बिहीबार, वैशाख २०, २०८१
22:29 | ०३:१४

इंग्ल्याण्डमा १९ जुलाइदेखि कोभिड सम्बन्धि सबै नियम हट्ने

नेपाली लिङ्क जुलाइ ५, २०२१


लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले १९ जुलाइदेखि इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि बांकी प्रतिवन्ध हटाउन सकिने बताएका छन् ।

सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जोन्सनले अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने र रेष्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने नियम हटाइने जनाए ।

सरकारको पूर्व निर्धारित ‘रोडम्याप’ अन्तर्गत चौंथो तथा अन्तिम चरणमा ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सिमित दर्शकको नियम पनि १९ जुलाइदेखि हट्नेछ । साथै हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि हटाइनेछ । विवाह, अन्त्येष्टी र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् ।

यसबारे १२ जुलाइमा पछिल्लो तथ्यांक हेरेर समिक्षा गरिने छ । स्कुल बबल, ट्राभल र सेल्फ आइसोलेसनबारे छिट्टै अपडेट गरिने प्रधानमन्त्री जोन्सनले जनाए ।

ति नियम हटाउने बेला कोभिड १९ संक्रमण बढ्ने सम्भावना रहेपनि खोपका कारण मृत्युदर न्यून हुने विश्वास मन्त्रीहरुको छ । सरकारले सेप्टेम्बर अन्तिमसम्म १८ वर्ष माथिका सबैलाई खोप लगाइने बताएको छ ।

बेलायतमा २४ घन्टामा २७ हजार बढी संक्रमित

बेलायतमा पछिल्लो २४ घन्टामा २७ हजार बढी नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७  हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।

नयाँसंगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ३० हजार ५३४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २३१ पुगेको छ ।

७ करोड ९० लाख बढी खोप वितरण

बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाइ ५ सम्मको तथ्यांक अनुसार यहाँ ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू