मंगलबार, वैशाख २५, २०८१
16:42 | २१:२७

ग्रीनवीच फेस्टिभल सेप्टेम्बर ११ मा, तयारीमा जुट्दै साउथ इष्टको सिंगो समुदाय

नेपाली लिङ्क अगस्ट १५, २०२१

लन्डन । साउथ इष्ट लन्डनमा वर्षेनी आयोजना हुँदै आएको ग्रीनवीच फेस्टिभल यस वर्ष आगामी सेप्टेम्बर ११ तारिख शनिबार हुने भएको छ ।  

नेपाली युथ एशोशिसन यूकेको आयोजनामा वुल्लिचको रोयल आर्टिलरी ब्यारेकको मैदानमा फेस्टिभल संचालन हुनेछ । 

फेस्टिभलको प्रमुख आकर्षण यूकेव्यापी फुटबल प्रतियोगिता रहनेछ । जसमा बेलायतभरका नेपाली खेलाडीहरुका एक दर्जन टीमले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेता टीमलाई नगद १५ सय पाउन्डसहित ट्रफी र मेडल प्रदान गरिनेछ । दोस्रो हुनेले नगद ५ सय पाउन्ड र ट्रफी, मेडल प्राप्त गर्नेछन् ।  

फेस्टिभलमा फ्रेन्डली महिला भलिबल, सांगीतिक प्रस्तुति लगायत थप मनोरन्जनात्मक कार्यक्रम पनि हुनेछन् । दाजुभाइ ब्यान्ड र अन्य स्थानीय कलाकारले लाइभ सांगीतिक प्रस्तुति गर्नेछन् ।  

बिहान ९ बजे शुरु हुने फेस्टिभल साँझ ६ बजे सकिनेछ । कार्यक्रमस्थलमा नेपाली खानाका स्टल साथै बालबालिकाको लागि मानोरन्जनात्मक खेलहरु पनि राखिनेछ ।

यसैबीच, आयोजक एशोसिएसनले आइतबार स्थानीय समुदायका अगुवा र संघसंस्थाका प्रतिनिधिहरुसँग एक अन्तरक्रिया गरी फेस्टिभल तयारीबारे छलफल गरेको छ ।  

एशोसिएसनका अध्यक्ष लछुमन गुरुङको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा साउथ इष्ट लन्डनस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले फेस्टिभल सफल पार्न आ-आफ्नो तर्फबाट सहयोग र सहभागिताको प्रतिवद्धता गरे ।  

एशोसिएसनका सल्लाहकार जीवन सेनले संयोजन गरेको कार्यक्रममा अध्यक्ष लछुमन गुरुङले एक प्रिजेन्टेसनमार्फत् संस्थाका गतिविधिबारे जानकारी गराए । उनले ग्रीनवीच फेस्टिभलको अवधारणाबारे स्पष्ट पार्दै कार्यक्रमलाई साउथ इष्ट लन्डनवासी सबै नेपालीहरुको रमाइलो जमघट हुने पर्वका रुपमा आयोजना गर्न लागिएको बताए ।  

कार्यक्रम संयोजक संस्थापक अध्यक्ष एवम् साउथ इष्ट रिजनल तमुधिं अध्यक्ष ह्यारी गुरुङ, एशोसिएसनका संस्थापकमध्येका एक प्रसिद्ध प्रधान, सल्लाहकार एवम् साउथ इष्ट रिजनल तमुधिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, एशोसिएसनका उपाध्यक्ष राजन खकुराल लगायतले ग्रीनवीच फेस्टिभलका विगतका अनुभवहरु शेयर गर्दै आगामी कार्यक्रमका योजना पनि सुनाए ।  

कार्यक्रममा आरजीएनएसका अध्यक्ष जीत रानाभाट र उपाध्यक्ष पुण्य रेग्मी, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, पशुपतिनाथ मन्दिर प्लमस्टिड अध्यक्ष दासुराम पाण्डे, चार्ल्टन नेपाली समाज अध्यक्ष कृष्ण खरेल, सोसाइटीअफ नेप्लिज प्रोफेसनल्सका अध्यक्ष माधव पराजुली, डाटफोर्ड नेपाली समाजका अध्यक्ष लेखनाथ खरेल, एनआरएनए आइसीसी सदस्यहरु अर्कराज तिम्सिना, सुरोज मास्के र एलएन पाण्डे, एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, एकाउन्टेन्ट राजेन्द्र सुवेदी, हरिकृष्ण पौडेल लगायतले आ-आफ्ना सुझावसहित आवश्यक सहयोगको प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा उपस्थित हुन नसकेका अन्य कयौं स्थानीय संघसंस्थाका प्रतिनिधिले पनि ग्रीनवीच फेस्टिभलमा आफ्नो साथ र सहभागिता रहने भन्दै सन्देश पठाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू