शनिबार, वैशाख ८, २०८१
16:32 | २१:१७

बेलायतका गुल्मेलीले पठाए गृहजिल्लालाई एक करोड बढीका सर्जिकल मास्क

नेपाली लिङ्क जुलाइ ३०, २०२१

गुल्मी पुगेको सर्जिकल मास्क हस्तान्तरण गरिंदै

लन्डन । बेलायतवासी गुल्मेलीहरुले आफ्नो गृहजिल्लालाई सहयोगस्वरूप तीन लाख २१ हजार सर्जिकल मास्क पठाएका छन् ।  

गुल्मी जिल्ला समाज यूकेको पहलमा पठाइएका मास्क गुल्मीका १० गाउंपालिका र २ नगरपालिकासहितका सम्पूर्ण स्थानीय निकायमार्फत् वितरण हुने गरी शुक्रबार हस्तान्तरण समेत भइसकेको छ ।  

सदरमुकाम तम्घासमा एक कार्यक्रमबीच गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै स्थानीय निकायका प्रतिनिधिहरुलाई सहयोग मास्क हस्तान्तरण गरेकी थिइन्   

जिल्लाभरका स्वास्थ्य चौकीहरु साथै जोखिमयुक्त कार्यमा खटिने सुरक्षाकर्मी, पत्रकार तथा असहाय, निमुखा जिल्लावासीहरुको लागि मास्क पठाइएको गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष टोप पल्लीले बताए ।  

जिल्लाका दुई नगरपालिकाका लागि २६ हजार ४ सय मास्क वितरण गरिएको छ भने १० गाउँपालिकाका लागि २२ हजारको दरले बांडिएको छ । त्यस्तै, जिल्ला अस्पताल गुल्मीलाई १७ हजार ६ सय मास्क प्रदान गरिएको छ भने  रिडी, श्रींगा, जोहाङ र धुर्कोटस्थित प्राथमिक स्वास्थ्य चौकीहरुलाई ४ हजार चार सयको दरले बांडिएको छ ।

पत्रकार महासंघ गुल्मीलाई ४ हजार २ सय, रेसुंगा बहुमुखी क्याम्पसलाई २ हजार २ सय,  जिल्ला प्रशासन कार्यालय र  सुरक्षाकर्मीहरूका निम्ति २८ हजार ६ सय प्रदान गरिएको छ ।

कोभिड संक्रमणको जोखिमबाट जोगाउने उद्धेश्यले सर्जिकल मास्क सहयोग पठाउने अभियान संयोजन समाजका महासचिव बीर बलालले गरेका थिए भने सहसंयोजकका रुपमा सल्लहकार कोशलेश्वर ढकाल, सहकोषाध्यक्ष तारा भट्टराई र सदस्य राधा खरेलले सहयोग गरेका थिए ।  

अभियानका लागि समाजका सल्लाहकार फत्त थापाले आफू आबद्ध ‘होम इन्सटेड’ कम्पनीका तर्फबाट झन्डै ६५ हजार पाउन्ड पर्ने तीन लाख २१ हजार सर्जिकल मास्क उपलब्ध गराएका थिए ।  

मास्कहरु ढुवानी तथा कार्गोका लागि करिब ११ हजार पाउन्ड रकम गुल्मी जिल्ला समाज यूकेको पहलमा बेलायतमा जुटाइएको थियो । जसमध्ये सल्लाहकार फत्त थापाले आफू आबद्ध ‘होम इन्सटेड’ बाट २ हजार २ सय पाउन्डको सहयोग दिलाएका थिए भने सोनम पल्लीको पहलमा किशोर-किशोरीहरुले ५ सय पाउन्ड सहयोग जुटाएका थिए ।  

काठमाडौं एयरपोर्टबाट गुल्मीसम्म ढुवानीदेखि हस्तान्तरणसम्मको कार्यमा समाजसेवी लिलामणि पौड्यालले सहयोग गरेका थिए ।त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले समेत मास्क पठाउने क्रममा भन्सार छुटका लागि सहजीकरण गरिदिएको थियो ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष टोप पल्लीले महामारीका बेला १ करोड रुपैँया बढी लागतको सर्जिकल मास्क  सुरक्षा सामग्री जिल्लामा पठाउन सकिएकोमा खुशी व्यक्त गर्दै विशेष सहयोगदाता कम्पनी होम इन्सटेड, सल्लाहकार फत्त थापा र सम्पूर्ण सहयोगदाताप्रति आभार प्रकट गरे । 

यसअघि समाजले गत असार महिनामा पनि गुल्मीका दुर्गम क्षेत्रका बासिन्दाका लागि करिब साढे ७ लाख रुपैँया बराबरका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू