शनिबार, साउन १२, २०८१
06:46 | ११:३१

इंग्ल्याण्डमा लकडाउन हटेसंगै बढ्यो भीड (फोटोफिचर)

नेपाली लिङ्क अप्रिल १२, २०२१

लन्डन । सन् २०२१ को शुरुबाटै बन्दाबन्दी (लकडाउन) को मारमा परेका इंग्ल्याण्डवासीहरुले आज सोमबारबाट आंशिक मुक्ति पाएका छन् ।  पब गार्डेन, रेष्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्यूटी नेल सलुन, जिम, स्पा, स्वीमिङ पुल आदि व्यवसाय  पुनः खोल्न पाउने भएका छन् । नयाँ प्रकृतिको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले ५ जनवरी २०२१ बाट तेस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको थियो ।

सोमबार इंग्ल्याण्डका सबैजसो हाइ स्ट्रिटहरुमा मानिसहरुको ठूलो घुइंचो लागेको देखिन्थ्यो । संक्रमण फैलिने त्रासका कारण सिमित मानिसहरुलाई प्रवेश गर्न दिइने भएकाले पसलबाहिर लामो लाइन लागेको देखिन्थ्यो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गतहप्ता सम्बोधन गर्दै दोस्रो चरण अन्तर्गत अप्रिल १२ देखि पूर्व घोषित ‘रोडम्याप’ अनुसार नै लकडाउन खुल्ला गरिने घोषणा गरेसंगै इंग्ल्याण्डवासीहरु थप उत्साहित बनेका थिए ।

सोमबारबाट पब, रेष्टुरेन्टले बढीमा ६ जनाको समूहलाई आउटडोर (बाहिर) टेबल सर्भिसमा  खाना तथा पेय पदार्थ विक्रिवितरण गर्न पाउने भएका छन् । आजबाट स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन् । एउटै घरका परिवार इंग्ल्याण्डमा होलिडे जान सक्नेछन् तर खाने बस्ने उनीहरु आफैंले प्रवन्ध गर्नुपर्नेछ । बिहेमा १५ जना र अन्त्यष्टीमा बढीमा १५ जनासम्म सहभागी हुन पाउनेछन् ।

बेलायतमा  गत वर्षको मार्च २३ तारिखबाट पहिलोपटक  तीन महिना भन्दा लामो लकडाउन गरिएको थियो भने नोभेम्बर ५ बाट  ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । तर, डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै नयाँ कोरोना भाइरस भेरिएन्ट देखा परेपछि संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । जनवरी ५ बाट इंग्ल्याण्डमा तेस्रो देशव्यापी लकडाउन गरिएको थियो  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू