बुधबार, वैशाख १२, २०८१
12:09 | १६:५४

बेलायतका नेपाली इन्जिनियरहरुको छैठौं वृहत सम्मेलन

नेपाली लिङ्क जुलाइ १६, २०२१

लण्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूके (सोनेयूके)’ ले छैठौं वृहत सम्मेलन गरेको छ ।

विगत वर्षहरुको आफ्नो परम्परालाई निरन्तरता दिँदै गत १० जुलाई २०२१, शनिबार विद्युतीय माध्यमबाट सम्मेलन भएको हो । 

‘कोभिड-१९ पश्चात इन्जिनियरिङका चुनौति र अवसरहरु’ शिर्षकमा गरिएको उक्त सम्मेलन उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो शुभकामना मन्तब्यसहित गरेका थिए । 

बेलायत लगायत नेपाल, अमेरिका, फ्रान्स, अस्ट्रेलिया, उजबेकिस्तान आदिबाट ७० जना भन्दा बढि इन्जिनियर सहभागी उक्त सम्मेलनमा बिभिन्न व्यवसायिक संघसंस्थाको प्रतिनिधित्व गर्दै केहि गैर-नेपाली इन्जिनियरहरुले पनि सहभागिता जनाए ।

सोनेयूकेका महासचिव डा. विदुर घिमिरेले संचालन गरेको उद्घाटन सत्रमा राजदूत रेग्मीले कोभिड महामारीका कारण इन्जिनियरिङ, निर्माण, दिगो विकास र कार्यक्षेत्रमा परेको असर सम्बन्धि ८ वटा कार्यपत्र समेटिएको सम्मेलन पुस्तिकाको अनावरण गरे ।

उक्त अवसरमा राजदूत रेग्मीले यस्तो सम्मेलनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न सहयोग हुने विश्वास व्यक्त गर्दै कोरोना महामारीबाट बाहिरिएपछि भविष्यमा हुने यस्ता सम्मेलन दूतावासकै प्राङ्गणमा आयोजना गर्न सहयोग गर्ने विश्वास दिलाए । 

सम्मेलनमा गैर आवासीय नेपाली संघ, बेलायतकी अध्यक्ष श्रीमति पुनम गुरुङ, इन्जिनियर्स अष्ट्रेलिया – बेलायत प्रभागकी सभापति सुश्री निकोला टेल्सिक, अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सका अध्यक्ष ठाकुर ढकाल आदिले सम्मेलन सफलताको शुभकामना दिंदै आगामी दिनमा सोनेयूकेसँग सहकार्य गर्दै इन्जिनियरिङ क्षेत्रबाट नेपालको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्मेलनको प्राविधिक सत्रको सुरुवात गर्दै सोनेयूकेका उपाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक नारद भण्डारीले सम्मेलन विगतका वर्षहरुको निरन्तरता स्वरुप व्यवसायिक इन्जिनियर तथा प्राध्यापकहरुबीच विचार र ज्ञान आदानप्रदान गर्दै इन्जिनियरिङ व्यवसायिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप आयोजना गरिएको जानकारी दिए । 

उनले विश्वव्यापी रुपमा छोटो समयमानै यो अदृश्य महामारी सँग लड्न चाहिने उपकरणहरु जस्तै ‘पिपिई’, ‘भेन्टिलेटर’ ‘अक्सिजन कन्सन्ट्रेटर’ आदिको विकासकासाथै उच्च प्राविधिक उपायहरुको प्रयोगबाट नयाँ अस्पताल निर्माण तथा भएका अस्पतालका आवश्यक क्षमता अभिवृद्धि गर्न इन्जिनियरहरुले खेलेको भूमिकाको प्रशंसा गरे।

भण्डारीले सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नेप्रति आभार एवं कृतज्ञता पनि व्यक्त गरे ।

सोनेयूकेका महासचिव डा. विदुर घिमिरे तथा सचिव डा. रोशन भट्टराईको सहयोगमा दुई चरणमा गरिएको प्राविधिक सत्रको पहिलो तथा दोश्रो चरणको अध्यक्षता क्रमश: ‘वेस्टर्न स्कटल्याण्ड विश्वविद्यालय’ का प्राध्यापक केशव दाहाल र ‘पोर्ट्समाउथ विश्वविद्यालय’ का प्राध्यापक होमनाथ ढकालले गरेका थिए ।

दुवै सत्रमा जम्मा ८ प्राविधिक कार्यपत्र, ३ मुख्य अभिभाषण र ३ अतिथि अभिभाषण प्रस्तुत गरिएको थियो ।

 सम्मेलनको अन्त्यमा सोनेयूकेका अध्यक्ष संयुक्त श्रेष्ठले कार्यक्रम समापन गर्दै सहभागी मुख्य अतिथि, आमन्त्रित पाहुना, संचारकर्मी, आफ्ना सदस्य तथा अन्य सहभागीलाई धन्यवाद दिए ।

उनले सम्मेलन सफल बनाउन सहयोग गर्ने आयोजक समितिका सदस्यहरु, चौथो कार्यसमितिका सदस्य तथा प्रायोजकप्रति पनि आभार प्रकट गरे । 

उनले नेपालका लागि इन्जिनियरिङ क्षेत्रमा सहयोग गर्ने उद्देश्य मात्र नबोकि सोनेयूकेले त्यसको आवश्यकता नै महसुस गर्दै समग्र अस्तित्वको सान्दर्भिकतालाई परिभाषित गरेको कुरा प्रष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू