शुक्रबार, चैत १६, २०८०
14:28 | २०:१३

देश विदेशका साहित्यकारले सम्झिए भानु

नेपाली लिङ्क जुलाइ १५, २०२१

लण्डन । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले यस पटक २०८ औं भानु जयन्ती भर्चुअल कार्यक्रम गरी मनाएको छ । नेपाल लगायत विश्वका विभिन्न देशहरुबाट करिब ५ दर्जन श्रष्टा सहभागी उक्त समारोह गत शुक्रबार भएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रसिध्द आख्यानकार-साहित्यकार कृष्ण धराबासीले आजको सन्दर्भमा आदिकविको महत्व अनि गरिमाबारे चर्चा गरे । 

नेपाली साहित्यको विकासक्रममा भानुभक्त नै कसरी आदिकवि भए भनेर फेहरिस्त प्रस्तुत गर्दै उनले भानु आदिकवि मात्र नभएर देशको माटो र संस्कृतिसंग गांसिएका कालजयी श्रष्टा भएको पनि बताए ।  

कार्यक्रमको अध्यक्षता गरेका विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईले भानु जयन्ती आजको परिवेशमा फरक ढंगले मनाउंदा केही नयाँपन आएको बिचार राख्दै आदिकविले नेपाली भाषा, साहित्यमा दिएको योगदानको चर्चा गरे । 

प्रसाईले भक्तिधारामार्फत अत्यन्तै सुन्दर काब्य सृजना गर्ने भानुमा राष्ट्रलाई भाषिक र सांस्कृतिक रूपमा एकीकरण गर्ने बिराट छवि भएको भन्दै आफ्नो मत राखे । प्रसाईले भानुलाई चिनाउने मोतीराम भट्टको चर्चा गर्दै भानु नेपाली भाषाका मानस पिता भएको कुरा पनि उल्लेख गरे ।  

कार्यक्रममा विशेष अतिथी पूर्व राजदूत प्रह्लाद्कुमार प्रसाईले भानु आफ्नो देश, नेपाली जातिमा गर्व गर्ने महापुरुष भएको बताउँदै रामायण रचना गर्दा उनले वाल्मीकि रामायणलाई नेपालीपन र ढांचामा प्रस्तुत  गरेर संस्कृतको बोलवाला भएको नेपाली समाजमा भाषा, साहित्यको उत्थानमा क्रान्तिनै गरेको टिप्पणी गरे ।  

संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले प्रमुख अतिथिको परिचय गर्ने क्रममा धराबासीको सरल, निर्मल अनि सादगी व्याक्तित्वको चर्चा गरिन् ।

धराबासी लिला लेखनका हस्ती एव दर्जनौं अब्बल कृति दिने सर्जक भएको आफ्नो अभिमत राख्दै धराबासीको ऐतिहासिक पृष्ठभूमिसंग जोडिएको सुन्दर प्रसंग जोडेर उप्रेतीले उनलाई कर्मयोगीको संज्ञा दिइन् ।
 

विशेष अतिथी एवम विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठान युरोप च्याप्टरका अध्यक्ष खगेन्द्र पाठकले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृतिको खातिर आफु निरन्तर लागि परेको आफ्नो भनाई राख्दै आफ्ना केही मुक्तक वाचन गरेका थिए ।

अर्का बिशेष अतिथी प्राध्यापक फणीन्द्रराज निरौलाले कार्यक्रममा वाचित कविताहरुको संक्षिप्त समीक्षा प्रस्तुत गरे भयो नेपाली कविताहरु उम्दा कोटीका फरक आयम र स्वाद बोकेर आएका भन्दै सर्जकले छन्द कविताको अध्यनमा समेत जोड दिनु पर्ने धारणा राखे। 

यस्तै विशेष अतिथि प्राज्ञ  एवम वरिष्ठ साहित्यकार उन्नती बोहरा शीलाले आफ्ना सुन्दर दुई गीत गाएर कार्यक्रममा नयाँ  मिठास, रौनक एवम उर्जा छरेकी थिइन् ।

कार्यक्रममा विशेष अतिथी आदरणीय बयोबृध्द लोक गायिका पम्फा सिटौलाको स्वरमा ओजपूर्ण, सुमधुर संगिनी गीत प्रस्तुत  हुंदा गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। ९१ वर्षीया लोक गायिकाको परिचय संस्थाकी सदस्य राधिका दाहालले प्रस्तुत गरेकी थिइन् ।

यसैगरि वरिष्ठ साहित्यकार एवम विशेष अतिथी बशुश्री पान्डेले पनि आफ्नो कविता प्रस्तुत गरिन् ।  

संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईले आफ्नो मन्तब्य राख्दै भानु सम्बन्धी कविता प्रस्तुत गरे । कार्यक्रममा संस्थाका महासचिव पुकार तिमल्सिनाले सम्पूर्ण श्रष्टा, अतिथी अनि संस्थाका पदाधिकारीहरुलाइ स्वागत गर्दै आफ्नो मन्तब्य राखेका थिए ।  

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरकी महासचिव मन्जु भन्डारीले भाषा प्रतिको आफ्नो अनुरागलाई उजागर गर्दै कविता प्रस्तुत गरेकी थिइन् । यसै गरि संस्थाकी सचिव कोपीला शिवाकोटीले एउटा राष्ट्रिय गीत प्रस्तुत गरिन् ।  

कार्यक्रम नेपाल लगायत विश्वभरिबाट सृजना वाचन गर्ने श्रष्टाहरुका कारण अरु  रोचक बन्न गएको थियो। कविता-मुक्तकहरु कुनै भानुमा केन्द्रित थिए भने कुनै स्वतन्त्र रूपमा लेखिएका थिए, कुनै छन्दमा थिए भने कुनै स्वछन्द रुपमा प्रस्तुत गरिएका थिए, कुनैमा घर देश र कुनैमा परदेशका आवाजहरु मुखरित भएका थिए, त्यस्तै कुनै सर्जकले भानुभक्तको रामायणबाट समेत श्लोक बाचन गरे । 

कार्यक्रममा बरिष्ठ कविहरु निर्मलरमण पराजुली, भुवन शिवाकोटी चौघरे, डा. गोपाल पौडेल मन्डने, गंगा लिगल, खेमराज निरौला, ललिता दोषी, सुशीला ढकाल अधिकारी, राधिका दाहाल, सीता अर्चना पौडेल, मन्जु बिमली, दुर्गा सिटौला, रश्मि रिमाल, दुश्यन्त भट्टराई, मोहन राज, पवन प्रसाईं, परु तिमल्सिना, बिरबाहादुर लोहनी, कल्पना त्रिपाठी, कृष्णराज डीसी, क्षितिज प्रसाईं, उज्ज्वल निरौला र बालकवि हिमानी उप्रेतीले रचना वाचन गरेका थिए।  

संस्थाका सल्लाहाकर किशोर उप्रेतीले कार्यक्रम व्यवस्थापन गरेका थिए । प्राविधिक एवम अन्य विविध पक्ष चुस्त, दुरुस्त बनाउन संस्थाका सह कोषाध्यक्ष बिनोद कुमार श्रेष्ठ र सदस्य तिर्थराज दाहाल एवम रोटरी क्लबका सदस्य केशवराज ज्ञवालीले महत्वपूर्ण भूमिका निभाएका थिए ।  

कार्यक्रममा पूर्वमन्त्री हरिप्रसाद न्यौपाने, पन्डित निलहरी घिमिरे, सीता प्रसाईं, कमलराज प्रसाईं, सुमित्रा उप्रेती, चेतन सिटौला, लीला सिटौला, फुलकुमारी ढकालको पनि उपस्थिति थियो ।  

यदृक्षा उप्रेतीले सन्चालन गरेको झन्डै ४ घन्टा लामो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रीता शिवाकोटीले सबैप्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गरेकी थिइन् । –मन्जु भण्डारी  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू