मंगलबार, चैत ६, २०८०
05:17 | ११:०२

बेलायतमा आजदेखि भारतबाट यात्रा प्रतिवन्ध, नेपाल पनि जोखिममा

नेपाल पनि ‘रेड लिष्ट’को जोखिममा

नेपाली लिङ्क अप्रिल २३, २०२१

लन्डन । आज बिहान ४ बजेदेखि भारत पनि  बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियम अन्तर्गतको  ‘रेड लिष्ट’ मा सूचिकृत भएको छ । शुक्रबारदेखि भारतलाई ‘रेड लिष्ट’ मा राखिने बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यसअघि नै जानकारी दिएका थिए ।

भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि बेलायत सरकारले यस्तो निर्णय गरेको हो । सन् २०१९ को अन्तबाट शुरु भएको कोरोना भाइरस संक्रमण सन् २०२१ सम्म आइपुग्दा सबैभन्दा बढी  दैनिक संक्रमण हुने मुलुकमा भारत अग्रस्थानमा छ ।

पछिल्ला दुई दिनमा भारतमा दैनिक  तीन लाख भन्दा बढी संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

‘रेड लिष्ट’ मा परेसंगै पछिल्लो १० दिनमा भारतको यात्रा गरेका यात्रुहरुलाई बेलायत प्रवेशमा रोक लगाइनेछ । कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा करिब ४० देश समावेश छन् ।

बेलायती नागरिक वा बेलायतको ‘रेसिडेन्स पर्मिट’ हुनेहरुलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन् बस्नुपर्नेछ । होटेल क्वारेन्टिनका लागि लाग्ने साढे १७ सय पाउन्डको खर्च समेत यात्रु आफैंले व्यहोर्नुपर्नेछ ।

नयाँ नियम भारतबाट आउने मात्र नभइ भारत हुँदै आउने यात्रुहरुलाई पनि लागू हुनेछ । जसको प्रतक्ष्य असर नेपालबाट आउने यात्रुलाई पनि पर्ने निश्चित छ । भारतसंग सिमाना जोडिएको छिमेकी मुलुक नेपालमा पनि कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँ बस्दै आएका नेपालीहरु नेपाल फर्किन थालेका छन् । दिनमा एकसय भन्दा कम संक्रमित रहँदै आएको नेपालमा अहिले दैनिक संक्रमितको संख्या दुई हजार तीन सय भन्दा बढी पुगेको छ ।

सोहि अनुपातमा संक्रमण दर बढ्दै जाने हो भने नेपाल पनि बेलायतको ‘रेड लिष्ट’ मा पर्ने प्रवल सम्भावना छ । बेलायतमा र नेपालमा हुने कोरोना संक्रमण ठिक विपरित हुने भएकोले बेलायतमा कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि थुप्रै गैर आवासीय नेपालीहरु अहिले नेपाल पुगेका छन् ।

विशेष गरि गैरआवासीय नेपाली संघका थुप्रै अभियन्ताहरु नेपालमा रहेका छन् । तर, पुन: नेपालमा संक्रमण बढ्न थालेपछि बेलायत फर्किने तरखरमा रहेकाहरु भरतलाई ‘रेड लिष्ट’ को सूचीमा राखेपछि संकटमा परेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गोरखाको लाप्राकमा निर्मित नमुना बस्ती अधिकारिक रुपमा हस्तान्तरण गर्न पनि यतिबेला विभिन्न मुलुकका एनआरएनए अभियन्ताहरु नेपालमा छन् ।

शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमुना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउंपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरिसकेका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू