आइतबार, जेठ ६, २०८१
07:04 | ११:४९

प्रशिक्षण सकेर फर्किए नेपाली सेनाका अधिकृत पिटर, डोरसेटमा विदाई

नेपाली लिङ्क जुलाइ ३१, २०२१

लन्डन ।  प्रशिक्षणका लागि बेलायत आएर उत्कृष्ट बन्न सफल धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा शुक्रबार नेपाल फर्किएका छन् । थापालाई डोरसेटस्थित २९०२९ रेष्टुरेन्टका तर्फबाट विदाई समारोहको आयोजना गरिएको थियो ।

बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्ये एक डर्डल डोरबाट करिब ७ माइल दुरी डोरसेटमा अवस्थित उक्त रेष्टुरेन्ट विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नामाकरण गरिएको हो । रेष्टुरेन्टका संचालक मध्येका उत्सव बिष्ट, सेफ शशीधर खरेल तथा प्रकाश खरेल लगायतले थापालाई बेलायतमा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएकोमा बधाई दिंदै सफल भविष्यको कामना गरेका थिए ।

बेलायतवासी नेपालीको माया र सद्भावबाट प्रसन्न भएको बताउंदै थापाले बेलायत बसाइका क्रममा आफूले पाएको सम्मान सम्पूर्ण नेपाल र नेपालीकै भएको र आफूलाई थप जिम्मेवारीका साथ अगाडी बढ्न प्रेरणा मिलेको  बताए । थापा कतार एअरलाइन्सको उडानबाट  शुक्रबार नेपाल फर्किएको र डेढ वर्षपछि पुन: बेलायत आउने रेष्टुरेन्ट संचालक उत्सव बिष्टले जानकारी दिए ।

२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्स (पिसिबिसी) २००३ मा ‘टप इन्टरनेशल स्टुडेन्ट’ घोषित भएका थिए । गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्याण्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।

यसअघि थापालाई विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ हप्ताको प्रशिक्षण सम्पन्न गरेको अवसरमा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड प्रदान गरिएको थियो । कोरोना संक्रमणका कारण सो कार्यक्रममा बेलायती महारानीको अनुपस्थितिमा महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभिरेन परेडका क्रममा ‘इन्टरनेशनल सोर्ड अफ अनर’ प्रदान गरेका थिए ।

करिब दुई दशकयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । यसका साथै थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमीस्यान्डहर्स्टस आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू