बुधबार, वैशाख १२, २०८१
13:43 | १८:२८

यसरी पोखिए मेरो जीवनका ‘रङ’ हरु

अजिता सिम्खडा अप्रिल ९, २०२१


जीवनका रङमा रंगिएकी यस जगतको रंगमञ्चकी एक कलाकार म । कथा, पटकथाका भागहरुसंग रुमल्लिंदै भावका वेग र छालहरु शब्द-शब्दमा भोगाइहरु साट्दै जाँदा, कार्यकारिणीको सिद्धान्तका रङसँग समायोजन गर्दा, ती गह्रा  गह्रामा रोपिएका अनुभुतिहरुको एक सँगालो हो ‘रङ’। 

धर्तीमा देखिएका रङसँग एकाकार हुँदै जीवनका भागमा परेका रङसंग यथार्थ र अनुभूतिका अदृश तरंगहरुको दृश्यात्मक प्रस्तुति हो ‘रङ’। क्षितिजका पहेलीहरुमा  रङका क्यानभासहरु नकोरिएको कहाँ थिए र ? ती केवल सपना भित्रका सपना थिए । इन्द्र धनुषका सातै रङसंग रमाएका जीवन लीलाका कठिन र रोमान्चक प्रदर्शन अनि मेरा भोगाइहरुको सँगालो हो ‘रङ ‘।   

म देख्छु यस धर्तीमा हरेक व्यक्ति आ-आफ्नै किसिमको गुण र अवगुण लिएर जन्मिएका हुन्छन् । कयौं जुनीदेखिका संस्कार, कर्मका हिसाबकिताबमा आफ्ना कर्ममा बेहिसाब बेहोशीमा जीवन चक्रमा गतिमान छन् । सायद म त्यहि भाग्यमानी हुँ, आफ्ना भोगाइहरुलाई कलात्मक प्रस्तुतिमा, भावहरूलाई शब्दहरुमा उतार्न सकें । एक नर्सका रुपमा मैले जीवनलाई नजिकबाट देखेको छु, भर्खर यस धर्तीमा पदार्पण गरेका शिशुको आँखा उघारीदिनेदेखि ,जीवनका जीवले शरीर छाडिसकेपछि आँखा बन्द गरिदिने एक जन्म-मृत्युका साक्षी । जन्मका उत्साहका रङ, मृत्युका सन्नाटाका बेरंग पनि देखेको छु । मेरा यी भोगाइहरु सुनिदिने, मनन गरिदिने मेरो अक्षरहरुको  मिलन बिन्दु हो मेरो लेखरचना ।   

डायरी पन्नाहरुमा आफ्ना अनुभूति साटासाट गरेको वर्षौं भयो । तर कुनै ठोस लेखको रुपमा कतै प्रस्तुत गरेकी थिइन । सायद यसको श्रेय नेपलिज नर्सिङ एसोसियसन यूकेलाई जान्छ । नर्सिङ एसोसियसन यूकेले आयोजना गरेको पहिलो नेपाली  नयाँ वर्ष कार्यक्रममा दिएको मेरो मन्तव्य  सकिएपछि एक आदरणीय दाजु भिम लिम्बूले मलाई भन्नुभो, ‘बैनी तपाईंको भाषण सुन्दा लेख्ने जस्तो लाग्यो, ल मलाई एउटा लेख एक हप्ताभित्र दिनोस् त ।’ 

हो, उहाँको यीनै शब्दहरुले नै आज एउटा लेखकको जन्म दिएको हो । उहाँ नै मेरो पहिलो प्रेरणा हुनुहुन्छ, दाजु भिम लिम्बूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।   

जीवनरुपी यात्राका गोरेटोमा कोहि सुखद बटुवासंगको मिलन हुन्छ र यात्रा मिठासपूर्ण र सुन्दर हुन्छ जसले प्रेरणा, हौसला, उर्जा, सम्मान, प्रेमको आभास गराउँछ । अझ भनौं, जीवनको आभास गराउने हुन्छ भने कोहि त्यसको विल्कुल विपरित । कोहि यस जीवनको रंगमञ्चमा खलनायक भएर प्रस्तुत हुन्छन्  त कोहि नायक भएर जीवनमा उर्जा, प्रेरणा, उत्साह, हौसला बनिदिन्छन् । हो, त्यही हौसला भएर यस जीवनको महासागरमा नौका बनेर पार गराउने हरेक व्यक्तित्वप्रति नमन टक्र्याउन चाहन्छु । 

मेरो पहिलो लेख छापिदिने युरोपको नेपालीपत्र, मेरो हरेक लेख, रचना सुनिदिने पहिलो श्रोता प्रतिष्ठा पराजुली र शर्मिला ढकाल, मेरो लेखरचनालाई पत्रिकामा छाप्न हौसला दिनुहुने नवीन पोखरेलजी, मेरो लेख ‘रत्नपार्कको दृश्य’ पढेर निकै रमाइलो प्रतिक्रिया दिनुहुने शिवजी श्रेष्ठ र सम्पूर्ण पाठकहरुलाई प्रेम-नमन टक्र्याउन चाहन्छु । मेरा छोटा मिठा कविता, रचना सुन्ने सुनाउने एक सुन्दर चौतारी ‘नेपाली साहित्य विकास परिषद’ सहित सम्पूर्ण संघसंस्था, प्रत्यक्ष्य-अप्रत्यक्ष सहयोग गरिदिनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

मेरा यस यात्राका प्रेरक आदरणीय व्यक्तित्वद्वय इन्दिरा प्रसाई   र नरेन्द्रराज प्रसाई जसले मलाई दिनुभएको अटुट प्रेरणा, हौसला, उर्जा, प्रेम नै आज यो ‘रङ’ पुस्तकको जन्म हो । मसंग कुनै शब्द नै छैन जसले म उहाँहरूलाई धन्यवाद प्रकट गर्न सकूँ । म केवल मौनतामा प्रार्थना गर्न सक्छु । हिलोमा मिल्किएको बिरुवालाई गमलामा सजाउने दया, माया, करुणाका खानी हुनुहुन्छ उहाँहरु । मेरो कुनै योजना नै थिएन एक पुस्तक छाप्छु होला भनेर । मेरो व्यस्त जीवन, एकल महिला भएर लिएका मेरा जिम्मेवारीले होला, सायद कुनै परिकल्पना बाहिरको विषय थियो पुस्तक प्रकाशन । आज म अनुभूति गरिरहेछु कि ईश्वर यसरी नै कोहि कसैको हृदयमा प्रवेश गरी प्रेम र उर्जा बनेर कसैको जीवनलाई मूल्यवान बनाइदिंदो रहेछ । उनै परमात्माप्रति नतमस्तक छु । र नई प्रकाशन जसले प्रकाशनको जिम्मा लिएर मेरो यस ‘रङ’ पुस्तक प्रकाशित गरिदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।  

मैले छुटाउन नमिल्ने एक पात्र सुजन सिम्खडा, मेरो भतिज भाई । जसले झर्को नमानी मेरा रचनालाई एकत्रित गर्न सहयोग गरिदिएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु । म त्यति ठूलो लेखक त अवश्य होइन तर आज आफ्ना छरिएका रचनाहरुलाई एकत्रित गरी पुस्तकको स्वरूप लिंदा एक सन्तान जन्मिदाजत्तिकै आनन्दको अनुभूति अनुभूति हुंदोरहेछ । गीतामा कृष्ण भन्नु हुन्छ, ‘कर्मको अधिकार तिम्रो छ तर फलको छैन’ । कुनै फलको आशाबिना गरेका यी कर्म योगपछि मिलेको यो फलको आनन्द शब्दातीत हुँदोरहेछ ।  

म अन्तमा सम्पूर्ण नर्सहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु, यो ‘रङ’ पुस्तक खासमा नर्सेस डायरी हो । पेशाको शिलशिलामा घटेका घटनाहरु, जीवन यात्रामा अन्तर्मन छोएका घटना-परिघटनाको संगालो हो ‘रङ’।

कुनै सुखका र आनन्दका रङ छन् भने कुनै पीडा, दुखका रङ छन् । जीवन नै रङहरुको सँगालो रहेछ, कहिले बिहानी सुन्दर पहेंली भोला रङ त कहिले मध्यदिनका धुपका संघर्षका रङ । कहिले जीवनका अप्ठ्यारा रात्रीकालिन रङ त कहिले पूर्ण चन्द्रका चांदनी रङ । यस्तै यस्तै मेरो रङका कथा र उनका रङका व्यथाका हरफहरु हुन् ‘रङ’, मेरा चाँदनी रङ ।

(लेखिका नेप्लिज् नर्सिङ एशोसिएसन यूकेकी संस्थापक अध्यक्ष हुन् । उनको पुस्तक ‘रङ’ हालै प्रकाशित भएको छ)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू