर’ गोर्खा सिपाहीहरुले बेलायती सैनिकमा बिताएका इतिहासलाई फ्रेन्च दार्शनिक रेने डेकार्टले झै गम्भिरतापूर्वक सोच्ने हो भने २ सय बर्ष भन्दा उँभो लागिसकेको छ । यतिका दिनसम्म कति गोर्खालीहरुले बेलायती सैनिकमा वीरगति प्राप्त गरे भन्ने तथ्याङ्क कि त बेलायत वा नेपाल सरकारलाई मात्र थाहा होला ? तर पूर्व गोर्खालीहरु प्रति भइरहेको भेदभावको जानकारी चाँहि लगभग दुवै देशका सरकारहरुलाई न्यून ज्ञान भएको मैले महसुस गरिरहेको छु ।

हुन त एकाइसौं शताब्दिको जङ्घारमा उत्रदै गर्दा गोर्खाली सिपाहीहरुलाई भइरहेको भेदभावको ज्ञान थाहा नभएको चाँहि    दुवै पक्षलाई पटक्कै हुँदै होइन । किनभने एउटा पक्षले तिनै बहादुरहरुको देशलाई ‘गोर्खालीको देश’ र अर्को पक्षले ‘गोर्खालीहरु बेलायती सैनिकको अभिन्न अङ्ग हुन्’ भनेर बिश्वसामु परिचय गराइरहेका छन् । अहिलेसम्मको इतिहासलाई उछिटो लगाउदै छाँतीमा हात राखेर बक्नुपर्दा बेलायतीहरु काम लिने र फाइदा नदिने पक्षमा दृढ रहेका छन् । तर एउटै देशमा जन्मेको भएपनि ठ्याक्कै अनुहार फरक भएकाहरु चाँहि बेलायतीहरुले झैं समान पेन्सन पाइहाल्यो भने उनीहरुको आर्थिक हैसियत त्यसै बलियो हुन्छ । कालान्तरमा आफैमाथि शासन गर्ला कि भन्ने शङ्कुचित विचारले कानमा तेल हालेर बसिरहेका छन् ।

 एउटै देशको मानिसका अनुहार किन फरक फरक भए भनेर जान्नका लागि स्रुसबुरी पुगेर विकासबादका पिता डार्विनलाई सोध्यौं भने उनले १८८३ मा नै यस धर्तीबाट बिदा लिइसके । आखिर डार्बिन मात्र होइन अङ्ग्रेजी समाजशास्त्रका बाबु हर्बट स्पेन्सर पनि कार्ल मार्क्स सङ्गसङ्गै एउटै सिरानी बनाएर तर ठीक बिपरित धृवतिर फर्केर हाइगेटमा मज्जाले बिश्राम गरिरहेका छन् । बिश्व बिख्यात समाजशास्त्रिहरु कोम्ट, डर्काइम र वेबरले सधैका लागि बिदा लिएपछि गोर्खाहरुको मुद्दा बेलायती र युरोपियन अदालतहरुमा उँक्लदै र ओर्लदै गरेको इतिहास साक्षी छन् ।

‘आखिर जे हुनुछ, हुन्छ हुन्छ,’ भन्ने खसभाषामा बनेको यो एउटा वाक्यांश हो । मैले यहाँ खसभाषाको प्रयोग हेयको दृष्टिकोणले पटक्कै गरेको होइन । तर किन त्यसो भनेहोला भनेर जो कोहीलाई स्वभाविक रुपमा प्रश्न उठन सक्त्तछ । त्यसलाई मैलेपनि स्वभाविक नै ठानेको छु । किनभने अहिलेसम्म ‘ब्रिग्रेड अफ गोर्खाजमा’ भर्ती हुनेहरुमा राई, लिम्बू, गुरुङ र मगरको सर्बोच्चता कायमै छ । खासगरेर उनीहरु पल्टन घरमा आ-आफ्ना जातिय भाषाहरु बोल्ने गर्छन् । र, बिरलै खसभाषाको प्रयोग गर्दछन् । तर सबैभन्दा खेदको कुरो के छ भने ‘एउटै कुरोको परिक्षण पटकपटक गरेतापनि फरक नतिजा आउदैन’ भन्ने आइन्सटाइनको महानवाणीलाई बेलायतीहरुले आत्मसाथ गर्दै यी माथि उल्लेख गरेको जातिहरु बाहेक अन्य कुनैपनि जातिलाई आजका मितिसम्म उनीहरुले विश्वास गर्ने गरेका छैनन् ।

मैले जातिय कुरो यही समर्पण गर्न चाहें । किनभने म कुनै जातिबादी मानिस पनि होइन । त्यसैले पुनः गोर्खालीहरु प्रति भइरहेको अन्यायको विषयमा नै फर्कदैछु । हुनत हरेक नेपाली र बेलायती राजनेताहरुले गोर्खालीहरुसङ्गको प्रत्यक्ष भेटघाटको क्रममा एकभारी सुनौंला शब्दहरुले सुशोभित सपनाहरु बाँडिरहेकै हुन्छन् । तैपनि तिनै महान नेपाली राजनेताहरुलाई सम्झदैगर्दा मलाई मनमनै हेगेलप्रति थोरै असन्तुष्ट प्रकट गर्न मन लाग्यो ।

हेगेलले बिचार र बिमर्शद्वारा अन्यायको निरुपण गर्न सकिन्छ भनेका छन् । अझै राज्य नै भगवानको असली रुप हो । राज्यले भगवानले झै हरेक नागरिकहरुलाई बराबरी दया र माया गर्नेछन् । उनको त्यति मिठो कुरोको विश्वास पनि कसरी नगरि रहन सकिएला र ? तर भिषण युध्दहरुमा पुरुषार्थ देखाएर तक्माहरुको पनि श्रीपेच ‘भिक्टोरिय क्रश’ बिजय हासिल गरेर प्रशिध्दि कमाएका गोर्खालीहरुले पाउने माया त केवल ‘घर न घाटको’ भइरहेको छ । अझै त्यति मात्र कहाँ हुनु र ? उनै महाशयले भनेको बाद (थेसिस) प्रतिवाद (एन्टिथेसिस) र सम्बाद (सिनथेसिस) ले गोर्खालीहरुको समस्या सामधान गर्न पटक्कै सकेको छैन् ।

बृध्द हेगेलको कुरा यतैतिर बिश्राम गरौं र उता स्वदेशको प्रसङ्गलाई अलिक गहिरिएर कोट्याउँ । जहाँ जुङ्गाको रेखी बस्दै गरेका ठेटनादेखि चाउँरिएको गालामा जुङ्गा फुलेर घुम्रिएका बुझक्कड नेपालीहरुको जनजिब्रोमा एउटै जादुमय शब्द झुण्डिरहेको छ । मलाई लाग्छ, त्यो शब्दको लोकपृयता झन दिनानुदिन बढदै गइरहेको छ । जानिफकारहरु त्यसलाई ‘मार्क्सबाद’ भनेर चिच्याउँने गर्दछन् । यदि तिनै मार्क्सबादी सिदान्तलाई आत्मादेखि अङ्गिकार गर्ने हो भनेपनि अन्यायमा पिल्सिएको श्रमिकहरुको अन्तिम विकल्प भनेको आफ्नो मालिकप्रति बिरोधाभाष प्रकट गर्नु नै त्यसको मुख्य उदेश्य रहन्छ ।

लेखक भीम राई

म मानसिक रुपमा अब्बल भएतापनि शारिरिक रुपमा अलिक कमजोर भएको मानिस हुँ । त्यसैले बिरोधाभाष शब्दसङ्ग त्यति गहिरिएर प्रेमगर्न सकिरहेको छैन् । तर के गर्ने ? जीवनमा हुने हरेक कुरो आफ्नो बशमा सँधै नहुँदो रहेछ । अझै यसको गुह्य सच्चाइ के छ भने मार्क्सबादीय सिदान्तभित्र त्यति सरल र सहज शब्दहरु मात्र कहाँ अटाएका छन् र ? नयाँ नेपालको नयाँ संबिधान झैं घुमाउरो, काइते र दोहोरो अर्थ लाग्ने शब्दहरु माकुरोको जाल झैं फैलिएर रहेका छन् । त्यही भएर आखिर मानिसहरु किन यति निरही, स्वार्थि, ढोंगी, कठिन र राक्षसी प्रबृतिका हुन्छन भनेर ‘लेभियाथानको’ लेखक थोमस हब्सलाई समयसमयमा सम्झने प्रयत्न गर्दछु ।

हाम्रो दुरदर्शी नेताहरुको सोचपनि लकको जस्तो नभएर हब्सको जस्तै छन् । त्यसैले उनीहरुले लेखेको संबिधान पनि के विश्वको उत्कृष्ट संबिधान नै हो त भनेर दङ्ग पर्छु । अझै त्यसभित्र भएको वा सम्प्रेषण गर्न खोजिएको भावना र बिचार ‘संसद भङ्ग गर्ने सिदान्त र अभ्यास’ का लेखक क्याम्ब्रिजका प्राध्यापक बासिल मार्कसिनिसले पनि परिभाषित गर्न सक्छन् जस्तो लागेन । सायद यति धेरै बिवादित हुनुभन्दा त भीम अम्बेकडरले लेखेको भारतीय संबिधान पो अहिलेसम्म मलाई फलेफुलेको झैं लागिरहेको छ ।

उता नयाँ नेपालको संबिधानको कुरोलाई यतिमा नै थाँती राखौ । किनभने म संबिधानबिद पनि हुँदै होइन । तर यता मार्क्सबादमा प्रयोग भएको त्यति कठिन एबम क्रन्तिकारी शब्दहरुलाई यस लेख लेख्दै गर्दा प्रयोग गर्न मलाई त्यति उचित लागिरहेको चाँहि निश्चय पनि छैन् । किनभने साम्यबाद नै मेरो जिन्दगीको अन्तिम रोजिरोटीको बिषयचाँही पटक्कै होइन । तैपनि मलाई यहाँ तिनै महानमानव मार्क्सको नाम उल्लेख गर्न किन मन लाग्यो भने ससांरमा समयसमयमा भइरहने मध्यम बर्ग र सर्वहारा बर्गको लडाइको धोतक उनी नै हुन । सम्भवत उनकै दर्शनसँग गोर्खालीहरुको बिचार हुबहु नमिलेपनि ‘अन्यायको बिरुध्द आन्दोलन गर्नुपर्छ’ भन्ने बिचारचाँहि लगभग मिल्न जान्छ जस्तो लाग्छ ।

आखिर आन्दोलन किन हुन्छ ? एकपटक यसलाई जो कोहीले गहिरिएर अध्यान गर्नै पर्ने हुन्छ । सहज रुपमा अन्याय र बिभेद विरुद्धमा हुन्छ भन्ने सबैलाई लाग्न सक्त्तछ । त्यो त केवल सैदान्तिक तर्क मात्र भयो । यसका ब्यवहारिक पक्षपनि टन्नै छन् । खै किन हो किन ? झुटको खेती गरेर दायाँ कुममा बालुवाटारको जग्घा बेच्ने र बायाँ कुममा पानी टैङ्कीमा पैसा लुकाउने मानिसहरुलाई च्याप्नेदेखि सूर्यमा भोट मागेर रुखको छहारी ताप्नेहरुको बिरुध्द हिजोसम्म एउटै ओछ्यानमा संगै सुतेकाहरु आज पक्ष र बिपक्ष भएर आन्दोलित हुँदा रहेछन् ।

तर गोर्खा आन्दोलनको कुरा लेख्तै गर्दा घरिघरि नेपाली राजनीतिको कुरो घनले झै किन ठोक्नु परयो भन्ने प्रश्नको उत्तरमा एउटा सिक्काको दुईवटा पाटाहरु हुन्छन् भनेर सजिलो उत्तर दिन चाहन्छु । आखिर त्यँही नै ध्रुव सत्य हो । अझ त्यसलाई सामन्यिकरण गर्ने हो भने बिजगणितमा झैं ठ्याक्कै हिसाव नमिल्न पनि सक्छ । तर मानवीय जीवन जिउने क्रममा कुनै न कुनै रुपले राजनीतिले हरेक मानवलाई पिठिउँदेखि सुस्तरी अगाडि धकेलिरहेको हुने रहेछ । जुनकुरा मैले पटकपटक आक्रापोलिस पुगेर चाल पाएको थिएँ । हुनत यहाँहरुलाई पनि थाहा भएकै कुरो हो – प्राचीन एथेन्स राज्यको तिनै माटोमा सुक्रोटिसको शिष्य प्लेटो र प्लेटोको पनि शिष्य एरिस्टोटल खाइखेलि हुर्केका थिए ।

उनीहरुले खेलेको ठाउँलाई सम्झेर मात्र के गर्न सकिन्छ र ? सारा समस्याहरुको हल त्यति सजिलो नहुने रहेछ । एरिस्टोटल हुँदै टोल्मीको पृथ्बीकेन्द्रित आदर्शलाई निकोलस कोपरनिकसले १५ सय बर्षपछि उल्टाएर सूर्यकेन्द्रित बनाउन खोज्दा थुनासम्म परेका थिए । त्यसको लगभग सय बर्षपछि मात्र सूर्यकेन्द्रित आदर्शलाई ग्यालेलियोले प्रमाणित गरेर छाडे । अझै एथेनियनहरुले ह्यामलकको झोल पिलाएर सुक्रोटिसको जीवन नै नष्ट गरेका थिए । उनको अत्याधिक सम्झना गर्दै ‘सुखी सुङ्गुर हुनुभन्दा दुःखी सुक्रोटिस हुनु ठीक’ भनेपछि मात्र जोन एस मिलले आफनो पिता जेम्स मिल र उनको मित्र जेरेमी बेन्थनको उपयोगिताबादलाई गहन गरेका थिए ।

यहाँ गहन तरिकाले सोच्ने हो भने सुक्रोटिस जस्तै विवेकी हुन के सकिन्थ्यो होला र ? एथेन्स नगरमाथि हैकम जमाएको बेला आक्रापोलिस डाँडामा रहेको पार्थिननको मारबललाई ओट्टोमान साम्राज्यले अबैधानिक तवरले बेचिदिएको थियो । अहिले तिनै एलजिन मार्बलहरु बेलायती सङ्ग्राहलय, लण्डनमा रोजेटा स्टोनको साथ पाएर मज्जाले भित्तामा सजिइरहेका छन् । करिव २ हजार बर्ष जमिनमुनी बास बसेको रोजेटा स्टोन नेपोलियनका सिपाहीहरुले भेटेका थिए । त्यसपछि बेलायती सिपाहीहरुले मिश्रको रशिद बन्दरगाह नजिकैदेखि खोसेर लण्डनमा लगेको हो ।

प्राचिनकालको अति बहुमूल्य एलजिन मार्बल फेदियसको नेतृत्वमा बनेको थियो । र, कतिपय उनको आफ्नै नरम हातबाट कुँदिएको थियो । तिनै मारबलहरु आफ्नो देशमा फर्काउनका लागि ग्रिसले सयौ चोटी प्रयत्न गर्‍यो । तर अहिलेसम्म ‘हात लाग्यो शून्य’ भइरहेको छ । भाग्यबस भनौं वा दुर्भाग्यबस मिश्रले रोजेटा स्टोनको एउटा प्रतिलिपीसम्म पाएको छ । अर्को प्रतिलिपीचाँहि सङ्ग्राहलय पुग्ने पर्यटकहरुले नजर लगाउने गरेका छन् । सक्कली स्टोनचाँहि अन्तराष्ट्रिय लुटेराहरुदेखि बचाउन ठूल्ठूलो भोटेताल्चा लगाएर सिसाको सन्दुसभित्र राखिएको छ ।  

नेपालको प्रथम कुटनीतिक मित्र राष्ट्रबाट आफ्नै चिज फर्काउन त त्यति चर्को हुन्छ । अब उनीहरुको आफ्नै पोल्टादेखि लिनुपर्ने कुरो पाउन झन कति कठिन हुन्छ होला भन्ने यो त झिनो उदाहरण मात्र हो । एकदिन अक्सफोर्डको प्राङ्गणमा शशी थारुरले, ‘एक जमानामा सूर्यास्तपछि भगवान पनि अङ्ग्रेजहरुसङ्ग डराउने गर्दथ्यो । त्यसैले बेलायती जमिनमा कहिल्यै सूर्य अस्ताउदैन थियो’ भनेका थिए । धन्न ! यस ब्रम्हाण्डमा अहिले भगवानले बास गरेको छैन । किनभने, ‘भगवानको मृत्यु भयो र हामीले भगवानको हत्या गरयौ,’ फ्रेडरिक नित्सेको उक्त्त भनाइ सुनेर निर्धक्क भएको छु । त्यसैले हरहर महादेव भन्दै मन्दिरको टुप्पिमा जतिनै किलोग्रामको सुनको जलधरी राखेपनि त्यो मिथ्य रहेछ भन्ने प्रमाणित भइसकेको छ ।

यस लोकमा आखिर किन यस्तो हुन्छ ? यसको सहि उत्तर केहीसमय अगाडि नै मैले जाहेर गरिसकेको छु । यस धर्तीमा ब्रम्हको मुखबाट जन्मेकोले मात्र होइन । त्यसबाहेक अन्य ठाउँदेखि जन्मेकाले पनि घुमाउरो, काइते र दोहोरो अर्थ लाग्ने शब्दहरुको मिश्रणबाट बिभिन्न धारा र उपधाराको प्रयोग गरेर गुमराहमा राख्ने कानुनहरु बनाएका छन् । जसको परिणामले हरेक मानव जीवनलाई सादा जिन्दगी जिउन एकदमै कठिन परिरहेको छ । त्यसैले बिधिको शासनको कुरा गर्ने अक्सफोर्डको अङ्ग्रेजी कानुनका पूर्व प्राध्यापक अल्बर्ट भन डाइसीले कानुन सरल हुनुपर्छ भने । अझै उनी थप्छन्, ‘कानुनभन्दा माथि कोहि हुनुहुदैन ।’ तर उनले भनेझै त्यति सजिलो के हुन सक्थ्यो र ? यता समुन्द्रवारीका धुर्त र उता समुन्द्रपारीका उपरचोट्टा त्रिताहरुको कुकर्मले गोर्खालीहरु आफ्नो परिचयमा सम्म दोहोरो मारमा परिरहेका छन् भन्ने कुरो यहाँ पुनः संस्मरण गराउन चाहन्छु ।

कुकर्म पनि विभेदको अर्को रुप हो । र, तिनै विभेद विरुद्ध अहिलेपनि आन्दोलन चलिरहेकै अवस्था छ । गोर्खालीहरु पनि यँही धर्तिका निरपराध मानवहरु हुन् । त्यसैले मानवीय भेदभाव बिरुध्द हुने र गरिने कुनैपनि गोर्खा आन्दोलनमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ भन्ने कुरा यिनै लेख मार्फत प्रष्ट्याउन चाहन्छु । चाहे त्यो आन्दोलन कुनै खेमाको, समूहको, डफ्फाको, झूण्डको, दलको वा सरकारी निकायको नै किन नहोस् ?

तर त्यसो भन्दै गर्दा प्रतिकुल समय र बेलायती ब्यस्त जीवनशैलीले हरेक आन्दोलनमा भौतिक रुपले उपस्थित हुन जो कोहीलाई मुश्किलै पर्छ । वास्तविक यथार्थ पनि त्यही हो । त्यसैले कतिपय आन्दोलनहरुमा भौतिक रुपले उपस्थित हुन नसके तापनि यीनै शब्दहरुबाट नैतिक समर्थन गर्ने जमर्को गरेको हुँ । अझ यसलाई यसरी पुष्टि गर्दा अलिक सान्दर्भिक होला कि ? बोल्शेभिकहरुको आन्दोलनमा प्रशिध्द “आमा” उपन्यास लेखेर म्याक्सिम गोर्कीले बिद्रोही भरयाङ्गको पहिलो अखेटो थपेका थिए । त्यसैले कलमबाट पनि आन्दोलनमा सहयोग पुग्ने रहेछ भन्नेकुरा मैले ट्रेबेस्चन कारागारको उनी थुनिएको च्याम्बरमा पुगेर चाल पाएको थिएँ ।

बोल्शेभिकहरुले गरेको आन्दोलनको मात्र के कुरा गर्नु ? पटकपटक गोर्खा आन्दोलन चर्किदा उता हातमा नाङ्गो खुकुरी नचाँउदै रणभूमीमा रचेको गोर्खालीको इतिहास सुन्न चाहने मानवहरु चाहे फिनल्याण्डमा होस् वा क्यानडामा अहिले पनि छ्यासछ्यास्ति भेटिरहन्छन् । बरु जस्ले नेपालको नाम सुनेको हुदैनन्, उस्ले गोर्खालीको नाम सुनेको हुनेरहेछ । मैले यो कुरा यहाँ मार्क्सले झै आदर्शबादी (युटोपियन) ढङ्गबाट प्रस्तुतगर्न खोजेको कदापि होइन । यथार्थको धरातलमा टेकेर गरेको हुँ । तर जतिबेला बिदेशीहरुले प्रफुल्लित मुद्रामा गोर्खालीको गाथालाई खुलेर प्रशंसा गरेको सुनेको थिएँ । त्यतिबेला मेरो छाती गौरवको साथ फुलिएर सगरमाथा झै अग्लो उचाँइ लिन खोजिरहेको थियो ।    

हुनत एउटा जीवन जिउने क्रममा कमाएको ‘गोर्खालीको गाथा’ नाइल, मिसिसिपी र अमेजन नदीहरु भन्दा पनि धेरैधेरै लामा छन् । जसको अहिलेसम्म कुनै मापनयन्त्र निर्माण भएका छैनन्, सम्भवत हुने पनि छैन होला ? अन्ततः गोर्खालीको गाथा एउटा विस्तीर्ण गाथा नै हो । जस्लाई प्रस्तुति गर्नेको मूख्य भूमिका रहन्छ । तर प्रथम विश्वयुध्द र दोश्रो विश्वयुध्दमा मात्र नभएर फकल्याण्ड, खाडी राष्ट्र, पूर्व युगोस्लाभिय, इराक र अफगानिस्तान युध्दमा गोर्खालीको तातोतातो रगतबाट कोरिएका गाथाहरु हरेकबर्षको नोभेम्बर ११ तारिक बेलायती टेलिभिजनको पर्दामा नतमस्तक हुँदै हेर्ने परम्परा छ । बाँकी ३ सय ६४ दिन मज्जाले भुल्ने गरिन्छ ।

‘गोर्खाली गाथा’ जस्ले जसरी प्रस्तुत गरे पनि हुन्छ । कथमकदाचित इटाली, इजिप्ट, इराक हुँदै इम्फालको गोर्खा समाधिस्थलसम्म पुगेर १७-१८ बर्षे जनजाती युबाहरुको छातीमा उनको नाम, सैनिक नम्बर र एकजोडी ‘क्रश खुकुरी’ अङ्कित ब्याज दृश्यवलोकन गर्दा हरेक मानवको हृदय बिक्षिप्त हुन स्वभाविकै हो । त्यति कलिलो उमेरमा आफ्नो कोख रितिँदा तिनलाई जन्मदिने आमाको मन कस्तो हुन्छ होला भन्नेबारे मैले यहाँ शब्दमा बर्णन गर्न त सक्त्तिन । हो, हामीले तिनै रगत र पसिनाको मूल्य माग गरेका हौं । ताकि गेरु रङ्गको धोती पहिरन गरेर शिवलिङ्गका लागि जलधरी चढाएको मन्दिर सामु भिक्षा मागेको अबश्य होइनौँ ।

संक्षिप्तमा गोर्खा आन्दोलनले लिने गरेको सम्पूर्ण उपायहरु असफल रहन गयो भने तिनै देङ्ग साओ पिङ्गपथ ( प्रचण्डपथ भनेर नझुक्किनु होला ) अपनाउन सर्बोत्कृष्ट उपाय हुन सक्त्तछ । उनले साम्यबादको बाटोलाई तिलान्जली दिदै ‘एउटा बिरालो कालो होस् वा सेतो होस् मुसा मारयो भने ठिक छ,’ भनेर राष्ट्रको मुहार फेर्न बेलायत र अमेरिकाको विश्वबिधालयहरुलाई निसाना बनाएका थिए । अहिलेपनि हरेक बर्ष डेढ लाखभन्दा बढि चीनियाँ बिधार्थीहरुले बेलायती युनिभर्सिटी कब्जा गरिरहेका छन् । उनको सिको गर्दै हामीले पनि अक्सफोर्ड र क्याम्ब्रिजको ढोका धकेल्ने प्रयत्न गर्नै पर्छ । यदि त्यसो गर्न सक्यौ भने दुवै महादेशमा बसेर जिविका गुजार्ने हामी सबैजनालाई फाइदै फाइदा हुनेछ । यदि मेरो भनाइमा सहमत जनाउनु हुन्छ भने तिनै ढोकालाई धकेलेका गान्धी, अम्बेकडर, जिन्हा, भुट्टो, सुकी र लि क्वान युहरुले एउटा उदाहरणिय जीवन जिएका थिए ।

“आफु खान र लगाउन पाउनु मात्र सफल जिन्दगी होइन । दोश्रो पुस्ताको लागि के गरयौ भन्ने कुरो महत्वपूर्ण हो ।” हुनत मैले यस लेख लेख्दैगर्दा अक्सफोर्डमा डिफिल गर्दै गरेका हाम्रा छोराहरुले जन्मनु पूर्व क्यान्सर रोग बोकेको मुसाको घाँटी मरक्क मरकाउँदै गरेको मात्र नभएर छोरीहरुले युसिएल, क्वीनमेरी, एलएससी र वारविकहरुमा दर्शन शास्त्र, राजनीति शास्त्र बाहेक अङ्ग्रेजी कानुनको ठेलीहरुबाट ‘म्याग्नाकार्टा र शक्त्ति पृथकीकरणको सिदान्त’ घोकिरहँदा निश्चय नै हामी केही खुशी भएका छौं ।

प्रथम पुस्ताको गोर्खालीहरुले “ऐतिहासिक अन्याय” भोगिरहँदा दोश्रो पुस्ताले चाँहि पटेल, जावेद, सुनाक र खानको ठाउँहरुमा राई, लिम्बू, गुरुङ र मगरहरुको सुकोमल अनुहारहरु देखापर्ने छन् भन्नेमा म दृढ बिश्वस्त छु । यता समुन्द्रपारी त्यस्तो अनुहारहरु देखापरेपछि डोकोमा ढुङ्गा बोकेर भर्ती हुनेहरुलाई सामाजिक सन्जालमा भक्कु गाली र बेइज्जत गर्नेहरुलाई मात्र नभएर सिंहदरवार भित्र लुकेर बसेका कनिष्ठ मनुका सन्तानहरुलाई पनि त्यसदिन बिस्थापित गर्नेछन् भन्ने कुरोमा सायद दुई मत हुन नसक्ला ? सम्भवत त्यसदिनदेखि मात्र ‘अंग्रेजको गलगाँडमा रुमलिरहेको – गोर्खा पेन्सन’ को लागि कसैसँग न्यायको भिक्षा मागिरहन आवश्यक पर्ने छैन होला ?

अन्तमा, प्रजातन्त्रको जननी राष्ट्रमा बसेर कोरिएका यिनै हरपहरु मेरो ब्यक्त्तिगत बिचारहरु हुन् । यसलाई पढेर ताली वा गाली दिने महानुभावहरुलाई विश्वविख्यात मनोबिश्र्लेषक कार्ल जङ्गको भनाइ उल्लेख गर्दै मेरो विचारको बिट मार्न चाहन्छु ।

“सोच्न ज्यादै कठिन हुन्छ, त्यसैले मानिसहरु हतारमा निर्णय गरि हाल्छन् ।”

(लेखक पूर्व गोर्खा सैनिक हुन् ।​​​​​​​​​)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू