मंगलबार, चैत ६, २०८०
07:16 | १३:०१

नेपाललाई राहत जुटाउन बेलायती अभिनेताको मौन अभियान

रासस जुन १८, २०२१

लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका रुपमा सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम संकलन अभियान थालेका छन् ।

‘जीवनको सबैभन्दा गाह्रो चुनौती’ का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रायोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएका उनी अब बोल्न पाएका छन् ।

बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्  । ‘जस्ट गिभिङ’ नामक परोपकारी वेबसाइटमार्फत रकम संकलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए 

‘फ्यज’ नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो संकटमा सबैले साथ दिन अनुरोध गरेका छन् ।

उनको अभियानबाट जुन २५ तारिखसम्म जति रकम संकलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो संकटमा केही भए पनि सहयोग पुग्ने उनको विश्वास छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने उनले  जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू